पूर्वराजाले मुख खोल्ने

काठमाडौं, ११ असार । केही समययता मौन रहँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक संकटबारे मुख खोल्ने भएका छन् । चार दिन लामो जिल्ला भ्रमणको कार्यक्रम बनाएर उनले आºना कुरा मिडियामार्फत सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

पूर्वराजाले आगामी असार १७ देखि २० सम्म कपिलवस्तु, भैरहवा, नवलपरासी र बुटवलको भ्रमण गर्दै छन् । भ्रमणका क्रममा स्थानीय मन्दिरमा गई पूजाआजा गर्ने कार्यक्रम छ । कृष्णनगरको रामजानकी मन्दिर, कपिलवस्तुमा रहेको कमलेश्वर महादेव, नवलपरासीमा रहेको पालाही माई र रुपन्देहीमा रहेको मस्टबाराही मन्दिरमा गई उनले पूजाआजा गर्ने भएका छन् । भ्रमणमा उनले पुरानै शैलीमा स्थानीय जनतासँग भेटघाट गर्ने बताइएको छ ।
भेटघाटका क्रममा पूर्वराजाले देशको राजनीतिक परिस्थितिबारे मुख खोल्ने उनका सहयोगीले जानकारी दिए । भैरहवाबाट उनको चारदिने भ्रमण सुरु हुनेछ । पूर्वराजाको भ्रमणमा बढीभन्दा बढी मान्छे जम्मा गर्न भैरहवा, कपिलवस्तु र बुटवलका राजावादीले केही दिनयता व्यापक गृहकार्य गरेका छन् । भ्रमण सफल पार्न एउटा समिति गठन गरिएको छ ।
‘भ्रमणको तयारी सबै पूरा भइसकेको छ,’ समितिमा रहेका वसन्त शाहीले सौर्यसँग भने, ‘सरकारले मन्दिरमा गई पूजाआजा गर्ने क्रममा स्थानीय व्यक्तिसँग भेटघाट गर्ने र उनीहरूको दु:ख–सुख सुन्ने योजना छ ।’
पछिल्लोपटक उनी सुदूरपश्चिम भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले देशको तत्कालीन स्थितिबारे चिन्ता व्यक्त गरेका थिए । संविधान निर्माण नभई संविधानसभा विघटन भइसकेपछि पूर्वराजा ज्ञानेन्द्रले केही बोलेका छैनन् । यस बीचमा उनी कुनै सार्वजनिक कार्यक्रममा पनि गएका छैनन् । उनका सहयोगीहरूले देशको परिस्थितिबारे बोल्न पटक–पटक आग्रह गरे पनि उनी मौनता साँधिरहेका छन् । संविधान निर्माण नभई संविधानसभा विघटन भएको स्थितिमा केही राजावादीले देश राजतन्त्रकालीन अवस्थामै फर्केको भन्दै पूर्वराजालाई उक्साउनेसमेत गरेका छन् ।
भ्रमणको तयारीका सिलसिलामा पूर्वराजाका सहयोगी सागर तिमिल्सिना भ्रमण गर्ने ठाउँमा पुगेर आइतबार काठमाडौं फर्किए । ती जिल्लामा भ्रमण गर्न उपयुक्त वातावरण रहेको तिमिल्सिनाले बताएका छन् । उनी भ्रमण अवधिभर पूर्वराजासँगै रहनेछन् । पूर्वराजाको भ्रमण सफल बनाउन काठमाडौंबाट समेत केही राजावादी जाने तयारी छ ।

प्रतिक्रिया