त्रिवेणी लघु जलविद्युत् आयोजना बन्द

इलाम, १ असार । त्रिवेणी लघु जलविद्युत् आयोजना मर्मत खर्च थेग्न नसकेर बन्द भएको छ । आयोजनामा आउने पटक–पटकको समस्याका कारण खर्चले थेग्न नसकेपछि विद्युत् आयोजना बन्द भएको हो ।
पूर्वाञ्चलकै नमुनाका रुपमा सञ्चालित आयोजना बन्द भएपछि माबुका सात वडा र माइमझुवाको चार सय २२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । आयोजनामा पटक–पटक आउने समस्याका कारण आफूहरुले मर्मत खर्च थेग्न नसक्ने भएपछि उपभोक्ताको बैठकले नै आयोजना बन्द गर्ने निर्णय गरेको आयोजनाका अध्यक्ष ढालबहादुर गुरुङले बताए । ‘स्थानीयले खर्च थेग्न सकेसम्म हामीले घरलौरी रकम संकलन गरेर बिजुली बाल्यौँ’ अध्यक्ष गुरुङले भने, ‘पटक–पटकको समस्याले उपभोक्ताबाट पैसा उठाएर मर्मत गर्न साध्य नहुने भएपछि आयोजना बन्द गरेका हौँ ।’
स्थानीयवासीले जग्गा धनीपुर्जा बैंकमा धितो राखी लिएको ऋणबाट १० वर्षअघि ५० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना निर्माण गरिएको थियो । स्थानीय ९० किसानको धनीपुर्जा बैंकमा राखेर ९५ लाख रुपियाको लागतमा बिजुली निकालिएको थियो । त्यतिखेर पुरानै ऋण तिर्न नसकेकाले मर्मत र व्यवस्थित बनाउन उपभोक्तालाई समस्या परेको थियो ।
पटक–पटक मर्मत गर्दा १५ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको आयोजना उपभोक्ता समितिले जनाएको छ । माइखोलावाट ल्याइएको लामो कुलोका कारण पनि पटकपटक स्थानीयले समस्या बेहोर्नुपरेको उनले बताए । गत १ असोजमा  भूकम्पले कुलोलगायत विविध संरचनामा क्षति पुर्‍याएपछि स्थानीयले प्रतिघर आठ सय रुपियाँका दरले रकम संकलन गरेर मर्मत गरेका थिए । तर, बिजुली बालेको चार महिना पनि बित्न नपाउँदै पुन: पावरहाउसको टर्बाइनमा समस्या आएपछि विद्युत् अवरोध भएको थियो । पछिल्लो पटक विद्युत् टर्बाइनको बेरिङ, एमसिबोर्ड, बेल्टलगायतका सामग्रीमा समस्या आएपछि आयोजना नै बन्द भएको हो ।
आयोजना बन्द भएपछि दुई प्राविधिकलाई अवकाश दिइएको छ । चार सय २२ परिवारले उपभोग गर्दै आएको लघुजलविद्युत् आयोजना ८५ लाख रुपियाँको लागतमा निर्माण गरिएको थियो । लघु जलविद्युत् योजना बन्द भएपछि त्यहाँका स्थानीयले केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारका लागि माग गर्दै आएका छन् ।
त्यसैगरी इभाङ–७ मा सञ्चालित तामाखोला–चिवुवा लघु जलविद्युत् आयोजना तीन महिनाअघिदेखि बन्द भएको छ । मर्मत खर्च जुटाउन नसकेर आयोजना बन्द हुँदा ५६ घरपरिवार अन्धकारमा बस्न बाध्य छन्् । गत फागुनमा आयोजनाका टर्बाइनको क्वाइल जलेपछि ५० हजारको लागतमा मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । तर, २७ चैतमा फेरि क्वाइल जलेपछि आयोजना बन्द भएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर शाशंखरले बताए । ‘आयोजनाको पुन: मर्मत गर्न ६० हजार बढी खर्च लाग्छ’ अध्यक्ष शाशंखरले भने, ‘तर अहिले उपभोक्ता समितिसँग रकम छैन ।’ दुई वर्षअघि १४ लाख ८७ हजारको लागतमा आयोजना निर्माण गरिएको थियो ।
केन्द्रीय प्रसारणको लाइन नपुगेको माबु र इभाङमा सञ्चालित लघु जलविद्युत् आयोजना बन्द भएपछि कम्प्युटर चलाउन, रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्न समस्या भएको उपभोक्ताले बताउँदै आएका छन् । नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) र क्षेत्रीय नवीकरणीय ऊर्जा केन्द्र (आरआरइएससी) को प्राविधिक सहयोगमा जिल्लाका सात गाविसमा आठवटा लघु जलविद्युत् आयोजना निर्माण भई सञ्चालनमा छन् । सरकारको दुई करोड ३९ लाख २३ हजार पाँच सय र समुदायको नगद र श्रमदान गरी दुई करोड ८२ लाख ३० हजार ११ रुपियाँ गरी पाँच करोड २१ लाख ५३ हजार पाँच सय ११ रुपियाँको लगानीमा ती आयोजना निर्माण भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया