नेपाली बजारमा भारतीय लिच्ची

विराटनगर ३२  जेठ । नेपाली उत्पादनले थेग्न नसकेपछि लिचीका लागि पनि भारतीय उत्पादनमै भरपर्नु पर्ने अवस्था देखिएको छ । पूर्व क्षेत्रीय  कृषि निर्देशनालयका अनुसार पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर  र धनकुटामा आँप र लिच्चीको खेती हँुदै आएको छ । सवैभन्दा बढी खेती सप्तरीमा र  त्यसपछि सिरहा , झापा र उदयपुरमा हुने गरेको छ ।  ‘स्वदेशमा उत्पादन भएका आँप र लिच्चीले ३५ प्रतिशत मात्र माग धान्ने गरेको छ, यसैले विदेशबाट आयात बढी हुने गरेको हो, क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका वरिष्ठ कृषि प्रसार अधिकृत भगीरथ यादवले भने ।
लिच्ची विहारको मुजफ्फरपुर तथा  आसपासका जिल्लाबाट र  आँप पश्चिम बंगाल, उत्तर प्रदेश र महाराष्ट्रबाट आयात हुंँदै आएको छ । आँप र लिच्चीको बजारमा माग उच्च भएपछि यो नगदे बालीका रुपमा रूपान्तरित हँुदै गए पनि अझै पूर्ण व्यावसायिक रूपले खेतीको विस्तार भने हुन सकेको छैन । कृषकले आफैँ बगान लगाउने, प्राविधिकको सल्लाह लिने र विषादीको प्रयोग गर्न थाले पनि राष्ट्रिय कार्यक्रमको अभावमा  अझै माग धान्ने गरी खेतीको विस्तार हुन नसकेको वरिष्ठ अधिकृत यादवले बताए ।
कृषि निर्देशनालयको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा चालु वर्षमा पूर्वमा आँप र लिच्चीको खेती र  उत्पादन दुवै बढेको छ । आँप खेती १५ र उत्पादन १० प्रतिशत तथा  लिच्ची  खेती पाँच र उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ । गत वर्ष पूर्वका सात जिल्लामा १३ हजार ६ सय ७७ हेक्टरमा आँप र लिच्चीको खेती भै एक लाख २८ हजार ९७ मेट्रिक टन उत्पादन भएको थियो ।  हावाहुरीले फूल फुलेका बेला कम क्षति गरेको  र सिजन पनि फल्ने वर्ष भएकाले आंँप लिच्ची दुवैको उत्पादन  बढेको हो ।  पूर्वमा उन्नत जातको मालदह, कलकत्तिया, बम्बइग्रिन, अम्रपाली, दसहरीलगायतका आँप र  कलकत्तिया, मजुफरपुरिया र सिडलेसलगायतका लिच्चीको खेती हुने गरेको छ ।

प्रतिक्रिया