त्रिशूली ‘थ्री ए’ जलविद्युत्को १८ प्रतिशत काम पूरा

काठमाडौं, ३१ जेठ । नेपाल विद्युत् प्राधिकरणले चाइनाको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण गरिरहेको त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजना निर्माण कार्य १८ प्रतिशत पूरा भएको छ ।
जलविद्युत् आयोजनाका लागि चाहिने मोटरबाटो लगायतका पूर्वाधार निर्माण गरिसकेको आयोजनाले १८ प्रतिशत काम पूरा गरिसकेको आयोजनाका निर्देशक ऋषिकेश शर्माले बताए । उनका अनुसार त्रिशूली नदीको पुल निर्माण, ११.५ पहुँच मार्गको स्तरोन्नति, एडिट नं. १ को १२७ मिटर सुरुङ, आर्मीका लागि क्याम्प निर्माण पूरा भएको छ ।
त्यसैगरी पावर केनल, डिसेन्डर, पानी पठाउने इन्लेट सुरुङलगायत खन्ने काम भने जारी छ । आयोजनाका अनुसार हेड–रेसका लागि सुरुङ निर्माणको काम पूरा भइसकेकाले अहिले ४.१ किलोमिटरको मुख्य सुरुङमा दुई तिरबाट सुरुङ निर्माण जारी छ । अहिले दैनिक दुई तिरबाट ५/५ मिटर सुरुङ निर्माण भइरहेकामा छिट्टै तीनतिरबाट सुरु गरेर दैनिक १५ मिटर सुरुङ निर्माण गर्ने लक्ष्य राखेको आयोजना निर्देशक शर्माले जानकारी दिए । अहिलेसम्म रक राम्रो रहेको र निर्माणको क्रममा पनि यस्तै रहेमा १५ महिनाभित्रै ब्रेक थ्रु गर्ने लक्ष्य प्राधिकरणको छ ।
पहुँच मार्ग निर्माणमा अवरोध, ठेकेदार कम्पनीले भूमिगत विद्युत् गृह बनाउने भनेकामा बाहिर बनाउने प्रस्ताव, बन्द, हडताल, विवादलगायतका कारणले ६ महिना ढिलाइ भएकोमा पहिलाकै लक्ष्यअनुसार सिध्याउने लक्ष्य आयोजनाको छ । ‘पहिला विविध कारणले ढिला भएको समयलाई समेत ध्यान दिएर अहिले द्रुतगतिमा आयोजनाको काम अघि बढाएका छौँ,’ प्राधिकरण उत्पादन निर्माण विभागमा महाप्रबन्धक रामचन्द्र पाण्डेले थपे, ‘निर्माण सुरु ६ महिनापछि भए पनि निर्धारित समयमै सकाउने लक्ष्यका साथ प्राधिकरण अघि बढेको छ ।’ विविध कारणले आयोजनामा ढिलाइ भएपछि ठेकेदार कम्पनीले ५० करोडभन्दा बढीको दाबी भने गरिसकेको छ । एक वर्षदेखि निर्माण सुरु भएको ६० मेगावाटको उक्त आयोजना मे ०१४ भित्र पूरा गर्ने लक्ष्य राखिएको छ । राजधानीबाट ९२ किलोमिटर टाढा रहेको रसुवा र नुवाकोट जिल्लाको दोसाँधमा निर्माण भइरहेको आयोजनाको लागत साढे १० अर्ब छ ।
आयोजनामा सिभिल र इलेक्ट्रोमेकानिलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनी र परामर्शदाताको काम पनि नर्थ वेस्ट हाइड्रो कन्सल्टेन्सीले गरेको छ । ‘आयोजनाको प्राविधिक डिजाइन, सामग्री उपलब्धता, निर्माणदेखि अधिकांश काम एउटै कम्पनीले गर्ने भएकोले कतिको गुणस्तर हो भन्नेबारे प्राधिकरण चनाखो हुनुपर्ने देखिएको छ ।’ प्राधिकरणका एक कर्मचारीले भने, ‘सस्तोमा टेन्डर हाल्ने भएकाले गुणस्तर तलमाथि हुनसक्ने भएकाले प्राधिकरण एकदम चनाखो हुनुपर्छ ।’ परामर्शदाताका लागि हाल १७ नेपाली र ११ मात्र विदेशी रहेकामा त्यो अपुग रहेको आयोजनाले जनाएको छ । ३० मेगावाटको चमेलियामा ६६ जना र १४ मेगावाटको कुलेखानी तेस्रोमा ४४ जना जनशक्ति रहे पनि ६० मेगावाटको आयोजनामा परामर्शदाताको टोलीमा २८ मात्र रहेकाले बढाउनुपर्ने र पहिलाको परामर्शदाताबारे भएको कुरालाई पुर्न समीक्षा गर्नुपर्ने आवश्यकता रहेको महाप्रबन्धक पाण्डेले बताए ।
पहिलाभन्दा तुलनात्मक रूपमा द्रुतगतिमा काम भइरहे पनि अझै आयोजनाका लागि विभिन्न समस्या र अवरोध रहेको आयोजना स्रोतले बतायो । स्रोतका अनुसार पहिलेदेखि सुरक्षाको समस्या भएपछि जनपद प्रहरीको सट्टा सशस्त्र प्रहरी राख्नका लागि सरकारले अनुरोध गरे पनि कार्यान्वयन भएको छैन । डिजेल, स्थानीयवासीबाट आउने समस्याप्रति सरकारी मन्त्रालयबाट सहयोग आयोजनाले पाएको छैन । बरु रसुवा र नुवाकोट जिल्ला प्रशासनका पूर्ण सहयोग पाए पनि सशस्त्र प्रहरी नराखीकन सुरक्षाको समस्या समाधान नहुने आयोजनाले जनाएको छ ।
पूर्व ऊर्जामन्त्रीहरु डा. प्रकाशरण महत, डा. प्रकाशचन्द्र लोहनी, पोष्टबहादुर बोगटी तथा अर्थ मन्त्री डा. रामशरण महतको जिल्ला नुवाकोट भए पनि जिल्लामा निर्माणाधीन आयोजना सफल बनाउनका लागि सहयोग नगरेको गुनासो आयोजनासम्बद्ध व्यक्तिको छ ।

प्रतिक्रिया