बंगलादेशमाथि नेपालको ४ गोल

काठमाडौं, ३ असार । दशरथ रंगशालामा शनिबार सुरु भएको एसियाली फुटबल महासंघ (एएफसी) यु–२२ च्याम्पियनसिपको छनोट खेलमा पहिलो दिन गोलको वर्षा भएको छ । एकै दिन खेलिएका दुई खेलमा समग्रमा नौ गोल भए भने आयोजक नेपाल र जोर्डनले उत्कृष्ट प्रदर्शनका साथ विजयी सुरुवात गरेका छन् । घरेलु मैदानमा समूह ‘डी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई ४–१ ले पराजित गर्‍यो ।
नेपालको जितमा सुजल श्रेष्ठले दुई तथा कप्तान भरत खवास र जगजित श्रेष्ठले एक/एक गोल गरे । बंगलादेशका तर्फबाट भएको एक मात्र गोल पनि आत्मघाती रह्यो, नेपालका डिफेन्डर दीपक भुुसालबाट ।
जितपछि नेपाल तीन अंकसहित समूहको दोस्रो स्थानमा रह्यो । तीन अंक नै भएको जोर्डन गोल अन्तरमा नेपालभन्दा अगाडि रहँदै शीर्षस्थानमा छ । यसअघि शनिबार नै भएको पहिलो खेलमा ४०औं मिनेटमा १० खेलाडीमा सीमित हुन पुगे पनि जोर्डनले यमनलाई ४–० ले पराजित गर्‍यो । मध्यान्तरसम्म विजेता टोली २–० ले अगाडि थियो । जोर्डनको तर्फबाट हम्जा अल दर्दौर, मोहम्मद जटारा, मुसद अल्लाह र खलिल जैदले गोल गरेका थिए ।
पछिल्लो समय निकै चर्चामा रहेका सिनियर राष्ट्रिय टिमका स्ट्राइकर भरतले पाँचौं मिनेटमा हेडमार्फत गोल गरी नेपाललाई अग्रता दिलाएका थिए । भरतलाई फल भएपछि प्राप्त फ्रिकिक अवसरमा विंगर अनिल ओझाले गरेको प्रहारमा भरतले नै हेडमार्फत गोल गरेका थिए । पहिलो हाफ दबाबमा राखे पनि नेपालले सो अवधिमा थप गोल गर्न भने सकेन । दुर्भाग्यवश दोस्रो हाफ सुरु भएलगत्तै नेपालले गोल सामना गर्‍यो ।
विपक्षी प्रहारलाई क्लियर गर्न खोज्दा डिफेन्डर दीपकको हेड प्रहारले आफ्नै गोलपोस्टको दिशा लियो । बराबरीमा पुगे पनि नेपालले दबाबलाई भने कायम राख्यो । र, अन्तत जगजितले हेडमार्फत नै आकर्षक गोल गरेपछि नेपालले दोस्रोपटक अग्रता लिएको थियो । दोस्रो हाफमा अनिललाई प्रतिस्थापन गरी मैदान प्रवेश गरेका अमिर श्रेष्ठले ६१ औं मिनेटमा गरेको कर्नर प्रहारलाई सदुपयोग गरी जगजितले टोलीलाई जिततर्फ अग्रसर बनाएका हुन् ।
जगजितले निकालिदिएको क्रसमा सुजलले उत्कृष्ट ‘फिनिसिङ’ गर्दा नेपालले ६६औं मिनेटमै अर्को गोल थप्यो । नेपालले एकपछि अर्को गरी गरेको आक्रमण र त्यससँगै भएको गोलबाट बंगलादेश खेलमा फर्कन सकेन । दोस्रो हाफको इन्जुरी समयमा सुजलले हेडमार्फत गोल गरी नेपालको जित ४–१ ले सुनिश्चित गरेका हुन् ।
कृष्ण थापाको प्रशिक्षणमा रहेको नेपालले दोस्रो खेलमा सोमबार जोर्डनविरुद्ध खेल्ने छ । ग्राहम रोबर्टस नेपाल आउनुअघि सिनियर टोली सम्हालेका कृष्ण रोबर्टस प्रमुख प्रशिक्षण भएलगत्तै टिमबाट बाहिर बसेका थिए । यु–२२ नेपाली राष्ट्रिय टोलीमा पूर्व राष्ट्रिय कप्तान हरि खड्का सहायक प्रशिक्षक छन् ।
समूहको शीर्ष दुई टोली प्रतियोगिताका लागि छनोट हुनेछन् । नेपालसहित बंगलादेश, यमन, जोर्डन, उज्वेकिस्तान यस समूहमा छन् ।

प्रतिक्रिया