प्रधानमन्त्रीलाई बालुवाटारबाट निस्कन नदिऔँ : गजुरेल

काठमाडौं, १५ असार । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बालुवाटारमै ‘कैदी’ बनाउने गरी आन्दोलनका कार्यक्रम ल्याउन कांग्रेस र एमालेलाई सुझाब दिएका छन् । डा. भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाउन एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता नगर्न सल्लाहसमेत दिँदै उपाध्यक्ष गजुरेलले वार्ताबाट डा. भट्टराईलाई हटाउने कुरा सपनामा पनि नचिताउन आग्रह गरे ।

मदन भण्डारीको ६१औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले बिहीबार राजधानीमा गरेको कार्यक्रममा गजुरेलले प्रधानमन्त्रीलाई कालो झन्डा, अवरोध र विरोध प्रदर्शनले बालुवाटारबाट बाहिर निस्कनै नसक्ने गरी बन्दी बनाउनुपर्ने बताए । आफूहरूले प्रधानमन्त्री बाहिर निस्कन नसक्ने गरी आन्दोलनका कार्यक्रम ल्याउन लागेको जानकारीसमेत उनले दिए ।
‘बाबुरामलाई हटाउन आन्दोलन गरिरहनुभएको छ यो ठीक छ तर राजीनामा गराउन प्रचण्डसँग वार्ता पनि गरिरहनुभएको छ, प्रचण्ड र बाबुराम एउटै हुन्, प्रचण्डसँग वार्ता गरेर बाबुरामलाई हटाउने कुरा सपनामा पनि नचिताउनुस्,’ उनले भने, ‘हामीले त आन्दोलन नै घोषणा गर्न लागेका छौँ, तपाईहरू पनि सक्नुहुन्छ भने त्यसै गर्नुस् ।’
संविधानसभाबाट संविधान बन्न नदिनेमा पहिलो एमाओवादी अध्यक्ष दाहाल र संविधान नबनाई सबैलाई झुक्याएर संविधानसभा विघटन गर्ने डा. भट्टराई भएको उनको भनाइ थियो । ‘हामी सुन्थ्यौँ, यसअघि प्रधानमन्त्री भारतले बनाइदिन्थ्यो, अहिले बाबुरामका मन्त्रीहरूको अनुहार हेर्दा त सबै मन्त्री नै भारतले बनाइदिएजस्तो लाग्छ,’ उनले भने ।
संविधानसभा पुन:स्थापनाको भ्रममा नफस्न उनले कांग्रेस–एमाले नेतालाई सुझाबसमेत दिए । गोलमेच सम्मेलनबाट नयाँ संविधानको विषय टुंग्याउनुपर्ने उनको भनाइ थियो ।
एमाले उपाध्यक्ष बामदेव गौतमले संवैधानिक र राजनीतिक संकटको निकासका लागि राष्ट्रिय सहमति हुनुपर्ने र त्यसको पहिलो सर्त प्रधानमन्त्रीको बहिर्गमन भएको बताए । प्रधानमन्त्रीको बहिर्गमनपछि एमाले, कांग्रेस, एमाओवादी र नेकपा–माओवादीसमेतको सहमतिमा नयाँ निकासमा जानुपर्ने धारणा उपाध्यक्ष गौतमले राखे । सहमतिबाट नहटे प्रधानमन्त्रीलाई बालुवाटारबाट कान समातेर निकाल्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले सर्वाेच्च अदालतले संविधान नबने अर्काे उपयुक्त विकल्पमा जान संविधानसभाबाटै निर्णय लिन दिएको आदेशलाई कुल्चेर प्रधानमन्त्रीले नयाँ चुनाव घोषणा गरेको बताए । ‘संविधानसभाको विघटन एमाओवादीको ‘क्यालकुलेटिभ मुभ’ थियो,’ महामन्त्री सिंहले भने, ‘अब नैतिकताका आधारमा प्रधानमन्त्रीले मार्गप्रशस्त गरेर सहमतीय सरकार गठन गर्नुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सर्वदलीय सहमतिको सरकार वा निष्पक्ष सरकार गठन गरी त्यसैमार्फत संवैधानिक र कानुनी जटिलता फुकाएर संसद् वा संविधानसभाको चुनाव गर्नुपर्ने र त्यसैले संविधान अनुमोदन गर्नुपर्ने धारणा राखे ।
६१ वर्षअघि ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका मदन भण्डारीको १९ वर्षअघि चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो । एमाले उपाध्यक्ष एवं फाउन्डेसनकी अध्यक्ष विद्या भण्डारीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया