च्याउले लियो ज्यान

चितवन, ४ असार । विषालु च्याउ खाएर बिरामी परेका छोरी र दुई नातिको उचारकै क्रममा मृत्यु भएपछि ६६ वर्षीया दुर्गामाया चेपाङको हंसले ठाउँ छाडेको छ । गत बुधबार च्याउ खाएर कान्छी छोरी ३३ वर्षीया सोमती चेपाङको परिवार नै सिकिस्त भएपछि उनीहरूको उपचारका लागि दुर्गामाया कविलास–७ स्थित घरबाट भरतपुर अस्पताल आएकी थिइन् । तर, उपचारकै क्रममा शनिबार राति ६ वर्षका सन्तकुमार, आइतबार बिहान नौ वर्षका मानबहादुर र दिउँसो सोमतीको प्राण गयो ।

‘हजुरआमा भोक लाग्यो, तिर्खा पनि लागेको छ । यो घर त हाम्रो होइन । घर गएर भात खाऊ न भन्या’थ्यो,’ भरतपुर अस्पतालको मेडिकल वार्डअगाडि भुइँमा थचक्क बस्दै दुर्गामायाले नाति मानबहादुरले अस्पतालको बेडबाट भनेको शब्द बरबराइन् । केही छिनअघि मात्र ‘भोक लाग्यो’ भन्ने माइलो नातिको एकैछिनमा ज्यान गयो । उनलाई पत्याइनसक्नुभएको थियो । उनले फेरि साइला नाति सन्तकुमारको बोली सम्झन थालिन्, ‘साइलाले हिजो साँझ च्याउ ल्याइदेऊ खान मन लागेको छ, भन्थ्यो । दाल–भात दिनुपर्ने रै’छ । त्यही पनि खान नपाई गयो ।’
उनका ज्वाइँ बुद्धिबहादुर र जेठो नाति अर्जुनको सघन उपचारकक्षमा राखेर उपचार भइरहेको छ । घरमा दुई वर्ष र ६ महिनाको दुई नाति अलपत्र छन् । भावविह्वल हुँदै उनले भनिन्, ‘घरमा राखेको कान्छो नातिलाई पनि ज्वरो आ’छ भन्या’छन् । फुपूले हेरेकी थिइन् । त्यसलाई नि आमाको दूधबाट च्याउको विष लाग्यो कि †’ पहाडी गाविस कविलासका बुद्धिबहादुरको परिवारका पाँचैजनाले बुधबार जंगली च्याउ पकाएर खाएका थिए । यसअघि पनि उनीहरूले खानेकुरा अभाव हुँदा जंगलबाट च्याउ, गिठा, भ्याकुर खोजेर खाने गरेका थिए । सघन उपचारकक्षमा लैजानुअघि ३५ वर्षीय बुद्धिबहादुरले हातको इसारामा भने, ‘च्याउ खाएपछि छातीदेखि पोल्न थाल्यो ।’ उनीहरूलाई भरतपुर अस्पतालमा ल्याइएको थियो ।
उपचारमा संलग्न डाक्टर अरुणकुमार यादवले च्याउमा हुने विषका कारण मिर्गाैला, कलेजो र फोक्सोमा असर गरेको बताए । सोही कारणले अर्जुन र बुद्धिबहादुरको अवस्था पनि चिन्ताजनक रहेको जानकारी उनले गराए । तीन वर्षअघि पनि जंगली च्याउ खाएका लोथर गाविसको कान्दाका एकै परिवारका आठजनाको ज्यान गएको थियो ।

प्रतिक्रिया