दोहोरो चरित्रले संविधानसभाको हत्या

काठमाडौं, ९ असार । एमाले अध्यक्ष झलनाथ खनालले मुखमा संविधानसभा जप्ने र व्यवहारमा संविधानसभा नचाहने एमाओवादीको दोहोरो चरित्रका कारण संविधानसभाको हत्या भएको आरोप लगाएका छन् ।
सम्पर्क विभागले पार्टी मुख्यालय बल्खुमा आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष खनालले एमाओवादीले नियतवस नै संविधानसभाको हत्य गरेको ठोकुवा गरे ।
‘मुखमा संविधानसभाको नाम जपेर सबैलाई संविधानसभाको जननी नै एमाओवादी हो कि भन्ने जस्तो पार्ने’ खनालले भने, ‘तर, ब्यवहारमा आफू अनुकुल संविधान जारी नभए संविधानसभा नै सिध्याउने दोहोरो चरित्र एमाओवादीले देखायो ।’
एमाओवादीले मध्यरातमा कसैलाई सुइकोसम्म नदिई नयाँ निर्वाचनको घोषणा गरेको खनालले बताए ।
उनले अन्तरिम संविधानमा नयाँ संविधानको व्यवस्था नभएको चर्चा गर्दै प्रधानमन्त्री भट्टराईले असंवैधानिक र अपरिपक्व काम गरेको दाबी गरेका छन् ।
‘एमाओवादी र मधेसी मोर्चा संवैधानिक सङकट ल्याएर सत्ता लम्ब्याउने कथित खेलमा लागेका छन्,’ खनालले भने ।
उग्रवामपन्थीहरु कथित जनयुद्ध पुनः सुरु गर्ने र दक्षिणपन्थी शक्ति पुनः राजतन्त्र फर्काउने सोचमा रहेकाले अतिवादी सोचलाई परास्त गर्न बाम लोकतान्त्रिक शक्तिहरु एकजुट हुन आवश्यक रहेको खनालले वताए ।
‘उग्रवामपन्थी शक्तिहरुले फेरि कथित जनयुद्धको सपना देखेका छन्,’ खनालले भने, ‘यसलाई परास्त गर्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक छ ।’
उनले राजनीतिक सङ्कट अन्त्यका लागि प्रधानमन्त्री भट्टराईले पदबाट राजीनामा दिनुपर्ने र सहमतिको नयाँ सरकार निर्माण गर्नु पर्ने वताए ।
एमालेले जातजाती, संस्कृति भूगोल सबै पक्षको साझा पहिचान झल्किनेगरी प्रदेशहरु निर्धारण गर्ने पक्षमा एमाले रहेको खनालले वताए ।
‘हिमाल पहाड, तराई सबैतिरका जातीय, सांस्कृतिक र भौगोलिक विशेषतालाई समेत हेरेर साझा पहिचानका प्रदेश बनाउनु पर्ने मान्यतामा एमाले छ,’ खनालले भने, ‘यसैलाई अर्जुनदृष्टि बनाएर अगाडि बढ्न आग्रह गर्दछु ।’ प्रशिक्षणमा सहभागी कार्यकर्ताहरुले पार्टी भित्र वर्गीय भन्दा जातीय कुरा उठ्न थालेकामा उनले चिन्ता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया