खरा विश्लेषकका झर्रा कुरा

गलत मान्छे, गलत जिम्मेवारीमा पुग्नाले नै मुलुकले आजको अवस्था भोगिरहेको ठम्याइ छ– राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीको । ‘यो सबै हुनुको कारण पदहरू मोलतोल  र बिक्री  भइदिनु हो’ प्रा.डा. केसीले भने, ‘मुलुकको समस्या नै यही हो, अमेरिकाको राजदूत बन्न एक करोड दिए पुग्छ, बेलायतको ७२ लाख, ५० लाख तिर्नेले सभासद् बन्न पाउँछ ।’
विक्रम संवत् २०१२ फागुन १५ गते जन्मिएका विश्लेषक केसीका कुरा अलि खरा लाग्छन् । कुराकानीको सुरुआतमा उनैले भनिहाले– ‘मेरा कुरा झर्रा/तीता हुन्छन्, धेरैले अन्तर्वार्ता लिएर छापेका छैनन् †’ आजकाल मिडिया पनि सत्यदेखि विमुख हुँदै गएका कारण मुलुकले थप बाटो बिराउँदै गएको बुझाइ केसीको छ । जन्मथलो ताप्लेजुङको सावादिन–८ नजिकैको रविकला प्राविबाट पठनपाठन सुरु गरेका उनी झन्डै ३२ वर्षदेखि अध्यापन पेसामा संलग्न छन् ।
आमा रन्दता कार्की र बुबा गणेश कार्कीका १० जना छोराछोरीमध्येका केसीले ताप्लेजुङकै मोती मावि खुकलिङबाट २०३० सालमा प्रवेशिका पास गरेका हुन् । धनी किसान परिवारमा जन्मिए पनि उनलाई बाल्यकालमा नगदको भने अभावै रहेको राम्ररी सम्झना छ । सुनसरीको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक पास गरेका विश्लेषक केसीले २०३८ सालमा त्रिभुवन युनिभर्सिटीबाट स्नातकोत्तर पास गरे । त्यही वर्ष उनी भोजपुरको भोजपुर बहुमुखी क्याम्पसमा प्राध्यापक भएर गए ।
नेपालको शिक्षाप्रति उनको गुनासो त्यति बेलैदेखिको हो । ‘नेपालको शिक्षा डिग्रीमुखी भयो’ उनले भने, ‘तर, डिग्रीले डिग्रीको प्रतिनिधित्व गर्दैन ।’ अहिलको अवस्थामा राजनीतिलाई उद्योग बनाइएकोप्रति गहिरो असन्तुष्टि बोकेका केसीले भने, ‘आज राइट मेन राइट प्लेस भएन, यहाँ परराष्ट्र विभागदेखि मन्त्री बन्नसम्म २६ लाखदेखि २ करोड तिरे पुग्छ ।’ केसीले ‘यो प्रमाणित सत्य’ भएको दाबी गर्दै भने, ‘आज राजनीतिको ‘र’ नपढेका कति अबुझहरू, व्यापारीहरू सभासद् भए † तपाईंलाई पनि हेक्का होला नि ?’
उसो त राजनीतिको चोट केसीले पनि प्राध्यापन थालेकै दिनदेखि नभोगेका भने होइनन् । ‘त्यो व्यक्तिगत भोगाइ हो’, उनले भने, ‘आज सिंगो राज्य त्यस्तै भोगाइले थला परेको छ ।’ भोजपुर क्याम्पसमा प्राध्यापक भएर जानेबित्तिकै केसीलाई अखिल पाँचौंको राजनीति गर्‍यो भनेर निकालिएछ । त्यसपछि उनी महेन्द्र क्याम्पसमा पढाउन थाले । ‘त्यहाँ पनि चार वर्षपछि त्यस्तै आरोप लगाइयो,’ उनले भने, ‘मैले पनि भनसुन गरेर २०४१ सालदेखि त्रिभुवन विश्वविद्यालयमा जागिर पुन:स्थापना गराएँ, अहिलेसम्म अविच्छिन्न छ ।’
यो यात्रामा साथी, सहपाठी र विद्यार्थी थुपै्र कमाएका छन् । आफूले पढाएका भन्दा पनि आफूसँगै पढेका अहिलेका उच्चपदस्थ साथीहरू इमानदार नभएको देख्दा केसीको मन कुँडिँदो रहेछ । यसमा उनी दुखेसो गर्छन् ।
नेपालमा यो हुनुपर्छ वा यो हुनुपर्दैन भनेर विश्लेषण गर्न चाहँदैनन् केसी यतिखेर । तर, जे भइरहेको छ, अति नै डरलाग्दो रहेको बताउँछन् । उनले भने, ‘आठ कक्षा पढेको व्यक्ति परराष्ट्रमन्त्री हुने, गुरिल्ला आएर अर्थमन्त्री खाने, जिन्दगीभरि घुँडामा राखेर कपाली लेख्ने व्यक्ति अर्थमन्त्री हुन्छ, अनि यो देश कसरी अगाडि बढ्छ ?’ ती पदहरूमा तिनैलाई राखे पनि ‘गुरिल्ला’लाई गृहमन्त्री, कपाली लेख्नेलाई कानुनमन्त्री दिएको भए मुलुकको अधोगति नहुने उनले देखेका छन् ।
