विवाहितकै वर्चस्व, निर्माता, निर्देशक र वितरकसँग नाता नजोड्नेलाई टिक्नै गाह्रो

अभिनेत्री ऋचा घिमिरेलाई सोमबार पुत्र लाभ भयो । उनले अभिनय नगरेको करिब दस महिना भयो । उनी मात्रै होइन, चलेका अन्य अभिनेत्रीहरू अरुणिमा लम्साल, मेलिना मानन्धर, सञ्चिता लुइँटेल, सरिता लामिछानेलगायत लामो समयदेखि एक्सन–कटलाई पन्छाएर बच्चाको स्याहारमा छन् यति बेला । तर, पर्दामा भने उही ‘सुत्केरी अनुहार’हरूको बोलवाला छ । पर्दामा मात्रै होइन, सुटिङस्थलमा पनि उही विवाहित अभिनेत्रीहरूकै वर्चस्व छ । उही रेखा थापा, झरना थापा, करिष्मा मानन्धर, जेनी कुँवर, शुभेच्छा थापा, मौसमी मल्ल आदि । जहाँ पनि जहिले पनि किन विवाहित अभिनेत्रीहरूकै बोलवाल छ त ? के अविवाहित अभिनेत्रीहरू नभएर हो या अविवाहितहरू अक्षम भएर हो ? ‘दुवै भएर होइन’ निर्देशक मदन घिमिरे भन्छन्, ‘नेपाली चलचित्रमा नायिकाका लागि टिकिरहन र बिकिरहन पारिवारिक ‘ब्याकग्राउन्ड’ चाहिन्छ, जसको पारिवारिक ब्याकग्राउन्ड छैन यस क्षेत्रमा उसलाई गाह्रो नै पर्छ ।’

