“संविधान गुगलबाट तान्ने चिज होइन”

नेपाली कांग्रेसमा निधि परिवारको तेस्रो पुस्ताका नेता हुन्, विमलेन्द्र निधि । उनका बाजे राजेश्वर र बुबा महेन्द्रनारायण पनि कांग्रेसमै थिए । उनलाई लाग्छ, कांग्रेस उनको रगतमा नै मिसिएको छ ।
उनको मानसपटलमा सत्र सालमा राजा महेन्द्रका सैनिकले बिपीलाई गिरºतार गरेको दृश्य घुमिरहन्छ । उनकैअगाडि पिता महेन्द्रनारायणलाई पनि गिरºतार गरिएको थियो । त्यति बेला उनी पाँच वर्षका बालक थिए । उनलाई लागेको थियो, ‘ए, मेरो पिताजी नेता, उनका साथी बिपी, मेरा पिता र उनका साथीलाई पक्राउ गर्ने राजा पक्कै पनि बदमास होला ।’ उनको बालमस्तिष्कमा परेको राजाप्रतिको धारणा आजसम्म पनि कायमै छ ।
निधिलाई लाग्थ्यो– पिताजी असल नेता हुन्, उनका साथी पनि असल छन् । सबै नेतालाई समात्ने राजासँग अब कसरी बदला लिने, यस कुराले उनको मनमा आँधीबेरी नै आएजस्तो हुन्थ्यो । ‘सुत्ने बेलामा म कल्पना गर्थें, हवाई फिल्डमा लुक्छु र आफूले लगाउने गरेको हाफ पाइन्टका ठुल्ठूला गोजीमा हवाइजहाजलाई समातेर लुकाउँछु र त्यसैमा चढेर दरबार गई राजालाई समात्नुपर्‍यो । आकाशमा उड्दा देखिएको फुच्चे जहाज मेरो पकेटमा पक्कै अट्ला †’ यस्तो अनौठो सोचाइ आउँथ्यो निधिलाई ।
उतिबेला अहिलेको जस्तो मोटर गाडी थिएनन् । काठमाडौंबाट जनकपुर गएका उनीहरूलाई लिन जनकपुर विमानस्थलमा गोरुगाडा आउँदै थियो । त्यसैको प्रतीक्षामा बस्दै गर्दा पिताजीलाई प्रहरीले पक्राउ गरेपछि उनलाई सहीनसक्नु भयो ।
पिताजी जेलमै थिए । स्कुलमा हेडमास्टर रहेका ठूलोबुबाले बाबु जेलमा छ, यसको पढाइ बिग्रियो भने त मलाई पाप लाग्छ भनेर उनलाई भारतमा पढ्न पठाए । नेपालमा सात कक्षामा पढ्ने उनलाई त्यहाँ आठमा भर्ना गरियो ।
उनको संगठित राजनीतिक यात्रा त्यसै विन्दुबाट प्रारम्भ भयो । उनी अखिल भारतीय छात्र तथा युवा संघमा पनि संगठित भए । त्यति बेला भारतमा रहेका युवा, विद्यार्थीलाई संगठित गर्न नेपाली कांग्रेसले निर्माण गरेको संगठन थियो त्यो । निधिको छोरो भएकाले कांग्रेस संगठकहरूले स्वभावत: उनलाई पनि संगठित गराइहाले ।
एक वर्षपछि पिताजी जेलबाट रिहा भए र उनलाई जनकपुरको सरस्वती माविमा भर्ना गराए । उनको राजनीति यता आएपछि झनै सक्रिय भयो । ०२६ मा नेपाल विद्यार्थी संघको स्थापना गर्ने बेलामा उनको पनि संलग्नता रह्यो । त्यति नै बेला नेविसंघका नेताहरूको गिरºतारीका विरुद्धमा आन्दोलन भयो । जनकपुरमा पनि त्यो आन्दोलनको माहोल चर्कियो । फुच्चे विमलेन्द्र जनकपुरका स्कुल बन्द गराउने अभियानमा लागे ।
उतिबेला राष्ट्रिय पञ्चायतमा स्नातकहरूका तर्फबाट निर्वाचित हुने प्रावधान थियो । त्यसका उम्मेदवार थिए गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह । निधि स्मरण गर्छन्– ‘सिंहको घोषणापत्र बोकेर म कलेजका विद्यार्थीको घरघर जान्थँे, उनका लागि भोट माग्न । जबकि म हाइस्कुलको विद्यार्थी थिएँ । रामराजा निर्वाचित भएर पनि उनलाई शपथ नगराएपछि त्यसको विरोधमा भएको आन्दोलनमा म गिरºतार भएँ ।’ निधिको जेलयात्राको सुरुआत त्यहीँबाट भएको हो । दश कक्षामा पढ्ने १५ वर्षे किशोर निधिले टेस्ट परीक्षा पनि जेलबाट नै दिए । दुई महिनाको जेल बसाइपछि उनलाई छाडियो ।
नेविसंघको स्थापनासँगै विमलेन्द्र धनुषा जिल्ला कमिटीको सचिव भए । पत्रकार हरिहर विरही पनि उनीसँगै धनुषा नेविसंघमा संगठित भएका थिए । ०३६ सालमा सम्पन्न नेविसंघको जनकपुर महाधिवेशनबाट उनी केन्द्रीय सभापतिमा निर्विरोध निर्वाचित भए ।
‘मलाई निर्विरोध सभापति बनाउन बिपीको ठूलो भूमिका थियो,’ निधि भन्छन् । सम्झन्छन्– बिपीले उद्घाटन गरेको पहिलो र अन्तिम महाधिवेशन थियो त्यो विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा अहिले मूलधारको राजनीतिमा फन्को मार्दैछ र त्यो जारी छ । विमलेन्द्रलाई राजनीतिमा लागेर गल्ती गरेँ भन्ने कहिल्यै लागेन । जीवनमा राजनीतिबाहेक केही गरौँला भन्ने सोच्दा पनि सोचेनछन् ।
निधि भन्छन्– ‘०२८ सालतिर एसएलसी पहिलो श्रेणीमा पास हुनु चानचुने कुरो थिएन । के–के न गरेको जस्तो लाग्थ्यो । मैले पनि पहिलो श्रेणी ल्याएँ । काठमाडौंको त्रि–चन्द्र क्याम्पसमा भर्ना भएँ । कलेजको पहिलो दिन सरले सोध्नुभयो– प्रथम श्रेणीमा पास हुने को–को छ हात उठाऊ । म र अर्को एक जनाले मात्र हात उठायौँ । एकजना सरले भने एसएलसी फस्ट डिभिजनमा पास गरेको मान्छे अस्कलमा वा यहीँ विज्ञान विषय पढ्न छाडेर के कमर्स पढ्न आएको भनेर हकारे । मैले भनँे, तपाईंले आइकममा जति पढाउनु हुन्छ त्यसको असी प्रतिशत पढाइ मैले स्कुलमा नै पढिसकेँ । मेरा लागि यो विषय सजिलो छ, म त राजनीतिक परिवारको मान्छे, । विद्यार्थी राजनीति गर्नुपर्ने भएकाले सजिलो विषय छानेर पढ्छु भनेर सहजै कमर्स पढेँ ।’
राजनीतिमा परिपक्व हुँदै जाँदा उनको अध्ययन गर्ने क्षमता विकसित हुँदै गयो । आज उनी कांग्रेसका परिपक्व एंव शालीन नेता भएका छन् । विलासिताको जीवन उनको मनमा नबितेकाले सामान्य जीवनमा सन्तुष्ट छन् । विमलेन्द्र भन्छन्– ‘मेरा बाजेले दु:ख गरे, यही पार्टीका लागि बुबाले जीवन बिताए, म आफूलाई समर्पण गर्दैछु तर पार्टीभित्र कहिलेकाहीँ नेताहरूले नीति छाडेर, निजी स्वार्थको कुरामा छिनाझपटी गर्दा मलाई पीडा हुन्छ । के यसैका लागि पुर्खा लागेका हुन् वा म आफैँ पनि लागेको हो त ?’
आफू नेता भएको पार्टी फुट्दा उनको मन रमाएको थिएन । यो मुलुकको जिम्मेवार पार्टी फुटेपछि जनता र राष्ट्रका लागि के गर्न सकिएला र भन्ने प्रश्नले उनलाई लखेटिरहन्थ्यो । फुट ठीक कि बेठीक आज उनी समीक्षा गर्दैछन् । तर पनि उनलाई लाग्छ, त्यति बेला निजी स्वार्थका लागि एक ठाउँमा रहिरहनुभन्दा फुट्नु सही थियो ।
निधिको अनुभवमा कांग्रेसभित्रको अन्तरकलह पुरानै हो । पन्ध्र सालमा नै पनि बिपी र सुवर्ण शम्शेरमा को प्रधानमन्त्री बन्ने विवाद भएको थियो । पहिले पनि दुई कांग्रेस राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकताबाट नेपाली कांग्रेस बनेको उनले स्मरण गराए । कांग्रेस पार्टीमा धैरैको त्याग रहेकाले त्यसलाई खेर जान दिन नहुने उनको विचार छ ।
पछिल्लो पटकको विभाजन त्यत्तिकै नभएको बताउँदै निधि भन्छन्– ‘नेकां प्रजातान्त्रिक गठन गर्दा पार्टीले स्थापनाकालमा नै लिएको समाज परिवर्तनको नीति र आदर्श लिएकाले नै मलाई सन्तुष्टि भएको हो । त्यति बेला हामीले तीन–चारवटा कुरा आत्मसात् गरेका थियौँ । संविधानसभा आवश्यक छ भन्यौँ, सामाजिक रूपान्तरणका लागि आरक्षण, समावेशीको कुरा । त्यति बेला प्रजातान्त्रिक कांग्रेसले त एउटा सूत्र नै बनाएको थियो ‘कदमजम’ । अर्थात् कर्णाली, दलित, मधेसी, जनजाति र महिला यी वर्गलाई सम्बोधन गर्न सके मात्र समाजको उत्थान गर्न सकिन्छ ।’
‘राजनीतिक क्षेत्रमा त्यति बेला हाम्रो पार्टीको आºनै नीति थियो । जनताले सधैँ राजालाई साथ दिए । तर, राजाले पटकपटक जनतालाई धोका दिए । राजालाई जनता चाहिएको छैन भने जनतालाई पनि अब राजा चाहिएको छैन भन्यौँ । त्यस्तै राज्यप्रणालीकै सवालमा केन्द्रीकृत राज्यप्रणाली पनि नेपालमा आवश्यक नरहेको त्यति बेलै ठहर गरेका थियौँ । राज्य सञ्चालनको उपयुक्त प्रणाली संघीय हो भन्ने उतिबेलै निक्र्योल निकालेको थियो हाम्रो पार्टीले,’ निधिको भनाइ छ ।
विभाजनको समयमा नेपाली कांग्रेसले यिनै कुरालाई समेट्न नसकेकाले पार्टी फुटेको उनको ठोकुवा छ । यिनै एजेन्डाका कारण पार्टी विभाजन भएकाले उनले धेरै पीडाको महसुुस गरेनन् । परिवर्तनको मिसनलाई कांग्रेसले लिन नसक्दा दु:खद अवस्था आएको उनको बुझाइ छ । आज निधिलाई एकतासँगै आफूहरूले उठाएका मुद्दालाई कांग्रेसले आत्मसात् गरेकामा गर्व लाग्छ । यसरी उनले निजी स्वार्थमा नभई नीति र एजेन्डाको सवालमा विभाजन हुँदा कहिलेकाहीँ फाइदा पनि हँुदो रहेछ भन्ने बुझेका छन् ।
संविधान नबनी संविधानसभाको हत्या भएकामा विमलेन्द्र निधि दु:खी छन् । भन्छन्– ‘संविधान भनेको अरूको नक्कल गरेर वा गुगलबाट तान्ने चिज होइन, न त अरू कसैले बनाइदिने डकुमेन्ट नै हो । जनताको म्यान्डेट पाएको संस्थाले बनाउनुपथ्र्यो, सकेन । ०६९ जेठ १४ को दिन उनलाई साह्रै दु:ख लाग्यो ।’
अझै पनि निधिलाई कांग्रेस पार्टीले आºनो छवि र इतिहासअनुरूप जनताको नेतृत्व गर्न सकेको छैन, त्यसैले ऊ सच्चिनै पर्छ भन्ने लाग्छ ।

प्रतिक्रिया