‘सहमतिमा बजेट नआए थप अन्योल’

व्यावसायिक क्षेत्रमा डा. तिलचन्द्र भट्टराईको छुट्टै पहिचान छ । इमान्दार र मिलनसार व्यक्तित्वका धनी भट्टराई आफ्नै काममा विश्वास राख्ने व्यक्तित्व हुन् । उनी तेह्रथुममा जन्मेका हन् तर पनि उनको अधिकांश समय झापमा बित्यो । अनि चितवन भने उनको कार्यथलोका रूपमा रह्यो । सुरुमा अन्य युवाजस्तै उनी पनि जागिरे जीवनमा प्रवेश गरे । जिल्ला पशु सेवा कार्यालयमा जागिरे जीवनमा प्रवेश गरेका भट्टराईले छोटो अवधिमा दाङ, नेपालगन्ज, गुल्मी हँदै चितवनमा सरुवा भए ।
छोटैअवधिमा जागिरमा हुने सुरुवा, बढुवा र जागिरे मानसिकताले उनी दिक्क भइसकेका थिए । जागिरमा सोर्सफोर्स, घुसखोरीजस्ता कारणले जोकोहीले काम गर्न नसक्ने देखेपछि उनले ०५० सालमा जागिरे जीवनलाई तिलाञ्जली दिएर व्यवसायमा लागे ।
सुरुमा आफुसँग रहेका सुनका गरगहना र एउटा घडेरी बिक्री गरेर उनले पोल्टी्र व्यवसाय सञ्चालन गरे । उनले पोल्ट्री व्यवसयामा ठूलो सफलता हासिल गरेभन्दा पनि हुन्छ  । किनकि अहिले उनको फर्ममा चार सय ५० भन्दा बढी कर्मचारी छन् । त्यस्ता कर्मचारीमध्ये एउटै स्टाफले ७०/८० हजार रुपियाँसम्म तलब खाइरहेको भट्टराई बताउँछन् । उनको अनुभवलाई मूल्यांकन गर्ने हो भने जागिरे जीवनभन्दा व्यवसाय नै ठिक देखिन्छ । उनको उद्योगले हालका दिनमा एकसय टन दाना उत्पादन गर्छ भने सातामा ६०/७० हजार कुखुराको चल्ला उत्पादन गर्छ । देशका विभिन्न क्षेत्रमा उनको पोल्ट्री फर्म छन् ।
चितवन उद्योग वाणिज्य संघको अलावा उनी पञ्चकन्या ग्रुप अफ पोल्ट्री इन्डस्ट्रिजको प्रबन्ध निर्देशक छन् भने बल्र्ड पोल्ट्री साइन्स एसोसियसनका अध्यक्ष, नेपाल फिड इन्डस्ट्रिज एसोसियसनका अध्यक्ष तथा रोटरी क्लब अफ भरतपुरका चार्टर अध्यक्षको जिम्मेवारी पनि पूरा गरिरहेका छन् ।
उनको भोगाइमा काम भनेको आफ्नै लागि गर्नुपर्छ । त्यस्तो काममा सेवा भावको पनि उत्तिकै महत्त्व रहेको हुन्छ तर यसका लागि समूहगत रूपमा अघि बढ्नुपर्ने उनको अनुभव छ । शिक्षित युवाले जागिर खानेभन्दा जागिर दिने सोच राख्नुपर्ने उनको बुझाइ छ ।
शान्ति सुरक्षाको अभाव र नीतिगत अस्पष्टताले गर्दा उद्योग र पँजी पलायन भइरहेको उनी बताउँछन् । ठूला नाम चलेका उद्योगीसमेत हङकङ, सिंगापुर, मलेसियाजस्ता मुलुकमा उद्योग सञ्चालन गर्नुले पनि यो कुरालाई पुष्टि गर्छ ।
यस्तो अवस्थामा भारत सरकारले उद्योग व्यवसायका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार उपलब्ध गराएर करमा छुटलगायका व्यवस्था गरेको छ । भारतको उत्ताराञ्चल प्रदेश, बिहार, सिक्किममा उद्योग व्यवसाय सञ्चालन गर्न त्यहाँको राज्यले करमा छुट, औद्योगिक वातावरण, बजार विस्तारमा सहयोगी भूमिका खेलेका कारण नेपालबाट भारततर्फ पँुजी पलयायन भइरहेको छ ।
यसरी पलायन भइरहेको पँुजी रोक्ने हो भने नेपालले पनि भारतले उद्योग–व्यवसायमा लागू गरेको नीति लागू गर्नुपर्छ । हामीकहाँ उद्योग–व्यवसाय सञ्चालनमा झन्झटिलो कागजी प्रक्रिया रहेको छ । दक्षिण एसियामा व्यवसायका लागि नेपाल उपयुक्त ठाउँ भए पनि यसलाई व्यवहारमा लागू गर्न सकिएको छैन । यसतर्फ सरकार सम्वेदनशील बन्नै पर्ने उनको भनाइ छ । उनका अनुसार हामीकहाँ उद्योग–व्यवसायमा ठूलो समस्या देखिएको छ । दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने सरकारले सर्वप्रथम व्यक्ति, सम्पत्ति र लगानीको सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ । त्यसैगरी कानुनी राजको स्थापना र स्वतन्त्र रूपमा हिंड्न पाउने वातावरण राज्यले दिनसकेको अवस्थामा मात्र देशमा आर्थिक क्रान्ति आउने उनी बताउँछन् । वास्तविक रूपमा भन्ने हो भने माथि भनिएका तीन कुरामा सुधार नआएसम्म देशको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने उनको दाबी छ ।
संविधानसभाको अवसानले निजी क्षेत्रलाई तहसनहस बनाएको छ । किनकि संविधानसभाले मुलुकमा देखिएका विभिन्न अन्योल अन्त्य हुँदै जाने अपेक्षा व्यावसायिक क्षेत्रमा थियो । तर, यसविपरीत देखिएको अन्योलले मुलुकलाई थप त्रसित बनाएको छ ।
अहिले सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा रहेको छ तर निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गरिरहेका उनी (डा. भट्टराई) भने सहमतिबेगरको बजेट ल्याउनुको कुनै अर्थ नहुने बताउँछन् ।
बजेट निर्धारित समयमा आउनुपर्छ भन्ने कुरो आफ्ना ठाउँमा छ तर ल्याउनैका लागि मात्र बजेट ल्याउनुको कुनै अर्थ नरहने उनको बुझाइ छ । यस्तो अवस्थामा सरकारमा बस्नेले अन्य दल र निजी क्षेत्रका विभिन्न सुझावलाई सम्वोधन गर्नुपर्ने हुन्छ । तसर्थ सहमतिमा नआईकन कुुनै पनि काम गर्दा त्यसले अपेक्षित प्रतिफल पाउन सक्दैन । विकास निर्माणका लागि जबरजस्ती आएको बजेटको कार्यान्वयन हुन सकेन भने यसको कुनै अर्थ नरहने उनी बताउँछन् ।
प्रस्तुति : उद्धव/प्रतिमा सिलवाल

प्रतिक्रिया