जिजीविषाको युद्धमा नेपाली

भाइ † यहाँ माछा छन् त ? बल्छीमा पर्लान् के ?’ उल नदीको गहिरो दहमा बल्छी फाल्दै नजिकै किनारामा खेल्दै गरेको सानो केटोलाई प्रश्न गर्‍यो । मसँगै रसिद काटेर बल्छी हान्न तम्तयार साथी प्रश्नले खिस्स हाँस्यो । बेलाबेलामा जानीजानी म नेपाली भाषामा प्रश्न गर्थेँ र प्रश्न सोधिएको पात्रको मनोदशाको अवलोकन गर्थेँ । साथी मेरो बानीदेखि परिचित थियो । अत: प्रश्न नबुझे पनि ऊ मुस्काएको थियो । मेरो प्रश्न सुनेर पानीमा खुट्टा डुबाएर खेल्दै गरेको सानो केटोले मुन्टो अलिक उठाउँदै हामीलाई हेर्‍यो र उसको अनुहारमा कमलो खुसी दौडाउँदै बोल्यो, ‘यता त कसो, माथिचाहिँ अस्ति बाले मारेका थिए ।’
अब आश्चर्यका रेखा कोरिने पालो मेरो अनुहारको थियो । उल नदीको किनारमा रहेको सानो बरोट उपत्यकामा नेपाली भाषा बोल्ने केटो भेट्दा केही छिन त विश्वासै लागेन । हिमाचलका कुल्लु, मनालीलगायत फलेफुलेका पहाडी सहरमा त नेपालीको बाक्लै उपस्थिति देखेको थिएँ तर काँगडा र मण्डी जिल्लालाई चिर्दै बगेको उल नदीको दुवै किनारामा बसेको सानो पहाडी बजार बरोटमा नेपाली भेट्दा म अचम्ममा परेँ ।
‘बाबुको घर कहाँ हो ?’ केटोले खिनौरा हातगोडा साना ढुंगाले माड्दै माथि गुराँस फुलेको वनतिर देखायो । ‘घर क्या घर, तिम्रो आफ्नै घर…।’ बल्छी बगेर तल पुगेकाले तान्दै सोधेँ । ‘नेपाल’ उसले नाक पुछ्दै उत्तर दियो । ‘नेपाल कहाँ ?’ मेरो प्रश्न उसले बुझेन, ऊ मलाई हेर्न थाल्यो । केही छिनको सवालजवाफ पछि त्यो सानो केटो, बलबहादुर बन्यो र त्यसका पछिपछि उसका बाले अस्ति माछा समातेको रहतिर बढेँ ।
०००
अग्लाअग्ला देबदार थाप्लाभरि लिएर ठडिएका काँगडाका पहाडहरूले घामलाई छिट्टै छेकिदिए । कुनै समयमा पश्चिम किल्ला काँगडासम्म खुकुरी नचाउँदै बढेका वीरका सन्तान तिनै अनकन्टार काँगडाका भीरलाई खनजोत गर्ने घरेलु मजदुरका रूपमा रहेका तीतो यथार्थलाई मनभरि बोकेर क्याम्पमा खाली बल्छी फर्किएँ । काठको फल्याकमा काठकै डन्डी ठोकेर बनाइएको साधन पिठ्युँमा बोकेर त्यसमा ढुंगा ओसार्दै गरेकी बलबहादुरकी आमाको तस्बिर आँखा अगाडि नाचिरह्यो । त्यो तस्बिर वर्षेनी नेपालका मध्य तथा सुदूर पश्चिमका जिल्लाबाट भारत छिर्नेको आशाको त्यान्द्रोमा अल्झिएर ‘क्याम्पफायर’ को धुँवामा रङमङिरह्यो । त्यसमा कालिकोट गोला गाविस वार्ड नं १ को उत्तराखण्डको श्रीनगरका वरपरका गाउँमा खेतबारीका काम ठेक्कामा लिने खटकबहादुर शाही पनि तैरिए, त्यस ठाउँका मणिलाल भण्डारी र नन्दसिंह थापा पनि ।
किताबघरको गान्धीका तीन बाँदरका मूर्ति सामुन्ने ६२ वर्षे मणिलाल भण्डारी भेटिए । नराम्रो नबोल, नराम्रो नसुन र नराम्रो नहेर भन्दै आँखा, कान र मुख थुनेर टुक्रुक्क बसेका बाँदरका सामुन्ने नगर विकास नियमले बनाएको गर्मी छल्ने छतमुनि भण्डारी सुस्ताइरहेका थिए । ढाका टोपीले आफ्ना दुवै आँखा छोपेर उनकै नजिक पल्टिएका थिए नन्दसिंह थापा । तीन चार महिना मात्र खान पुग्ने खेतबारीलाई वर्षमा एकपटक गोडमेल गरे पुग्ने भण्डारीले बाँकी समय उत्तराखण्डका पहाडी सहरमा भारी बोकेर बिताउने कुरा बताइरहँदा नाम्लो काखीमुनि च्यापेका दाजुभाइहरू झुरुप्पै जम्मा भइसकेका थिए । साठी सत्तरी वर्षका समयका आँधीले धुस्नु बनाएका जर्जर कायाधारीदेखि लिएर एघार–बाह्रवर्षे केटाहरूसम्म त्यस भीडमा सल्बलाइरहेथे । पढ्नेलेख्ने उमेरलाई पाखा लगाउँदै मसुरीलाई बिदा मनाउने गन्तव्य बनाएका पर्यटकका गह्रौँ झोलाहरूमा कलिला केटाहरू जीवनको अर्थ खोजिरहेका थिए । होटलका जुठा रिकापी र ग्लासमा आफ्नो धमिलो भविष्यलाई लेकको चिसो पानीले टल्काइरहेका थिए । मयलले कटकटिएको झुत्रे कोटको खल्तीमा २०–५० थन्क्याउँदै छिट्टै घर फर्किएको सपना बुन्ने किशोर वय सुदूर सपनाको देशमा पुग्न पनि हात गोडामा तागत चाहिने सत्यलाई क्रमश : बुझ्दै थिए ।
भर्खरै दम अलिक कम भएपछि नाम्लो बोकेर निस्किएका मणिलाल भण्डारीको आँखाको कुनामा कुनै रंगीन सपना अब बास बस्न आउँदैन । दमको व्यथाले छिनमै च्याप्ने छिनमै छोप्ने गर्न थालेदेखि उनको जोदाहा साँढेको जस्तो हिम्मत टुटेको छ । अलिकति छिटो हिँड्दा पनि दम फुलेर छ/छैन जस्तो हुने फोक्सोले साथ दिन छाडेपछि उनी अधिकांश समय नाम्लो च्यापेर चलहल नगरी आफ्नो शक्ति सञ्चित गरिराख्छन् । र, कुनै काम भेटिए जवानीका दिनमा भैँm फुर्तिला पाइला बढाइ झटपट फत्ते गर्न खोज्छन् । धर्मराउने खुट्टालाई बारम्बार आत्माको अतल गहिराइबाट निर्देशन दिन्छन्, बिन्ती गर्छन् र थाकेर लोथ भएपछि घस्रँदै केम्टीफल जाने बाटोको ८/१० जना मिलेर लिएको डेरामा पुग्छन् । भुइँ कुहिरोले ढाकेको सहर जस्तै ढाकिन्छ, उनको दमले आठ्याएको फोक्सो ।
श्री कालिका मावि गोलाबाट सात पास खटकबहादुर शाही साथी जुटाउन मसुरीमा घुमिरहेका भेटिन्छन् । उनी उत्तराखण्डका पहाडी खेतबारी खनजोतको ठेक्का लिन्छन् । गाईगोठबाट मल ओसार्ने, बाली लगाउने र काट्ने चुट्ने मानिस जुटाउन बेलाबेला मसुरी, देहरादुनलगायत नेपाली झुरुप्पै जम्मा हुने सहरहरूमा उनलाई आइरहनु पर्छ । गाउँमा खेत, भकारो गर्दै बढेका उनी उत्तराखण्डमा पनि त्यही काम गर्छन् । तर, उनलाई अरू साथी जुटाउन भने हम्मे पर्छ । बरू भोकै सुतिन्छ तर नेपालकै जस्तो काम कसले गर्छ भन्ने धारणालाई दुईतीन दिन भारी बोक्ने काम नपाउँदा चकनाचुर पारिदिएपछि मात्र उनको पछिपछि लाग्दै खेतबारीमा पुग्छन् नेपालीहरू । अनि बर्मा गयो कर्मसँगै भन्ने गीत सुसेल्दै उनीहरू पराई भूमि आफ्ना रगत पसिनाले सिँच्न थाल्छन् ।
देहरादुनका होटल हुन् या ऋषिकेश र हरिद्वारका होटलहरू त्यहाँ पृथ्वीनारायणले एकीकरण गरे पहिलेका राज्यहरू भैँm सानासाना टुक्रे नेपालहरू देख्न पाइन्छ । बाहिर होटलको विशेषता फलाक्तै ग्राहक बोलाउनेदेखि लिएर टेबुल पुछ्ने, प्लेट धुने र खानेकुरा पुर्‍याउने पनि नेपाली भेटिन्छन् । आफ्ना सुखदु:खलाई मैला झोलामा कोच्दै थन्क्याएर अँध्यारा कुनामा उनीहरू सखारै उठ्छन् र उनीहरूको दैनन्दिनी टुंगिन्छ अधबैँसे रातमा । होटलका रहलपहलले भोक मेटाएर निद्रादेवीको काखमा पुग्नेबित्तिकै दिनभरि थाकेर लोथ भएको शरीर सपनाका गोरेटोहरूमा पनि हिँड्ने क्षमता गुमाउँछ । एक कोल्टेमै छिट्टै बिहान हुन्छ अनि सुरू हुन्छ जीजिविषाको युद्ध ।
यो युद्ध, जिजीविषाको युद्ध भारतमा मात्र लडिरहेका छैनन् नेपाली । अलिक पैसा हुने मलेसिया, साउदी अरेबियामा पनि लड्दै छन् अनि अलिक बढी नै पैसा हुने लड्दै छन् युरोप अमेरिकाका देशहरूमा । तर, जहाँ जाऔँ उनीहरूको कथा उस्तै छ, व्यथा उस्तै छ । कतै घर खेत बन्दकी राखी सुनौलो भविष्य बुन्न आकासिएका मन टुक्रिएको कथा सुन्न गइन्छ । कतै बन्दकी राख्ने घरखेत नहुनाले छिमेकी मुलुक भारतमा पेट भर्नै धौधौ परेको व्यथा । यी कथा व्यथाबीच सदियौँदेखि दरबान, कुल्ली अनि टेबुलको जुठोपुरो उठाउने एउटा पर्याय, एउटा उदाहरण बनिरहेको छ नेपाली ।

प्रतिक्रिया