परिवर्तनका लागि युवाको भूमिका

संसार परिवर्तनका लागि जुर्मुराएका निश्चल युवाहरूसँग निश्चित लक्ष्य छैन भन्न मिल्दैन । तर पनि उनीहरूले क्षमताको प्रयोग क्रियाशील उमेरमा गर्न पाएनन् भने प्रकृतिको त्यो राम्रो संरचना त्यत्तिकै विलय हुन्छ । युवाहरूको क्षमतालाई कुनै राष्ट्रको सिमानाले रोक्न सक्दैन । त्यसकारण युवाहरू यस्ता बनुन्, जसलाई कुनै तानाशाहीका बन्दुक, क्षमताविनाका वंशवादीहरू, उत्तरदायित्वविहीन लोभी नेताहरू, विभिन्न नारा दिएर राष्ट्रियतालाई कमजोर पार्ने, सामाजिक सद्भावलाई हिंसामा परिणत गर्ने, कुनै पनि दुष्ट नेताहरूले युवाहरूलाई आºनो अनुकूल प्रयोग गर्न नसकुन् । यही नै समाज परिवर्तनको सुरुआत हो ।
नेपालको वर्तमान सन्दर्भमा युवाको भूमिकाको खोजी गर्दा विगतमा गरिएका तमाम लोकतान्त्रिक आन्दोलनसँग जोड्नुपर्छ । नेपालमा संयुक्त राष्ट्रसंघको उपस्थिति, विदेशी राजदूतद्वारा कूटनीतिक मर्यादाको उल्लंघन, मित्र राष्ट्रका नेताहरूले नेपालका सन्दर्भमा दिएका अभिव्यक्तिहरू र नेपालका राजनीतिक पार्टी र नेतृत्वको मौनताले भोलिको नेपालले धेरै ठूला चुनौतीहरूको सामना गर्नुपर्ने संकेत देखिन्छन् । सत्तामा पुगिसकेपछि सत्ताबाट बाहिरिनुपर्छ भन्ने सोच नभएका र विचार चिन्तनभन्दा सत्ता, रुपियाँ र दादागिरीमा विश्वास गर्नेहरूको बोलवाला भएको समयमा त्यस्तो शक्तिलाई परास्त गर्न नेपाली युवाको भूमिका निकै महत्त्वपूर्ण हुन जान्छ । मुलुक अहिले इतिहासको गम्भीर मोडमा उभिएको यस अवस्थामा युवाले आफूलाई अवश्यक पर्दा कुनै ‘वाद’भन्दा माथि राख्न सक्नुपर्छ । तब मात्र नेपाली युवाले मुलुकलाई समृद्ध र आत्मनिर्भर बनाउन सक्छन् । जसका लागि युवाले एकातिर राष्ट्रिय भूमिका निर्वाह गर्नुपर्छ भने अर्कातिर आºना पार्टीलाई समयअनुसार प्रतिस्पर्धी पनि बनाउन दबाब दिन सक्नुपर्छ ।
इतिहासको यो घडीसम्म नेपाल कुनै पनि महाशक्तिको उपनिवेश बनेको छैन । तर, आज नेपाललाई आºनो राष्ट्रिय अखण्डतालाई कायम राख्न अप्ठ्यारो परिरहेको छ । यस अवस्थामा स्पष्ट दृष्टिकोण र लक्ष्य तयार गरी सामूहिक रूपमा युवाले राष्ट्र कमजोर हुन नदिने अभियान सञ्चालन गर्नुपर्छ । माओवादी पार्टीबाट समय समयमा आउने गरेका जनगणतन्त्रका धम्की, प्रतिस्पर्धी पार्टीहरूलाई निस्तेज गर्ने कार्यहरू, विगतमा गरिएका सहमति र सम्झौताहरूलाई उल्लंघन गर्ने प्रवृत्तिले भविष्यमा लोकतान्त्रिक मूल्य मान्यता कायम रहन्छन् भन्ने कुरामा ढुक्क हुने अवस्था छैन । त्यसकारण विगतका सहमति र शान्ति–सम्झौतालाई पूर्ण कार्यन्वयन गराउन बृहत् नागरिक आन्दोलन, सञ्चारमाध्यम एवं आमसमुदायलाई यस परिस्थितिबारे सचेत बनाउँदै लोकतान्त्रिक मूल्यलाई कायम राखेर आगामी संविधान पूर्ण लोकतान्त्रिक बनाउन दबाब सिर्जना गर्नु युवाको प्रमुख भूमिका हुन जान्छ । बदलिँदो राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन र मनन गरी युवा नेतृत्वले आफँैले आफूलाई मजबुत बनाउन जरुरी छ । एकातिर विश्वव्यापीकरणका चुनौती र सम्भावनाबाट राष्ट्रलाई फाइदा लिने अवसरको सिर्जना गर्नु छ भने अर्कातिर राष्ट्रिय रूपमा उग्रभड्काउ, विभिन्न आन्तरिक द्वन्द्वका तत्कालीन र दीर्घकालीन असरहरूको समीक्षा र उपयुक्त निकासको बाटो पहिल्याउनु अर्को महत्त्वपूर्ण कार्यभार युवासामु छ ।
नेपाली कांग्रेसको राजनीतिक नेतृत्व प्रतिरक्षात्मक बनिरहेको यो अवस्थामा युवाहरू बढी जुझारु, संगठित र कामकाजी हुन जरुरी छ । यसका निम्ति नयाँ खालको रणनीति, सांगठनिक सुधार, वैचारिक सुस्पष्टता आजको आवश्यकता हो । हाम्रा राजनीतिक पार्टीहरूमा युवा र नयाँ नेतृत्वको विकासका निम्ति पार्टीहरूलाई आन्तरिक रूपले लोकतान्त्रिक बनाउनुपर्छ । त्यसनिम्ति पर्याप्त जनदबाब सिर्जना हुने खालका कार्यक्रम बढाउनुपर्छ । देशमा बढ्दै गएको भ्रष्टाचार, जबरजस्ती जनताबाट उठाउने चन्दा आतंक दुवैलाई एउटै मानी सामाजिक बहिष्कारको अभियान युवाहरूले सञ्चालन गर्नुपर्छ । राजनीति एउटा विधि शास्त्र हो, जसमा संसारका करोडौँ मानिस समावेश भएका छन् । पुरानो समयमा राजनीति ‘जसको बल उसको सत्ता, जसको शक्ति उसको भक्ति’ का आधारमा चलेको पाइन्छ । जसका कारण करोडौँ मानिसले आºनो ज्यान गुमाएका छन् । त्यस्ता मानवीय विनाशलाई अब रोक्नका निम्ति राजनीतिलाई विधिपूर्ण पद्धतिमा ढालेको इतिहास लामो छैन ।
नेपाल भर्खर मात्रै उक्त विधिमा प्रवेश गर्न खोजिराखेको छ । यस अवस्थामा जनतालाई रैती ठानेका, पार्टीलाई बपौती ठानेका, कार्यकर्तालाई दास ठानेकाहरूलाई एकैपटक विधिको शासनमा प्रवेश गर्दा निश्चय पनि छटपटाहट हुन्छ नै । त्यसको पुष्टि अहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिसकेका छन् । उनी सहमति र सहकार्यको बाधक बन्दै सत्ता नछाड्ने घमन्ड गर्दैछन् । यस अवस्थामा युवाहरूले त्यस्त छटपटाहटलाई नियन्त्रण गर्नु अत्यन्त आवश्यक हुन जान्छ । साथै अहिलेको राजनीति सत्तासँग जोडिएको हुँदा सत्ता सञ्चालनमा कोही नेता कुनै पार्टी सदाका निम्ति मित्र र विरोधी हुन सक्दैनन् । त्यसकारण कुनै राजनीतिक पार्टीहरू कसैका
