मत-विमत

प्रधानमन्त्रीको राज्यद्रोही चरित्र

सौर्य अनलाइन २०६९ असार १५ गते २:४९ मा प्रकाशित

संविधानसभा भंग भएपछि पदीय हैसियत गुमाइसकेका बाबुराम भट्टराईले आफैँ प्रधानमन्त्री पदबाट नहटेसम्म उनलाई हटाउन सक्ने कुनै आधार छैनन् । अन्तरिम संविधान पनि संविधानसभा भंग भएपछि मरिसकेको छ । मरिसकेको अन्तरिम संविधानलाई आधार मानेर उनलाई हटाउन खोजे पनि त्यसमा केही उल्लेख छैन । संविधानसभासँगै अन्तरिम संविधान, प्रधानमन्त्री, राष्ट्रपति सबैको पद अवसान भइसकेको छ । तर पनि प्रधानमन्त्रीको पदबाट बाबुराम हट्ने सम्भावना छैन । बाबुराम भट्टराईले प्रधानमन्त्री बनेपछि नेपाललाई बिगार्ने मात्र काम गरे । वास्तवमा बाबुराम भट्टराई देशद्रोही हुन्, जसले भारतीय गुप्तचर संस्था, युरोपियन राष्ट्रहरू र क्रिस्चियनहरूको आड र निर्देशनमा नेपालको अस्तित्व समाप्त गर्ने दलालीको काम गरे । उनी पनि क्याथोलिक क्रिस्चियन भएकाले जसो गरेर पनि नेपालमा जातीय संघीयताको झगडा उठाएर नेपाललाई क्रिस्चियनीकरण गराउने पक्षमा छन् । उनकै सक्रियतामा ०६२ साल मंसिरमा दिल्लीमा १२ बुँदे सहमति गरिएपछि कांग्रेस, एमालेका नेताहरू सबै भारतीय ढलमा फस्न पुगे भने त्यही १२ बुँदेबाटै देशले धान्न नसक्ने गणतन्त्र, धर्मनिरपेक्षजस्ता खतरनाक बुँदाको जाल बुनेर राजासँग सहमति गरेर जनआन्दोलन विसर्जन गरेपछि उनकै सक्रियतामा राजसंस्थालाई विस्थापित गराउने काम भएको हो ।
नेपालको इतिहासमा बाबुरामजस्तो राष्ट्रघाती व्यक्ति प्रधानमन्त्रीको पदमा कोही छैनन् । हिजो यिनै कांग्रेस, एमाले, मधेसी र माओवादीका प्रचण्डहरूको चासोमा बाबुराम प्रधानमन्त्री बनेका हुन् । आज उनीहरू नै उनको विरुद्ध लागेका छन् । तर, उनीहरूको आक्रोश देश बचाउनका लागि नभएर बाबुरामलाई हटाएर सत्ताप्राप्तिका लागि मात्र हो ।
भारतीय गुप्तचर संस्थाको रोहवर र निर्देशनमा आपसमा फुटेका भारतीय पिठ्ठू बन्दैआएका भ्रष्ट मधेसी नेतालाई जुटाई विवादास्पद चारबुँदे सहमतिमा टेकेर बाबुराम प्रधानमन्त्री बनेका हुन् । चारबुँदे सहमति गरेको भोलिपल्ट १२ भदौ ०६८ मा प्रधानमन्त्री भएपछि उनले नेपाली सेनाभित्र छुट्टै १० हजार मधेसी सेना भित्र्याउने पहल गरे, एक मधेस एक प्रदेशको राष्ट्रघाती कुरासमेतको समर्थन गरे, उनले नेपालको राष्ट्रिय पोसाक हटाउने काम गरे, ००७ सालको क्रान्तिमा प्रजातन्त्र ल्याउनमा सशक्त बनेका राष्ट्रपिता त्रिभुवनको अपमान गरेर सालिक भत्काउने निर्णण गरे । राष्ट्रिय एकता दिवस मानेनन् । विक्रम संवत् हटाएर इस्वी संवत्लाई राष्ट्रिय संवत् लागू गर्न खोजे । ज्यानमारा, अपहरणकारी, भ्रष्टहरूको संरक्षण गरेर तिनैलाई मन्त्रिमण्डलमा समावेश गरे । वास्तवमा एउटा डाक्टरले एउटा बच्चालाई