यसको अर्थ फिल्ममा नातावाद हाबी छ । अहिले चलेका अधिकांश विवाहित अभिनेत्रीहरूले निर्माता, निर्देशक र वितरकसँग बिहे गरेर टिकिरहेको उनको दाबी छ । निर्देशक घिमिरे भन्छन्, ‘नेपाली चलचित्रमा जति विवाहित अभिनेत्री छन्, उनीहरू कि त निर्माता, निर्देशक र वितरकका श्रीमती हुन् कि कसैको गतिलो ओत पाएइरहेका भाग्यमानी हुन् ।’ त्यसो त क्षमतावान् तर अविवाहित अभिनेत्रीहरू पनि नभएका भने होइनन् । केकी अधिकारी, अनु शाह, विनिता बराल, निशा अधिकारी, नन्दिता केसी, गरिमा पन्त, रेजिना उप्रेती, झरना वज्राचार्य, रागिनी खड्गीलगायतका नामहरू कम क्षमतावान् होइनन् । तर, उनीहरूले उतिधेरै किन अवसर पाएका छैनन् त ? निर्देशक घिमिरेको भनाइलाई आधार मान्ने हो भने यसको सिधा उत्तर हुन्छ, ‘निर्देशक, निर्माता र वितरकसँगै छैनन् उनीहरू ।’
फेरि अविवाहितहरूले पनि जति अवसर पाएका छन् ती पनि सम्बन्ध र सम्पर्ककै आधारमा पाएका हुन् । अहिलेका चलेका केकी अधिकारी निर्देशक बद्री अधिकारीकी छोरी हुन् । बुबा निर्देशक नभएको भए सायद यति चाँडै यहाँसम्म आइपुग्न उनलाई समस्या नै हुन्थ्यो । रागिनी खड्गी द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीकी छोरी हुन् । बुबाको नामले गर्दा उनी पनि अगाडि बढिरहेकी छिन् भन्दा उतिसारो अन्याय हुँदैन । रेजिना उप्रेती विवाहित पनि होइनन्, उनका आफन्ता पनि फिल्म क्षेत्रमा छैनन् । तर, उनी पनि चलेकी छन् । यसको कारण हो, निर्देशक शोभित बस्नेतको क्षत्रछाया । बस्नेतको प्रेमिकाका रूपमा परिचित उप्रेतीले अवसर पाइरहनुको कडी यही हो । अहिले नेपाली फिल्ममा प्रभाव जमाइरहेका अधिकांश अभिनेत्री निर्देशक, निर्माता र वितरकका आफन्त नै छन् । देखाउन र लेखाउनमा माहिर मानिएकी रेखा थापा निर्माता छविराज ओझाकी श्रीमती हुन् । भलै अहिले डिभोर्सको हल्ला छ । उनीहरूले चर्चाका लागि हल्ला गरेको भन्नेहरू पनि नभएका होइनन् । नेपाली फिल्ममा चलेकी र चल्दै आएकी अभिनेत्री करिस्मा मानन्धरका श्रीमान् विनोद मानन्धर पनि निर्माता हुन् । यस्तै ऋचा घिमिरे निर्देशक शंकर घिमिरेकी पत्नी हुन् । झरना थापा निर्माता सुनिलकुमार थापाकी श्रीमती हुन् ।
केवल क्षमताकै आधारमा टिकेका अभिनेत्रीहरू एकदमै कम भएको अधिकांश निर्देशकहरूको दाबी छ । ‘विनापारिवारिक सम्बन्ध र सम्पर्क क्षमताकै आधारमा टिकेका एकजना पनि नेपाली नायिका छैनन्,’ एक निर्देशकले भने, ‘यो नेपाली फिल्मका लागि दुर्भाग्य पनि हो ।’
निर्देशक शिव रेग्मीको भने अलि भिन्न तर्क छ । पुराना अभिनेत्रीहरू नै भएकाले उनीहरू टिकिरहेको दाबी छ उनको । ‘विवाहितहरू नै चलचित्र उद्योगका पुराना नायिका भएकाले यिनको अभिनय राम्रो छ त्यसैले पनि विवाहितको वर्चस्व भएको हो,’ निर्देशक रेग्मी भन्छन्, ‘विवाहित भएर के गर्नु नवप्रवेशी नायिकाभन्दा राम्रा पनि छन् अभिनय पनि राम्रो गर्छन् त्यसैले उनीहरूलाई लिए चलचित्र राम्रै बन्छन् ।’ पुरानाहरूले आफूलाई पनि परिवर्तित गर्न सकेकाले पनि विवाहितहरूको वर्चस्व रहेको उनी बताउँछन् । भन्छन्, ‘जो सक्रिय भएर लाग्छ, जसमा ट्यालेन्ट छ त्यही चल्छ ।’ विवाहितको चरित्र खराब नहुने र अनुशासित पनि हुने भएकाले नै विवाहित नायिका नै चलचित्र क्षेत्रमा दाहोरिएको निर्माता रामभक्त श्रेष्ठले बताउँछन् । अविवाहित नायिका आºनो जीवन सेफ ल्यान्डिङका लागि विभिन्न क्षेत्रतर्फ पलायन हुने गरेकाले पनि विवाह गर्नेकै चलचित्र उद्योगमा वर्चस्व भएको उनले बताए । ‘नवीनता नखोज्ने र रिक्स लिन पनि नसक्नेले गर्दा पनि विवाहित नायिकाहरूको चल्ती भएको हो,’ उनले भने, ‘कतिपय अवस्थामा निर्माता निर्देशकले नयाँलाई चान्स दिने नाममा विभिन्न फाइदा उठाउन नयाँ नलिइएका पनि होइनन् ।’ तर, त्यसरी ल्याइएका नायिकाहरूले दीर्घकालीन उपस्थिति चलचित्र उद्योगमा भने नरहने उनको दाबी छ ।
भनिन्छ, ‘देश गुनाको भेष, कपाल गुनाको केश’ नेपाली फिल्म उद्योगमा बाहेक अन्य बलिउड र कलिउडमा यस्तो पाइन्न । अधिकांश अभिनेत्री लामो संघर्ष र मेहनतपछि स्थापित भएका छन् । बरु विवाह गरे करिअरमा असर पर्छ भनेर ढिलो गरी विवाह गरेका छन् उनीहरूले । तर, नेपाली फिल्ममा भने त्यसको ठीक उल्टो छ । मेहनत र संघर्ष गरेर क्षमता वृद्धि गर्नेतिर भन्दा पनि फिल्म लाइनमा छिर्नेबित्तिकै जति छिटो निर्माता, निर्देशक र वितरकसँग विवाह गरेर भविष्य सुरक्षित गर्ने सुरुमा हुन्छन् नेपाली अभिनेत्रीहरू । तर, निर्माता अरुण कुमार भने पुरानाहरू प्रतिभाशाली भएकाले बढी अवसर पाएको बताउँछन् । ‘राम्रा र ट्यालेन्ट नयाँ नपाएपछि पुरानै लिनुपर्छ विवाहितभन्दा पनि अभिनयको कुरा हो,’ उनले भने ।
अहिले ‘जे गरे पनि हुन्छ, जस्तो गराए पनि गर्नुपर्छ’ भन्ने मानसिकता भएका अभिनेत्रीका कारणले नेपाली फिल्ममा विसंगति फैलिएको छ । अभिनेत्री हुने अभिलासाले निर्माता, निर्देशकहरूको सबै खालका सर्त मान्दै गएका कारण फिल्ममा विकृति फैलिएको फिल्म समीक्षकहरू बताउँछन् ।

प्रतिक्रिया