करिनाले धर्म परिवर्तन नगर्ने

बलिउड अभिनेत्री करिना कपुर हिन्दु हुन् । मुसलमान धर्म मान्ने प्रेमी सैफ अलि खानसँग उनको बिहे हुने चाँजोपाँजो मिलिरहेको छ । हिन्दु भएरै मुसलमान परिवारमा जाने निश्चय उनले गरेकी छन् । अक्टोबरमा करिना र सैफबीच विवाह हुने तय भएको छ । करिनाले पनि धर्म परिवर्तन नगर्ने जनाएपछि यसले भारतको फिल्मी दुनियाँमा चर्चा पाएको छ ।
सैफकी आमा शर्मिला टैगोर हिन्दु बंगाली परिवारकी थिइन्, जसको मंसुर अली खान पटौदीसँग विवाह भएको थियो । तर, विवाह हुनुअघि उनले मुसलमान धर्म अँगालेकी थिइन् । तर, करिनाले सासुको पथ नपछ्याउने निश्चय गरेकी छन् । करिनाको निर्णयप्रति सैफले आपत्ति जनाएका छैनन् । उनी अन्धपरम्परामा विश्वास राख्दैनन् । त्यसैले उनले प्रेमिकाको निर्णयलाई स्वीकार गरेको भारतका फिल्मी वेबसाइटहरूले जनाएका छन् । करिनाले धर्म परिवर्तन गरोस् भन्ने आफूले कहिल्यै नचाहेको सैफले बताएका छन् । सैफकी आमा शर्मिलाले धर्म परिवर्तनपछि आफ्नो नाम बेगम राखेकी थिइन् । सैफले यसअघि शिख महिलासँग विवाह गरेका थिए । ती महिलाले पनि विवाहपूर्व धर्म परिवर्तन गरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया