नारायणहिटी : तीन चौथाइ बन्द संग्रहालय

नेपालको शाहवंशका राजाले शानशौकतका साथ सारा जनता तर्साउने र अकण्टक शासन गर्ने नारायणहिटी राजदरबार अब संग्रहालय भइसकेको छ । तर, यहाँ फेरि आउने दिवास्वप्न देख्न छाडेका छैनन् दरबारका आसेपासेहरूले । ती राजाका विलासिता र किंवदन्ती बनेका घटनाहरूको साक्षी नारायणहिटी परिसर धेरै जनताका लागि दर्शनीय स्थल बनेको छ । हुन त वीरेन्द्र वंशनाश गर्ने गरी भएको हत्याकाण्डका महत्त्वपूर्ण दसीप्रमाण मेटाइसकिएको छ, जनताबाट लुकाइएका कतिपय सम्पत्ति र सम्पदा दम्पच पारिएको छ भने औपचारिक अंशबाहेकका अधिकांश भाग जनताका लागि खोलिएकै छैन । सबै नखोलिएसम्म शाही दरबारको जीवनको यथार्थ पनि खुल्ने छैन । यही एक चौथाइजति खुलेको पूर्वराजदरबारमा पनि केही प्रेतात्माहरूको अनुभव गर्न पाइन्छ । समूल नष्ट गरिएको त्रिभुवन सदन र मूल दरबारको पृष्ठभागको भित्तामा परेका गोलीका दाग र प्वालहरूले भन्छन्– त्यो हत्याकाण्ड चानचुने त थिएन नै, सुनियोजित षड्यन्त्रको उपज थियो ।

जुन ठाउँमा उज्यालोमा प्रवेश वर्जित छ, त्यसको गुप्त रहस्य खोतल्न मानिसको मस्तिष्क हरदम चनाखो हुन्छ । नारायणहिटी दरबार : हिजो मानिसहरूका आशंका, संशय र रहस्यको महाथुप्रो आज सबैका लागि खुला दर्शनीय संग्रहालय । चार वर्षअघिसम्म राजनीतिक महाशक्तिको केन्द्र नारायणहिटी दरबार जति रहस्यको केन्द्र थियो, रहस्यमय केही चित्रशृंखलाहरू मेटाइएर संग्रहालय बनाइएपछि रहस्यहीन भवन मात्र बाँकी छ । आजको नारायणहिटी संग्रहालय हेर्ने र हेर्नुपर्ने कारण हिजोको नारायणहिटी दरबार र दरबारभित्रका कृत्यहरूको अध्ययन हो परन्तु ती कुनै पनि रहस्य आज बाँकी छैनन् र संग्रहालयको घुमाइ फिरन्ते प्रेमीहरूको ‘डेटिङस्पट’मा सीमित छ । शाहवंशीय राजाका विलासी प्रसाधन कस्ता थिए ? उनीहरू सुत्ने, रमाइलो गर्ने, कैयौँ अबला नारीलाई आºना संयन्त्रमार्फत जबरजस्ती ल्याएर बलात्कार गर्ने कोठा कस्ता छन् ? दरबार हत्याकाण्डका अवशेष अहिले पनि बाँकी होलान् ? दीपेन्द्र शाहको लास फेला परेको त्यो पोखरी कस्तो होला ? यस्ता थुप्रै प्रश्न मनमा पनि मडारिएका थिए, जबसम्म म नारायणहिटी दरबार पुगेको थिइनँ ।
काठमाडौं प्राचीन र पुरातात्त्विक सहर हो । यहाँ उत्खनन हुन बाँकी धेरै ठाउँ छन् । पञ्चायतकालभरि भूमिगत गिरोहका नामले चर्चित माफिया समूहद्वारा दरबारका मूर्ति अनि अन्य अमूल्य वस्तु, दस्ताबेज र वन्यजन्तुका चोरी निकासीको अवैध धन्दा गुप्त रूपले चलिरहेको सुनिन्थ्यो । यसले नेपालको कति मात्रामा सांस्कृतिक क्षति भयो, यकिन गर्न धेरै कठिन विषय होला । हराएका यस्ता थुप्रै ऐतिहासिक सांस्कृतिक वस्तु खोजेर फिर्ता नगरे संग्रहालयको सार्थकता पनि नारायणहिटीले गुमाउनेछ ।
नारायणहिटी दरबारमा पहिले मुख्तियार वा प्रधानमन्त्रीहरू बस्थे । कोतपर्वको समयमा चौतरिया फत्तेजंग शाह यहीँ बस्ने गर्थे । वसन्तपुर दरबारबाट राजा पृथ्वीविक्रम शाह नारायणहिटी पुगेपछि नारायणहिटी राजदरबारमा परिणत भएको हो । राजाहरूको घर बनेको यस दरबार महेन्द्रको शासनकालमा शाहवंशको निजी दरबार नभएर सरकारी भवनका रूपमा राष्ट्राध्यक्ष निवास तथा कार्यालयका रूपमा हस्तान्तरित भएको मानिन्छ । भनिन्छ, अहिलेको दक्षिण मूलढोका भएको तर्फको नयाँ दरबार महेन्द्रले त्यतिबेलै राष्ट्रिय ढुकुटीबाट करोडौं रुपियाँ लिएर सरकारलाई बेचेका थिए र त्यो रकम आºनो निजी खातामा जम्मा गरेका थिए ।
नेपाल गणतन्त्रात्मक राज्य भएलगत्तै ०६५ असार १ गते नारायणहिटीलाई राष्ट्रिय संग्रहालय बनाउने घोषणा गरिएको थियो र श्री ५ को झन्डा हटाएर नेपालको राष्ट्रिय झन्डा फहराएपछि त्यो दरबारबाट संग्रहालयमा बदलिएको थियो । यही नारायणहिटी हो जहाँबाट राणाशासकहरूको अधीनमा रहेका पृथ्वीविक्रम शाह र त्रिभुवनले राज्य सञ्चालन गरेका थिए । तिनका छोरा महेन्द्र र नाति वीरेन्द्रले आºनो राजपाठ पनि त्यहीँबाट सञ्चालन गरे । ज्ञानेन्द्र अन्तिम राजा भए, जसले जीवनान्तसम्म राजा भएर बाँचिरहने सौभाग्य पाएनन् । राजाको पतनसहित भित्रिएको गणतन्त्रले नेपाली इतिहासका यी दीर्घकालिक सम्पदालाई महत्त्वपूर्ण राष्ट्रिय सम्पत्तिका रूपमा जोगाउन सक्नुपथ्र्यो (यद्यपि यो सामन्ती र क्रूरताको विम्ब नै किन नहोस्) । बोलीमा त गणतन्त्रले ‘संरक्षण गर्छु’ भनिरहेकै छ तर राज्यको रबैया हेर्दा यसको हालत पनि नुवाकोट, गोरखा, रानीमहल वा धनकुटा दरबारकै जस्तो जीर्णतोन्मुख नहोला भन्न सकिन्न ।
नारायणहिटी संग्रहालय सात सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको छ र दरबार तीन सय १८ रोपनीमा । सरकारले दरबारको पूरै परिसर खुला नगरी केवल पूर्वराजाले प्रयोग गर्ने निजी कक्ष, अतिथि कक्ष र राजकीय कक्ष मात्र खुला गरेको छ । करिब ५४ कक्षमध्ये केवल १९ वटा कक्ष मात्र खुला छन् । फोहोरा बगैँचा र ०५८ जेठ १९ मा भएको त्रासद हत्याकाण्डस्थल त्रिभुवन सदन अवलोकनका लागि खुला छन् । तर, पूर्वराजा ज्ञानेन्द्रले हत्याकाण्ड भएको मूलघर ‘त्रिभुवन सदन’ भत्काउन लगाएकाले त्यसको भुइँको डिपिसीले बनाएको चौघेरो मात्र भग्नावशेषका रूपमा बाँकी छ । दिमागमा सलबलाइरहेका जिज्ञासालाई रहस्यमयी तथ्यहरूमार्फत शान्त पार्ने हेतुले संग्रहालय पुग्ने आगन्तुक यो इतिहासगर्भमै आइपुगेर पनि असन्तुष्टै रहन्छन् । दुई–चारवटा ढोका खुले पनि नारायणहिटीका सम्पूर्ण रहस्य अझै खुल्न सकेका छैनन् ।
यस संग्रहालयमा अब नेपालमा कतै देख्न नपाइने र नबन्ने शाही निसान, श्रीपेच, सिंहासन, छत्र, दण्ड आदि अति महँगा र अमूल्य सम्पदा छन् । राजाहरूले लगाउने राजसी पोसाक, विभूषण, तक्मा, उपहारका सामान एवं रानी, युवराज, युवराज्ञीहरूका शिर–पगरी र अरू रत्नजडित गरगहना पनि छन् । दरबारभित्र रहेका पुराना सांस्कृतिक वस्तु, अन्य राजपरिवारले उपयोग गरेका डोली, तामदान, पालकी, साइकल, मोटर, विशेष बिस्तरा–पलङ–खाट, बाकस–दराज, पुराना चित्र, नयाँ तस्बिर, सुनचाँदीका भाँडाबर्तन छन् । हात्तीका दाँत, बाघका छाला–दाह्रा–नंग्रा, गौरीगाई, जरायो, बराठका सिङ, गैँडाका खाग र मृग तथा भालुलगायत जनावरका छाला छन् । तर, सर्वसाधारणले यी सबै सामानको दर्शन गर्न पाउँदैनन् । यसले रहस्यको अर्काे पाटोलाई पनि जन्म दिन्छ– सायद यहाँ थुप्रै ती गैरकानुनी सम्पत्ति पनि छन्, जसको राजाहरुले गैरकानुनी व्यापार र चोरी सिकारी गर्थे । खोइ किन हो गणतन्त्र पनि जनतालाई विभेद गरिरहेछ, यी सामानलाई जनताको आँखाबाट ओझेल पारिदिएर †
वास्तवमा पूर्वराजा र राजपरिवार बस्ने गरेको नारायणहिटी दरबार, सार्वजनिक भेटघाट गर्न प्रयोग गरिएको मंगल सदन र त्रिभुवन सदन मुख्य आकर्षणकेन्द्र हुन् । दर्शकहरू मुख्यद्वार गौरीशंकरबाट प्रवेश गर्छन् । २० फिट अग्लो र २० फिट चौडा यो प्रवेशद्वार नेपाली काष्ठकला र मूर्तिकलाको ज्वलन्त उदाहरण हो । संग्रहालयको मुगु बैठकमा तत्कालीन राजा त्रिभुवनले संग्रह गरेका सामग्री, उनले प्रयोग गरेका टेबुल र अन्य सामान छन् । कूटनीतिक नियोगका प्रमुखहरूसँग बसेर छलफल गर्ने म्याग्दी बैठक, शाही रात्रि भोजनकक्ष, लमजुङ कक्ष, तत्कालीन राजाले प्राप्त गरेका पदक राखिएको पर्वत कक्ष, पुस्तकालय रहेको रुकुम बैठक, विदेशी राजदूतहरूसँग बस्न र छलफल गर्न प्रयोग गरिएको रोल्पा कक्ष, विदेशी राष्ट्राध्यक्ष शयन गर्न प्रयोग गरिने दैलेख कक्षलगायत हेर्न पाइन्छ ।
यहाँ पुग्ने थुप्रै दर्शक भावुक बन्छन् । सायद, दरबार हत्याकाण्डका अदृश्य छिटाले उनीहरूको हृदय निमोट्छ । ०६५ फागुन १६ देखि सर्वसाधारणका लागि खुला गरिएको संग्रहालय अवलोकन गर्ने मान्छेहरू ‘राजा ज्ञानेन्द्र’को परिवार हटाइएकामा भन्दा पनि उनीभन्दा पहिलेका राजा वीरेन्द्रको सम्झनामा भावुक बनेको पाइन्छ । सायद उनीहरूका मनमा ज्ञानेन्द्रभन्दा बढी उनका दाजु–राजा नै सम्मानित छन् ।
राजसत्ता ढले पनि सम्पदालाई पूज्य मान्नेहरू बाँकी नै छन् । गौरीशंकर प्रवेशद्वारमा सिंढी ढोग्ने र चप्पल फुकालेर प्रवेश गर्नेहरूको लर्कोले देखाउँछ । ५२ हालसम्म जम्मा १९ कोठा खुला गरिएको दरबारभित्र राजारानी सुत्ने कोठा (सुकला कक्ष) पसेपछि राखिएको पलङ देखेर केही मानिस लम्पसार पर्दै ढोग्दै भेटी चढाउँछन् । धनकुटा कक्ष भनिने राजारानीको शयनकक्षमा राजारानी सुत्ने खाट छन्, जुन सर्वसाधारणले छुन पाउँदैनन् । तर, हुरुक्कै हुनेलाई ढोग्न र भेटी चढाउन दिइँदो रहेछ । सर्वसाधारणलाई लागेको छ– राजारानीले प्रयोग गर्ने शौचालय सुनका होलान् । त्यसैले उनीहरू शौचालय हेर्न चाहन्छन् । तर, दरबारभित्रका सबै शौचालय अवलोकनका लागि खोलिएका छैनन् ।
संग्रहालय अवलोकनकर्ताहरू दन्त्यकथा वा फिल्ममा सुनिएको/देखिएको दरबारजस्तो ठान्दा रहेछन् । धनकुटाकी यमुना शाहीले रातो मखमली कपडाले बेरिएको सुझाब–पुस्तिकामा संग्रहालय घुमाइपछिको अनुभव यसरी लेखिन्, ‘दरबारमा के–के न होला भन्ने ठानेकी थिएँ तर राजारानी सुत्ने खाट नै अँध्यारो कोठामा बस्ने मजदुरको जस्तो रहेछ ।’ कति अवलोकनकर्ताले त ‘यहाँभन्दा राम्रा सामान त हाम्रै घरमा छन्’ भनेर लेखेका छन् । कास्की बैठक (राजकीय भ्रमणमा आउने राष्ट्राध्यक्षको स्वागत, प्रधानमन्त्री, प्रधान न्यायाधीशलगायतलाई शपथ खुवाइने हल), गोरखा बैठकको सिंहासन, राजपरिवारले टीका ग्रहण गर्ने धनुषा बैठकमा बढी झुम्मिन्छन्, सर्वसाधारण । दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन पुग्दा कोही साह्रै भावुक हुन्छन् र आक्रोशित भएको पनि देख्न पाइन्छ ।
राजाहरूले शासन गरुन्जेल सर्वसाधारण जनताको पहुँचबाहिरको राजदरबार संग्रहालय भए पनि अवलोकनकर्ता वीरेन्द्रले लामो समय गुजारेको ‘श्रीसदन’ देख्न पाउँदैनन्, वीरेन्द्र र उनको परिवारबारे पर्याप्त जानकारी पाउने इच्छा अधुरै रहन्छ । शाह राजाले जीवन बिताउन प्रयोग गरेका दरबार र बंगलाहरूको आ–आºनै नाम छन्– त्रिभुवनको ‘त्रिभुवनसदन’, महेन्द्रको ‘महेन्द्र मञ्जिल’ र वीरेन्द्रको ‘श्रीसदन’ । दरबारका भवनहरूमा रहेका हरेक कोठालाई नेपालका १४ अञ्चल, ७५ जिल्लाको नाम दिइएको छ । संग्रहालय बन्न लागेको नारायणहिटीभित्र नेपालका १४ अञ्चल, ७५ जिल्ला मात्र होइन, सातवटै महादेशहरूसमेत छन् । नारायणहिटी दरबारको उत्तरतिरको ठूलो चौरमा सातवटै महादेश छन् । चौरमा समुद्रका रूपमा पोखरी खनेर बीचमा जमिनको भागलाई टापुजस्तो गरी सातै महादेश बनाइएको छ । राजा महेन्द्रको पालामा दरबारभित्र पोखरी खनेर त्यसमा टापु बनाई त्यसलाई महादेशजस्तो बनाइएको थियो । तर, अहिले ती पोखरी फोहोर र झारपातले पुरिँदै छन् र टापुका रूपमा रहेका महादेशहरूको भाग पनि भत्कँदो छ । जिउँदोजाग्दो इतिहास जमिनमुनि गाडिँदै छ, कुनै बेला यतैतिर क्रूरतापूर्वक मारेर लुकाइएका निर्दोष जिन्दगीहरूजस्तै ।
ििि
नेपालमा राजतन्त्रको उन्मूलन भई गणतन्त्र स्थापना भइसकेको छ । दस वर्षअघि राजा वीरेन्द्रसहित राजपरिवारका दस सदस्य मारिएको त्यो घटनाले नै गणतन्त्रको बीउ रोपेको ठान्नेहरू पनि कम छैनन् । गिरिजाप्रसाद कोइरालाले भनेको ‘ग्रान्ड डिजाइन’को रहस्य कसैले खोल्न सकेको छैन । वीरेन्द्रको वंश विनाश कसले गर्‍यो रहस्यमा छ, अझ कैयन वर्षहरू यो रहस्यमै हुन सक्छ । वीरेन्द्रको वंशनाशले गणतन्त्र आएको ठान्नेहरूले जनतामा आएको चेतनालाई के भन्ने हुन् थाहा छैन । यत्तिचाहिँ पक्कै हो, दरबारभित्रका सबै रहस्यको पटाक्षेप गर्न दरबार हत्याकाण्ड एउटा कडी हो र त्यसबाट उत्पन्न संवेदनाले सहरिया जमातलाई पनि राजतन्त्रविरोधी कित्तामा उभ्याइदियो । दरबारसँग सम्बन्धित मान्छेहरू तथ्यहरू नै नष्ट गर्नेतिर लागे ।  यो घटना कसले, किन र कसरी घटायो भन्ने विषयमा धेरैबाट धेरैथरीका बयान बाहिर आएका छन् ।
इतिहासको गर्तमा नारायणहिटी दरबार मात्र हत्या र षड्यन्त्रको केन्द्र होइन । जनताको पसिनाले जहाँ दरबार ठडियो त्यहीँ लामो समयसम्म राजनीतिलाई प्रभाव पार्ने वारदात रचना हुँदै आए । बहादुर शाह, भीमसेन थापा, माथवरसिंह थापा, चौतरिया फत्तेजंग, गगनसिंह यस्ता कैयन नामको लामो सूची छ जो दरबारभित्रै लास बने । शासनको केन्द्र सधैँ शक्तिको भोको हुन्छ र उसले आºनो सत्ताको भोक मेटाउन गरिएका आमसंहारलाई विजयगाथाको रूपमा इतिहासले पूजा गरिरहेको हुन्छ । आज राजतन्त्र छैन र त नारायणहिटी संग्रहालय छ अनि दरबार हत्याकाण्डलाई मानिसहरू आºनो निष्कर्षको परिभाषा निर्धक्क दिइरहेका छन् । नभए दरबारबाट बक्सेको खबरलाई नै भाग्यको पात्रो सम्झेर बस्नुपर्ने दिन अझै हुने थिए ।

प्रतिक्रिया