विरोधी होइनन्, यिनीहरूले आºना कमीकमजोरीहरू समयअनुसार सुधार्छन् र सुधार गर्न लगाउनुपर्छ भन्ने कुरा जनसमक्ष लैजानुपर्छ । पार्टी र नेताहरूको विचारको आधारमा समर्थन र विरोध गर्ने स्वतन्त्र समाजको निर्माण गरिनुपर्छ ।
लोकतान्त्रिक व्यवस्था जनताको चाहनाको सर्वसम्मत पद्धति हो । तथापि लोकतन्त्रलाई मजबुत बनाउन अन्य पक्षहरू आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, सुरक्षा र समाजका विभिन्न पक्षलाई सँगसँगै लैजान सक्नुपर्छ । विश्वमा बढ्दै गएको हिंसा, अराजकता र गरिबीका कारण मानिसमा बढ्दै गइरहेको नैराश्यलाई लोकतन्त्रको नाराले समाधान गर्न सक्दैन । त्यसकारण नेपाली युवाले जनतालाई मजबुत बनाउने र लोकतन्त्रलाई मानिसको दिनचर्यामा ढाल्नका निम्ति विकासको अभियानमा पनि लाग्नुपर्छ । मैले यहाँ मान्छेहरू बढी ऊर्जाशील देख्छु । आन्दोलन गर्छन्, लडाइँ लड्छन्, रगत बगाउँछन्, बहस र विवाद पनि गर्छन्, सिद्धान्त र नीतिहरू पनि नजानेको छैनन्, मानिसहरू बडो संवेदनशील पनि छन्, सुखदु:खमा साथ पनि दिन्छन् । तर, किन यो मुलुक संसारको दरिद्रतम देशमा पर्छ ? किन एउटा सानो माग पूरा गर्न देश नै बन्द गर्नुपर्छ ? मसँग उत्तरहरू छैनन् । म फ्रान्स, अमेरिका र चीनलाई देखेर टोलाउँछु । हामीसँग के छैन, जो उनीहरूसँग छ । हामीले आºनो क्षमतालाई चिनाँै, यसलाई राम्ररी व्यवस्थापन गरौँ, राजनीतिक सिद्धान्तको समय र देश अनुकूल परिर्माजन गरौँ ।
विचारको आधारमा संसार बदल्न कम्मर कस्नेहरूले बन्दुकको सहारा लिनु हुँदैन, आºनैवाद निर्माण गर्न चिन्तन गर्नेहरूले अरूको वादका लागि हिंसात्मक बन्नु हुँदैन । तर पनि नेपाली युवाले मुलुक एक्काइसौँ शताब्दीमा प्रवेश गर्दासमेत हुने र नहुने बीचको त्यो ठूलो खाडल देख्दा ‘राष्ट्र सञ्चालक हँु’ भनी विशेषण जोड्नेप्रति केही विद्रोही हुनुलाई अन्यथा लिनु हुँदैन । तपस्वीहरूको पुण्यभूमि यो देश नेपालले आजसम्म पनि हिंसाबाट मुक्ति पाउन सकेको छैन । राज्य संचालकहरू रंग, जाति, धर्म र क्षेत्रको आधारमा देशलाई विभाजन गर्न चाहन्छन् । लाजमर्दो कुरा के छ भने तिनीहरूकै जिद्दीपूर्ण तर्कहरू सञ्चारमाध्यमका अतिथि बन्न पुग्छन् । यस्तो कहालीलाग्दो अवस्थामा यदि युवाले नयाँ नेपाल निर्माणमा अगाडि बढ्ने हो भने आºनो भूमिकाको खोजी गर्नै पर्छ । जसका लागि उनीहरूसँग एउटै नारा हुनुपर्छ– मानवताको हित । त्यसकारण युवाले एउटा नयाँ आँखा बनाऊन्, जसले गर्दा हाम्रो पिँढीले हाम्रो दरिद्रता र पुड्को इज्जतबाट सदाको निम्ति देश, समाज आफूलाई मुक्ति दिऊन् । नेपाललाई एउटा सुन्दर अभिमान्य र सार्वभौम मुलुक बनाउन सकियोस्, यही नै वास्तविक नयाँ नेपालको आवाज हुन सक्छ ।

प्रतिक्रिया