काभ्रेमा मल अभाव

काभ्रे, १० असार । काभ्रेमा मागअनुसार रासायनिक मल आपूर्ति हुन नसक्दा अभाव चर्किएको छ । कृषि सामग्री संस्थान धुलिखेल शाखामा कृषकले २ लाख बोरा मल माग गरे पनि ५ हजार ६ सय बोरा मात्रै मल आपूर्ति भएको छ ।

खेतबारीमा मकै लगाउँदा नै मलको माग गरे पनि धान रोप्ने समयसम्म पनि मल पाउन नसकेको गुनासो गरे । मलविनै मकैमा धानचावर फुलेपछि मलका लागि कम्पनीको खातामा जम्मा गरेको रकम फिर्ता माग्ने अवस्था आएको किसान बताउँछन् ।
कम्पनीको धुलिखेल शाखाबाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेका कृषकलाई सहकारीमार्फत मल बिक्री गरिँदै आएको छ । सहकारीबाहेक अन्यलाई मल वितरण गर्न नमिल्ने कम्पनीको नियम भए पनि कृषकले कार्यालय घेराउ गरेपछि मात्रै मल वितरण गरिएको थियो ।
चार जिल्लाका ४ सय ५२ सहकारीमार्फत २ लाख बोरा मल माग भएको कम्पनीका निमित्त प्रमुख हरिप्रसाद ढकालले बताए । पहिलो चरणमा आएको मल ३ सय सहकारीले लगे पनि बाँकी रहेका सहकारीलाई ३० बोराका दरले मल बिक्री गरिएको छ । कम्पनीले विशेष व्यवस्था गर्दै भैरहवाबाट ८ वटा ट्रकमार्फत १ सय ४० टन मल ल्याएर बिक्री गर्ने बताएको छ ।
सहकारीले गत फागुन महिनामै आफूलाई आवश्यक मर्ने मलका लागि बैंक डिपोजिट गरेका थिए । सिन्धुपाल्चोक यमनुनाडाँडाकी शोभा भगवती बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शोभा कार्कीले कृषकको ब्याज पनि गुमेको र मल पनि नपाएको गुनासो गरिन् । ‘८ पटक आउँदासमेत मल छैन, खेतबारीमै मकै फुलिसक्यो, लगनपछिको पोते के काम ?’ कार्कीले भनिन् ।
फागुनमा ५६ हजार बैंकमा जम्मा गरेर १ सय २० बोरा मल माग गरेकी कार्कीले फागुनको अन्तिममा ५० बोरा लगेको भए पनि खेतीपातीको मौसममा बैंकमा जम्मा गरेको रकमअनुसार मल लैजान नपाएकाले अविश्वास बढेको उनको तर्क छ ।
सहकारीका नाममा सहुलियतका रूपमा प्रतिबोरा १ हजार २७ रुपियाँमा युरिया मल लगेर कृषकलाई १ हजार ९ सय ५० मा बेच्ने गरेको कार्की बताउँछिन् । कृषक भने खेतबारीमा मकै फुलिसकेकाले जति पैसा परे पनि मल किन्न तयार भएका छन् । तर, सहकारीको अनुगमन नगरेकाले कालो बजारी बढेको कार्कीले बताउँछिन् ।
कृषि सामग्री कम्पनी लिमिटेडले २ जेठपछि मल वितरण गर्न सकेको छैन । कम्पनीले प्यान नम्बर प्राप्त गरेका, वार्षिक रूपमा लेखापरीक्षण गराएको, सम्बन्धित निकायबाट सिफारिस प्राप्त गरेका सहकारीमार्फत मात्रै मल बिक्री गर्दै आएको कार्यालय प्रमुख ढकालले बताए ।

मलमा कालोबजारी
सिन्धुपाल्चोक : जिल्लामा सञ्चलित विभिन्न कृषि सहकारी तथा सुपथ मूल्य पसलले किसानलाई आफूखुसी मूल्य असुलेर रासायनिक मल बिक्री गरिहेका छन् । खेती लगाउने समयमा रासायनिक मल अभाव भएकाले किसान बढी मूल्यमा मल किन्न बाध्य छन् ।
फुल्पिङडाँडा बहुउद्देश्यीय सहकारी संस्थाले ५० किलोको एक बोरा रासायनिक मल तीन हजार रुपियाँसम्म बिक्री गरेको ठूलोपाखरका कृषक लक्ष्मी तामाङले बताइन् । कृषि सामग्री केन्द्र बनेपाले स्थानीय सहकारीमार्फत कृषकलाई वितरण गर्ने एक बोरा मलको बढीमा एक हजार २७ रुपियाँ पर्ने केन्द्रका लेखापाल वासुदेव शर्मा बताउँछन् ।
कृषि सामग्री संस्थाबाट मल लैजान सहकारी संघसंस्थाले ढुवानी तथा लोड/ अनलोडको सबै खर्च कटाएर सो मूल्यमा बिक्री गर्ने दुवै पक्षबीच गरिएको सम्झौतामा उल्लेख छ ।
मल आपूर्ति तथा व्यवस्थापन सहज बनाउन र अनुगमन गर्न सिडिओको संयोजकत्वमा अनुगमन समिति पनि बनेको छ । तर, त्यसको अनुगमन र कालोबजारी गर्नेलाई कुनै काराबाही हुन सकेको छैन । एक साताअघि सो सहकारीबाट मल किनेका ठोकर्पाका एक किसानले बताए ।
सो सहकारीका अध्यक्ष कृष्णभक्त नेपालले आफूले तोकिएको मूल्यभन्दा बढी रकम नलिएको बताए । योसँगै साँगाचोक, बाह्रबीसेलगायत क्षेत्रमा सञ्चलित सुपथ मूल्य पसलले पनि आफूखुसी मूल्य असुलेर रासायनिक मल बिक्रीवितरण गर्ने गरेको कृषक बताउँछन् । सिडिओ पोखरेलले भने सहकारी तथा सुपथ मूल्य पसललाई अनुगमन गरी कारबाही गर्ने बताए ।

प्रतिक्रिया