बाबुराम भट्टराईलाई अपदस्त गर्छौः ओली

काभ्रे, १६ असार । एमालेका वरिष्ठ नेता केपी ओलीले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई अपदस्त गरेर गैर माओवादी सहमतीय सरकार गठन गर्ने बताएका छन् ।
एमाले निकट पर्यटन ब्यवसायीहरुको प्रशिक्षण कार्यक्रमको आज धुलिखेलमा उद्घाटन गर्दै उनले कामचलाउ सरकारले राजीनामा दिन आवश्यक नपर्ने बताए ।
‘संवैधानिक राजनीतिक संकट समाधानका लागि गैर माओवादी नेतृत्वको सरकार तत्काल गठन हुनेछ,’ ओलीले भने, ‘केही संचारमाध्यम र राजनीतिज्ञले कामचलाउको ब्यख्या नबुझेर प्रधानमन्त्रीको राजीनामाको प्रसङ्ग कोट्याइरहेका छन् ।’
उनले संसद पुनःस्थापना जस्तो संविधान सभा पुनःस्थापना नहुने बताएका छन् ।
संविधान सभाको आफ्नै भवन हुन नसकेको उल्लेख गर्दै उनले १४ प्रदेशलाई मुलुकले धान्न नसक्ने बताए । उनले एमाले जनताको पहिचान सहितको आफैले चलाउन सक्ने प्रदेशको पक्षमा रहेको बताए ।

प्रतिक्रिया