‘अयोग्यताले अनास्था जन्माउँछ, अनास्थाले अराजकता र अराजकताले आतंक’ भन्ने दर्शन बोकेका विश्लेषक केसीले भने, ‘आज भएको त्यही हो ।’ आज देखिएको जातीय वैमनस्य दुई सय ४० वर्ष पहिला रोपिएको बीजारोपणको वृक्ष भएको ठोकुवा गर्ने केसीले भने, ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा क्रिस्चियन पादरीलाई लखेटेदेखि नेपाल र पाश्चात्यहरूबीच द्वन्द्व सुरु भैसकेको थियो ।’ त्यही द्वन्द्वका मतियार केही नेताहरू भैदिनाले आजको अवस्था आएको उनको ठोकुवा छ । हिन्दू धर्मको नारा बोक्नेहरू गलत भए पनि त्यो नारा राष्ट्रियताको नारा भएको बताउँदै उनले भने, ‘धर्मनिरपेक्षता र संघीयता हाम्रा एजेन्डा नै होइनन्, त्यो ल्याउनेलाई पनि कहाँबाट आयो भन्नेसम्म थाहा नभएकाले संविधानसभा विघटन भएको हो ।’
नेपाललाई सामरिक स्थल बनाउन खोज्नेले नै नेपालमा एक मधेस एक प्रदेश, जातीय राज्य र अझ विशेषगरी शेर्पा र जडान राज्यको नारा उरालेको आरोप उनको छ । ‘शक्तिराष्ट्रहरू नेपालको हिमाली क्षेत्रलाई अखडा बनाउन चाहन्थे,’ केसीले भने, ‘त्यसैले यी नाराहरू अघि सारिए ।’
आफूले २०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आउँदा नै ‘माओवादी युद्ध राजनीतिक हो, योभन्दा अब जातीय लडाइँ खतरा हुन्छ’ भन्दै आएको र त्यही भइरहेको उनले स्मरण गराए । अहिलेको हिंसा नश्लमा आधारित जातीय विद्वेष फैलाउने खाले भएकाले यो बढी खतरा भएको ठम्याइ उनको छ । यसलाई रोक्ने उपाय के होला त ? विश्लेषक केसी सजिलो बाटो देख्छन्, ‘नेपालमा राजनीतिलाई उद्योगका रूपमा लिइयो, अहिले विदेशीहरूले द्वन्द्वलाई उद्योगका रूपमा खेती गर्दै छन् । यसले कसैलाई फाइदा गर्दैन ।’ उनले जोड दिए, ‘यसलाई मनन गरेर सम्हालिनुपर्छ ।’ तर, वर्तमान नेताहरूको कार्यशैलीले त्यो सम्भावना नदेखिएको उनको ठहर छ । अहिलेका नेता कति पराधीन र गैरजिम्मेवार छन् भन्ने कुरा संविधानसभाको विघटनले देखाइसकेको उनले बताए ।
संविधानसभाको नाममा प्रत्यक्ष नौ अर्ब र अप्रत्यक्ष २० अर्ब गरेर २९ अर्ब खेर गएकामा मात्र नभई मुलुकको महत्त्वपूर्ण समय, जनताको आशा, इमानदार कार्यकर्ताको मिहिनेत पनि धूलोमा मिलाइएकामा उनले दिक्दारी जनाए । जिन्दगीका ३२ वर्ष प्राध्यापन, अध्ययन र विश्लेषणमै बिताएका विश्लेषक केसी अबको विकल्पका रूपमा ‘असफल नेतृत्वलाई खास गरी मिडिया र जनताले बहिष्कार गर्ने, नागरिक र बौद्धिक जमात उनीहरूको घोडा नबनिदिने र दोस्रो पिँढीलाई अगाडि ल्याउनुपर्ने’ देख्छन् । अब जनताले जुनसुकै आस्था, पार्टीका व्यक्ति भए पनि शुद्ध, इमानदार व्यक्तिलाई अघि तान्नुपर्ने सुझाब दिन्छन् । संविधानसभा विघटन हुनुमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पूर्णत: गल्ती देख्ने केसीले ‘अबको निकास सर्वपक्षीय सहमतिबाट राष्ट्रिय सहमति गर्न राष्ट्रपतिलाई अभिभावकत्वमा लिएर विज्ञ–विशेषज्ञको संविधान मस्यौदा समिति बनाउने र संविधानसभाको सट्टा दुई सय ५० जनजातिको संसदीय निर्वाचन गर्ने’ देखेका छन् । उनले भइसकेको संविधानको ९० प्रतिशत र बाँकी १० प्रतिशत कामलाई आयोगमार्फत बनाएर संसद्मा छलफल गरेर लागू गर्नुपर्ने देखेका छन् ।
२०४० सालमा धरानकी सविता बस्नेतसँग विवाह गरेर सुभाषी र सम्राट दुई सन्तानका पिता बनेका केसी आमाबाबुले सन्तानलाई र सन्तानले आमाबाबुलाई जस्तै देश र त्यहाँका नागरिकबीच पनि हेरचाहपूर्ण सम्बन्ध हुनुपर्ने बताउँछन् । अहिलेचाहिँ उनले देखेको बाटो एउटै छ, आयोग र सानो संसद्को निर्वाचन । ‘यो बाटो भएर हिँड्न सकेमा जातीय वैमनश्य, राजनीतिक शून्यताको अन्त्य हुने मात्र होइन, ठूलो धनराशि र समय पनि बचत हुन्छ’, सुझाबसँगै खबरदारी गरे उनले– ‘नयाँ संविधानसभाको निर्वाचनमा जाने हो भने आजसम्मको उपलब्धि त रहँदैन नै, संविधान बन्ने ग्यारेन्टी पनि छैन ।’

प्रतिक्रिया