‘किङ अफ क्लेकोर्ट’ को अर्को कीर्तिमान


पेरिस,३०  जेठ । नोभाक जोकोभिकलाई लगातार चार ग्रान्डस्लाम जित्नबाट रोकेर राफेल नाडाल फ्रेन्च ओपन जित्दै यो प्रतियोगिता सबैभन्दा धेरैपटक (सातपटक) जित्ने खेलाडी भएका छन् ।
गत वर्ष विम्बल्डन जितेयता लगातार ग्रान्डस्लाम जितिरहेका विश्व नम्बर–१ जोकोभिकलाई पूर्वविश्व नम्बर–१ नाडालले चार सेट खेलेर हराएका थिए । पहिलो र दोस्रो सेट जिते पनि तेस्रो सेट गुमाएका नाडाल चौथोमा विजयी भए र यससँगै लगातार चौथोपटक फ्रेन्च ओपन र समग्रमा ११आंै ग्रान्डस्लाम उपाधि जित्न सफल भए ।
कीर्तिमानी सफलतालगत्तै नाडालले घँुडा टेकेर खुसीको आँशु झारे । त्यसपछि जोकोभिकसँग अंकमाल गर्दै उनी दर्शकदीर्घामा रहेका आफ्ना आफन्तसँग पनि अंकमाल गर्न पुगेका थिए । जोकोभिकविरुद्ध नाडालको यो सफलता जबरजस्त थियो किनभने पछिल्ला तीन ग्रान्डस्लाम फाइनलमा पुगे पनि नाडाल जोकोभिकविरुद्ध नै पराजित भएका थिए ।
सन् २००५ मा पहिलोपटक फ्रेन्च ओपन जितेसँगै व्यक्तिगत पहिलो ग्रान्डस्लाम उपाधि हात पारेका नाडाल सन् २००९ बाहेकका फ्रेन्च ओपनका अन्य सबै संस्करणमा विजेता भएका थिए । तीन संस्करणअघि चौथो चरणबाट बाहिरिनुअघि नाडाल लगातार चारपटक जितेर ‘किङ अफ क्लेकोर्ट’ अर्थात् माटोको कोर्टका वादशाह उपनामले चर्चित पनि भए ।
सन् २००९ मा अस्ट्रेलियन ओपन र सन् २०१० मा युएस ओपन जितेर स्पेनिस स्टार नाडाल रोजर फेडेररपछि सबै ग्रान्डस्लाम जित्ने खेलाडी भएका थिए । सन् २०१० मा नाडालले लगातार तीन ग्रान्डस्लाम पनि जितेका थिए ।
पछिल्ला तीन ग्रान्डस्लाममा पनि नाडाल फाइनलमा पुगेका थिए तर ती सबैको उपाधि भिडन्तमा नाडाल नयाँ टेनिस स्टारका रूपमा उदाएका जोकोभिकसँग निराश हुन पुगेका थिए । जोकोभिकसँग फाइनलमा निराश हुनुअघि खेलिएको फ्रेन्च ओपनमा भने नाडाल विजयी भएका थिए ।
रोड लेभरपछि लगातार चार ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बन्ने अभियानमा रहेका जोकोभिकलाई त्यसबाट रोकेपछि नाडाल आफै कीर्तिमान रच्न सफल भए । उनले क्लेकोर्टमा खेलिने यस ग्रान्डस्लाममा सर्वाधिक ६ पटक जितेर ब्योर्न बोर्गले बनाएको कीर्तिमान तोडेका हुन् । यसअघि फ्रेन्च ओपनकै गत संस्करण जितेर नाडालले बोर्गको उक्त कीर्तिमान बराबरी गरेका थिए ।
लगातार चार ग्रान्डस्लामको फाइनलमा भिड्ने नाडाल र जोकोभिक पहिलो प्रतिद्वन्द्वी हुन् । यसअघि सन् २००६ र ००७ को फ्रेन्च ओपन संस्करणमा फाइनल पुगेका रोजर फेडेररलाई नाडालले उपाधि जित्नबाट रोकेर क्लेकोर्ट ग्रान्डस्लाममा एकछत्र राजको शृंखला रचेका थिए ।
सुरुका दुई सेट गुमाएका जोकोभिकले त्यसपछि लगातार आठ ‘गेम’ जितेर फ्रेन्च ओपन जित्ने आशा कायम राखेका थिए । सर्बियन जोकोभिकले यो प्रतियोगिता जितेका भए उनी सबै चार ग्रान्डस्लाम जित्ने नाडालपछि पहिलो खेलाडी बन्ने थिए । गत वर्षको विम्बल्डन फाइनलमा नाडाललाई हराउनुअघि जोकोभिकले ग्रान्डस्लाम उपाधि जित्न सकेका थिएनन् । फ्रेन्च ओपनमा हालसम्म ५२ म्याच खेलेका नाडाल एकपटक मात्र पराजित भएका छन् । सन् २००९ मा क्वार्टरफाइनलमा रोबिन सोडरलिंगविरुद्ध हार व्यहोर्नुबाहेक नाडाल फ्रेन्च ओपनमा खेलिएका सबै खेलमा विजयी भएका थिए । ‘मेरा लागि बोर्गजस्ता ठूला खेलाडीसँग तुलना गरिनु ठूलो सम्मान हो,’ २६ वर्षीय नाडालले भने ।

प्रतिक्रिया