उमालेको तातो पानीमा फलिदिएको जस्तो बाबुरामले संविधानसभाबाट संविधान बन्न नदिएर देशलाई भड्खालोमा पारे । अझ अगाडि बढेर दलहरूलाई घुर्की लगाउँदै सत्तामा रहिरहन संविधानसभा भंग गराए । उनले राजीनामा नगरे यिनै कुराहरूको आधारमा उनलाई राष्ट्रद्रोहमा राज्यले कारबाही गर्न सक्छ । राज्य भनेको अदालत, राष्ट्रिय सेना राज्यका प्रमुख स्थायी अंगहरू तथा नेपाली जनता हुन् ।
तर, उनी जति नै अनैतिक, देशद्रोही भए पनि वा एमाओवादी पार्टीबाट नेता प्रचण्डले कारबाही गरे पनि वा अरू कसैले भन्दैमा पद छोड्ने छाँटकाँट छैन । सार्वभौमसत्ताको केन्द्रविन्दुका रूपमा रहेका नेपालका स्थापित पहिचानहरू ०६३ सालको जनआन्दोलनपछि ध्वस्त गराउन राष्ट्रघाती नेताहरू लागिपरेका रहेछन् भन्ने कुरा अहिले छर्लंग भएको छ । भारत र चीनको चेपबाट जोगिएर आºनो सार्वभौम अस्तित्व बचाउनु नै नेपालको राष्ट्रियताको कडी हो भन्ने कुरालाई सत्तासीनहरूले– कहिले चासो राखेनन् । नेपाली राष्ट्रियताको संरक्षण र सम्बर्धन गर्नु भनेको नेपालको स्वाभिमान जोगाउँदै प्रजातान्त्रिक अवधारणाबाट चीन र भारतसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्नु हो । क्रिस्चियन मिसन, युरोपियन युनियन, भारतीय र अमेरिकी गुप्तचर संस्था ‘रअ’ र ‘सिआइए’ ले एसियाका देशहरूमा पश्चिमाहरूको कुदृष्टि देखेर त्यसको प्रतिवाद गर्दै चीनका राष्ट्रपति हुजिनताओले पनि सन् २०११ अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा भनेका छन्– ‘पश्चिमा क्रिस्चियानिटीमा आधारित संस्कृति र विचार फैलाएर चीनमा आºनो पकड जमाउने र त्यसपछि चीनलाई विभाजन गर्ने लक्ष्यका साथ दीर्घकालीन रणनीति बनाएर काम गरिरहेको बुझेर सचेत हुन र प्रतिवाद गर्दै चिनियाँ मौलिकपनको संरक्षण गर्न गराउन हामी सबै केन्द्रित हुन जरुरी छ ।’
यसबाट पनि हामी नेपालीहरू सतर्क रहनुपर्ने अवस्था छ । विभिन्न जातिलाई एउटै नेपाली जातिमा परिणत गराउनुपर्नेमा जातीय साम्प्रदायिक जंजालमा नेपाललाई फसाइएको छ । मुखले राष्ट्रवादी भनेर हुन्न, हिटलर पनि आफूलाई देशभक्त ठान्थे । उनको विनाश यस्तै जातीय कारणले भयो । जे होस्, संविधानसभा भंग भएको छ । संविधानसभा खारेजीमा परे पनि बाबुरामले प्रधानमन्त्रीको कुर्सी नछाड्ने भएका छन् । बाबुराममा नैतिकता भएको भए १५ जेठमै राजीनामा दिन्थे । तर, यहाँ कसले नैतिकता पालना गरिरहेको छ र ? अरूले धम्क्याए पनि बाबुरामले प्रधानमन्त्रीको कुर्सी छोड्ने सम्भावना छैन । अब उनलाई राष्ट्रद्रोहमा राज्यबाट कारबाही गराउन सक्नुपर्छ । राष्ट्रद्रोहमा उनलाई कारबाही गर्न नसक्ने हो भने उनले सजिलै राजीनामा गरेर पद त्याग्ने स्थिति छैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय