नेप्सेमा झिनो सुधार

काठमाडौं, १० असार । नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ । राजनीति अन्योल देखिए पनि १४ जेठदेखि ओरालो लाग्न थालेको बजार असारमा भने केही कारोबार भएका कारण सेयरमा सुधार देखिएको हो । साताको पहिलो दिनको तुलनामा अन्तिममा ४ दशमलव १५ अंकले वृद्धि भई ३ सय ६५ दशमलव १४ पुगेको छ ।
गत साता नेपाल स्टक एक्सचेन्जमा १ सय ११ कम्पनीको कारोबार भएको थियो । जसमा ७ हजार ४ सय ६७ कारोबारबाट ३० करोड १८ लाख ५२ हजार रुपियाँ बराबरका १० लाख १४ हजार ९ सय ५१ कित्ता सेयर खरिदबिक्री भएका छन् । यसअघि १ सय १४ कम्पनीको कारोबार भएको छ । जसमा ६ हजार ३ य १६ कारोबारबाट १६ करोड ९५ लाख ८ हजार रुपियाँ बराबरका ८ लाख ११ हजार ४१ कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ७८ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र २० करोड ६९ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ६८ दशमलव ५६ प्रतिशत हो ।
वाणिज्य बैंक समूहको परिसूचक साताको पहिलो दिन ३ सय २५ दशमलव ८७ अंक रहेकोमा अन्तिम दिन ३ सय ३२ दशमलव ५६ पुगेको थियो । त्यसैगरी, जलविद्युत् समूहको परिसूचकमा सबैभन्दा बढी १६ दशमलव २७ ले वृद्धि भएको छ । यो समूह सुरुमा ५ सय ८४ दशमलव ७४ मा सीमित रहेकोमा साताको अन्त्यमा ६ सय १ दशमलव शून्य १ मा पुगेको छ । परिसूचक बढ्ने समूहमध्ये सबैभन्दा कम वित्तको रहेको छ । सो समूहको परिसूचक शून्य दशमलव ५३ ले माथि गएको छ । अरू समूहको परिसूचक भने घट्दो क्रममा रहेका छन् ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव १७ अंकले वृद्धि भई ९२ दशमलव शून्य १ अंकमा पुगेको छ । यस साता कारोबार रकम, तर्फ ११ करोड ७४ लाख रुपियाँको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर १ लाख ३८ हजार ४ सय १५ कित्ताको आधारमा सिटिजन्स बैंक अग्रस्थानमा छ । त्यसैगरी, कारोबार संख्याको आधारमा १ हजार ९ सय २८ वटाको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ ।
साताको उत्कृष्ट पाँच कम्पनीमा एभरेस्ट बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, चिलिमे हाइड्रोपावर र हिमालयन बैंक रहेका छन् । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया