हेलो सरकार ! खै कता ?

नेपालमा प्रधानमन्त्री हुने विरलै डाक्टरमध्ये पछिल्ला प्रधानमन्त्रीले जनताको गुनासो सुन्न भनेर हेलो सरकारको व्यवस्था गरे र जमेर त्यसको प्रचार पनि गरे । राम्रा राम्रा मन्त्रालयबाट छानेर र तानेर घागडान कर्मचारी हेलो सरकारमा राखिए पनि । मान्छेहरूलाई ‘डुबते को तिनके का सहारा’ भन्ने हिन्दी उखान चरितार्थ भयो । जनताले पनि जानी नजानी हेलो, हलो, हाल्लो सबै भाकामा आ–आफ्ना गुनासा पनि भ्याइनभ्याई पोखे । हेलो सरकारले पनि जमेर जवाफ फर्काएकै हो, तपाईंहरूले भनेको जायज हो सत्य हो, हामी व्यवस्था गर्दैछौँ, हामी संविधान बनाउन लागेका छाँै । संविधान बनाएपछि क्रमैले गुनासाको  सुनुवाइ हुनेछ, पख्नोस्, मैले निर्देशन गरिसकेको छु आदि ।
जनताको कामै पत्याउने, आदेश निर्देश मान्ने, पर्खने हो अनि अन्त्यमा धोका खानु जनताको लक्षण हो, परम्परा पनि हो । त्यसैले होला जनताले पत्याइदिए, आदेश माने र पर्खेर बसे । जनताले एक महिना पर्खे, दुई महिना पर्खे, गर्दै गर्दै नौ महिना त बिती नै पो सकेछ । डाक्टर सा’ब काबिल र इमानदार भएरै त होला नि उहाँले शान्तिप्रक्रिया पनि टुंगोमै पुर्‍याउनुभयो, संविधानको काम पनि सकिनै लाग्यो भनेर विपक्षीले समेत सहमतिको लाममा बस्न मञ्जुरी दिए, विपक्षी पनि बन्न नपाउनेहरू बन्द हडतालको मेसोमा लागे । सबै आ–आफ्नो हिसाबकिताबतिर लागे, स्वयं डा. प्रधानमन्त्री कति महिना बसिएछ भनेर समय गन्न थाले । कतै अध्यक्ष प्रचण्डको भन्दा कम समय त बसिएन भनेर हिसाब गर्न लागे । कति सडक भत्काइएछ, कति सुकुम्बासीका छाप्रा ढालिएछ, कतिलाई राजदूतको जागिर खुवाइएछ, कतिवटा सन्धि–सम्झौता र सहमति गर्न भ्याइएछ आदि इत्यादि नौ महिनाका क्रियाकलापका फेहरिस्त बनाउन लागे । तर, हेलो सरकारमा गुनासोको पोको थुपार्ने जनताको नौ महिनाको हिसाब खै ? ‘भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज
झोली’ भन्ने भनुभक्तको कविता पढ्नु सिवाय जनतासँग बाँकी के रह्यो त ? हिजो भोलि भनेर पर्खाइएका जनता आज खोजीमा लागेका छन्–हेलो सरकार † खै कता हो ? हेलो सरकार नाम मात्रै नयाँ तर काम पुरानै ।
जनताका गुनासा पुरानै । उही अन्याय अत्याचारका उजुरी, उही अफिसमा ढिलासुस्ती भएका गुनासा । उही बाटो, पानी ढल र बिजुलीका समस्या । लेनदेनमा बेइमानी गरेको गुनासो । जनतासँग छ नै के र अरू ? वर्षौंदेखि मनमा गुम्सिएका जनताका गुनासा र भावनाहरू ओइरिएका थिए । हेलो सरकार टनाटन भरिएको थियो । तर, हेलो सरकारको सुनुवाइको  पालो अझै आएन । वैशाख–जेठको खडेरीसँगै केयुकेएलबाट पानी गायब भएजस्तै  हेलो सरकार † खै कता ? बिजुलीका लोडसेडिङ अझै घटेन किन होला ? हेलो सरकार खै कता ? काठमाडौंमा त्यसै त सडक साना, खाल्डा परेका ढल गनाएका । उसमाथि हेलो सरकारले फराकिलो पार्न भनेर भत्काएर बनाउनै नभ्याई धुलाम्मे पारेर सहरभरिलाई प्रदूषित पारेर त्यसै अलपत्र छाडिएको छ । तर खै † हेलो सरकारचाहिँ त कता कता ?  मालपोतदेखि यातायातसम्म टेबुलमुनि हात नछिराई वल्लो टेबुलको मिसिल पल्लो टेबुल सर्ला भनेर हेलो सरकारमा गुनासो गरेपछि पर्खंदा पर्खंदै महिनौँ बित्यो तर मिसिल सर्नु त कता हो कता उल्टो गायबै भएपछि हेलो सरकारमा गुनासो गर्नु नै पो गल्ती भएछ कि भनेर घोरिँदा घोरिँदै हेलो सरकार नै बेपत्ता भएको खबरले गुनासो गर्नेहरूलाई अब गुनासोकै भारी बढ्ता भएर आएको छ ।
हेलो सरकारको यतिबेला जनताले धेरै खोजी गरेका छन् । किन ? किनभने जनताले हेलो सरकारले जनताका लागि के न गर्छ भनेर सोचेका थिए । जनताले उसलाई धेरै पत्याएका पनि थिए । तर, जहाँ साह्रो, त्यहीँ गाह्रो भनेजस्तै जब जनताका लागि हेलो सरकारको सबभन्दा बढी खाँचो महसुस गरिन्छ, तब नै हेलो सरकार गायबै भइदिन्छ । भूमिसुधारमा हाल साबिक गर्दा त्यहाँका कर्मचारीले ४/५ हजार लाग्छ भने भने त हेलो सरकारलाई भोलि गुनासो गर्दा पनि फरक पर्दैन । गुनासोको सुनवाइ भए पनि नभए पनि रेडियो टिभीमा हेलो सरकारमा भूमिसुधारको गुनासो पर्‍यो भनेपछि कर्मचारी त्यसै थर्कमान भैहाल्छन् । कम्तीमा सात दिनसम्म त कर्मचारीले गुनासोको सुनुवाइ हेलो सरकारले गरोस् नगरोस् कर्मचारी सुनेकै हुन्छन् । तर, जनतालाई अहिले परेको ‘अर्जेन्ट’हेलो सरकार नै नभई फुक्तै नफुक्ने खालको छ । तर, अफसोच † हेलो सरकार अब गायब नै भएजस्तो छ । तपाईं काठमाडौंबाट २/४ किमी पर पुग्नु भएको छ भने त्यहाँ सडकबीचमा एउटा बेन्च राखेर २/४ जना युवक चियाको चुस्की लिँदै उपरखुट्टी लाएर हाँस्दै गफ गर्दै हुन्छन् । चारतिर सशस्त्र प्रहरीका जवानबीच सडकको बेन्चबाट युवकहरूलाई हटाउन त परै जाओस् बाटोबाट आइरहेका सवारीसाधनलाई अन्यत्र मोडिएर जान सिट्ठी बजाइरहेका हुन्छन् । तपाईं सोच्नु हुँदो हो यो कस्तो अनौठो दृश्य भनेर । तर, आश्चर्य मान्नु पर्दैन, त्यो दृश्य नेपाल बन्दको हो । पुलिसले होइन ती युवाहरूले गरिरहेका हुन्छन् । पुलिसले त झडप रोक्नका लागि गाडी बन्द गराइरहेको हुन्छ । सायद तपाईंलाई यो दृश्य देखेपछि हेलो सरकारको याद पनि आउँछ किनभने एकछिनअगाडि गाडी चढेर घुम्न हिँडेको तपाईं पैदलै घर फिर्न बाध्य बन्नु हुन्छ । तर, हेलो सरकार कता कता ? हेलो सरकार त वास्तवमा त्यही बेन्चमा बसेर उपरखुट्टी लगाइरहेको हुन्छ ।
तपाईं कहिल्यै शंखमूलतिर घुम्दै पुग्नु भएको
छ ? त्यहाँ नेपालको ठूलो श्रमबजारको मण्डी देख्न पाइन्छ । विकासको, अर्थतन्त्रको मण्डी होइन, त्यो त राजनीतिको धन्दा चल्ने झन् ठूलो मण्डी । त्यहाँ करोडौँको कारोबार हुन्छ । तपाईंले पाँचै वर्षमा हवाइचप्पल त्यागेर पजेरोमा चढेर हिँड्ने व्यवसाय गर्न चाहनुभएको छ भने शंखमूलतिरको मण्डी उपयोग गर्न सिक्नोस् । सरल उपाय छ, एउटा पार्टी खोल्नोस्, जुलुसमा हिँड्ने भुस्तिघ्रेदेखि एड्सले गाँजेजस्ता मरियलहरूसम्म पाउनु हुनेछ शंखमूलतिरका श्रमबजारमा । त्यस्तै दिनको दुई सयजति पर्ला गोटाको । नेपाल बन्द गराउनु छ भने पाँचसय गोटाका भुस्तिघ्रे किन्न सक्नु हुनेछ । धक नमानी लगानी गर्नोस् यो फाइदाको कारोबार हो । दायाँ बायाँ हेर्नै पर्दैन । सुत्केरी मरुन् कि बाबुको किरिया गर्न कतै हिँडेका हुन् तर बन्द त हुन्छ नै । एक दिन बन्द हुँदा कुन्नि कति अर्ब दिनको नोक्सान हुन्छ भनेर कतै पढ्नु भएको थियो र तपाईंको बन्दमा पनि त्यस्तै अध्ययनको रिपोर्ट आउला भनेर डराउनुभएको छ भने त्यसमा पनि ढुक्क भए हुन्छ किनभने यहाँ जनताको सुनुवाइ गर्ने हेलो सरकारै गायब छ । धेरैले धेरै खोजे तर हेलो सरकार त खै कता कता ?
हेलो सरकार गायब छ त्यसै भएर होला यहाँ अर्को एउटा कारोबार पनि खुब फस्टाउन थालेको छ, त्यो हो असुली धन्दा । पहिले ज्वाइँससुराको भए पनि लेनदेनको कारोबारमा असुलीको धन्दा सिक्ने एउटा–दुइटा भुस्तिघ्रे पाल्ने, होटेलका क्याबिन क्याबिन चहार्ने पछि जान्ने भएपछि अपहरण गरेर फिरौती नै असुल्न थाल्ने । डराउनु पर्दैन, सबैजना श्यामसुन्दर गुप्ता नै हुन त कहाँ सक्छन् । हेलो सरकार अब गायब भएजस्तो छ, धन्दा त फिरौतीकै चल्लाजस्तो छ ।

प्रतिक्रिया