सिरिया र यमनमा खाद्य असुरक्षा

रोम, १ असार । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले विश्वभरि नै खाद्यान्नको उत्पादन र खाद्य सुरक्षा सकारात्मक रहेको देखाए पनि सिरिया र यमनलगायत केही क्षेत्र अझै पनि असुरक्षित छन् ।
विश्वका केही क्षेत्रमा वर्षात्मा आएको कमी, प्रतिकूल मौसम एवम् द्वन्द्वका कारण खाद्य असुरक्षा देखिएको हो । एफएओको बालीको सम्भावना र खाद्यान्न स्थितिसम्बन्धी प्रतिवेदनले सन् २०१२ मा खाद्यान्न उत्पादन ३ दशमलव २ प्रतिशतले बढेर दुई अर्ब ४१ करोड ९० लाख टन पुग्ने अनुमान गरिएको छ । विशेष गरी संयुक्त राज्य अमेरिकामा मकै उत्पादन बढेसँगै खाद्य उत्पादनमा वृद्धि देखिएको हो । मेमा गहँु र धानको आपूर्ति बढी भएपछि मूल्यमा समेत कमी आएको थियो ।
सकारात्मक खाद्यान्न उत्पादनका बाबजुद अरबका सिरिया र यमनजस्ता देशमा स्थानीयस्तरमा खाद्यान्नको मूल्य वृद्धि र युद्धका कारण खाद्य असुरक्षा बढेको एफएओले बताएको छ । ‘यमन र सिरियाको अवस्थाले हामीलाई खाद्य असुरक्षा र शान्तिबीचको स्पष्ट सम्बन्ध स्मरण गराएको छ । आन्तरिक द्वन्द्वले खाद्य असुरक्षालाई झन् बढावा दिएको छ । विशेष गरी प्राकृतिक स्रोतमा विवाद भएपछि खाद्य असुरक्षा पनि बढेको देखिएको छ,’ एफएओका महानिर्देशक जोसन ग्राजिआनो दिसिल्भाले भने ।
प्रतिवेदनले अफगानिस्तान, कोरिया, हाइटी, इराक, मालीलगायत ३५ राष्ट्रलाई बाह्य खाद्य सहायता प्रदान गर्नुपर्ने राष्ट्रमा राखेको छ । कुल राष्ट्रमध्ये २८ राष्ट्र अफ्रिकामा छन् ।
‘यसबाट भोकमरी विशेष गरी खाद्यमा पहुँचको समस्या मात्र भएको देखाएको छ । विश्वका हजारौँ गरिबसँग आफ्नै खाद्यान्न उत्पादन हुने साधनको अभाव वा आफूलाई चाहिने पर्याप्त खाद्यान्न खरिद गर्नका लागि राम्रो रोजगारी वा राम्रो आम्दानीको अभाव रहेको छ,×’ ग्राजिआनो दिसिल्भाले भने ।
सन् २०११ मा खाद्यान्न उत्पादनमा भएको तीव्र गिरावट, स्थानीय खाद्यान्नको चर्को मूल्य एवम् द्वन्द्वका कारण पश्चिम अफ्रिकाका धेरै देशमा निरन्तर खाद्य असुरक्षा र कुपोषण बढ्दो छ ।
मालीमा बढ्दो द्वन्द्वले छिमेकी मुलुकमा विस्थापित जनसंख्या एवं उत्तरी अफ्रिकाबाट बिस्तारै दक्षिणतिर बढ्दै गएको मरुभूमीकरणका कारण सन् २०१२ मा कृषि उत्पादनमा थप चुनौती थपिएको एफएओले बताएको छ । यसबाट अफ्रिकाका नाइजर, माली र चाड बढी प्रभावित हुने एफएओको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी पूर्वी अफ्रिकामा ढिलो वर्षा सुरु हुनु, केन्या, सोमालिया, तान्जानिया र युगान्डा बाढी प्रभावित हुनु एवम् केन्याको उत्तरपूर्वी क्षेत्रमा सुख्खा बढ्नाले खाद्यान्न उत्पादनमा कमी आएको छ ।
उत्तर अफ्रिकाको मोरक्कोमा अपर्याप्त वर्षात्का कारण खाद्यान्न उत्पादनमा तीव्र गिरावट आउने अपेक्षा गरिएको छ भने अन्य क्षेत्रमा औसत खाद्यान्न उत्पादन हुने बताइएको छ । ‘प्रतिकूल मौसमका कारण सन् २०१२ मा दक्षिण अफ्रिकाको खाद्यान्न उत्पादनमा कमी आउने तथा उच्च खाद्य मूल्यले खाद्य असुरक्षालाई झन् बढावा दिने देखिएको छ,×’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा सिरिया र यमनमा विद्यमान अशान्तिका कारण खाद्य सुरक्षालाई चुनौती दिएको उल्ल्ेख गर्दै सिरियाका करिब १० लाख मानिसलाई खाद्य सहायता उपलब्ध गराउनुपर्ने आवश्यकता दर्साइएको छ । त्यसैगरी यमनमा ५० लाख मानिस तीव्र रुपमा खाद्य असुरक्षामा रहेको र तुरुन्तै खाद्यान्न सहायता उपलब्ध गराउनुपर्ने प्रतिवेदनले बताएको छ । विषम गरिबी, दीर्घकालीन द्वन्द्व एवम् उच्च खाद्यान्न तथा ऊर्जा मूल्यले झन् खाद्य असुरक्षामा बल पुगेको छ । एजेन्सी

प्रतिक्रिया