रुस–पोल्यान्ड म्याचको बेला हुलदंगा हुन सक्ने

वार्सा, ३० जेठ । पहिलो खेलमा  ग्रिससँंगको बराबरीपछि आयोजक  पोल्यान्डलाई समूहको  दोस्रो खेलमा रुससँंग जित हात पार्नुपर्ने दबाब बढेको छ । पछिल्लो संस्करणमा सेमिफाइनल प्रवेश गरेको रुसले  यस पटक पनि सानदार सुरुआत गरेको छ । पहिलो खेलमा चेक गणतन्त्रलाई ४–१ ले पराजित गरेको रुस बाँकी रहेको दुई खेलमा कमसेकम दुई अंक भए पनि निर्धक्कले क्वार्टरफाइनल प्रवेश गर्ने सम्भावना  छ । मिडफिल्डर आन्द्रेइ आर्सभिनको सानदार फर्मका कारण रुसले पोल्यान्डसँंगको खेलमा पनि जित हात पार्न सक्ने अनुमान गरिएको छ । डिक एडभोकेटको प्रशिक्षणमा रहेको रुसी टोलीमा रहेका सिरोकोभ, झिरकोभ, सेरकोभ र एनुयोकोभ पहिलो खेलमा झँै दोस्रो खेलमा पनि छाउने अपेक्षा गरिएको छ ।  खेलको परिणामबारे अनेक अनुमान गरिएको समयमा युरोकपमा हुलदंगाको सम्भावना पनि देखिएको छ ।
आयोजकले पोल्यान्डमा सात सय जना यस खालको हुलदंगाबाज प्रवेश गरिसकेको अनुमान गरेको छ । पोल्यान्ड प्रवेश गर्ने हुलदंगाबाजमा रुस, जर्मनी, आयरल्यान्ड, स्पेन, इटाली र क्रोएसियाका बढी रहेको अनुमान गरिएको छ । रुस र पोल्यान्डबीचको खेलमा यसखाले समस्या झनै बढी हुन सक्ने जनाइएको छ । पोल्यान्ड र रुसको राष्ट्रिय टोलीबीच केही समययता कुनै खेल त भएको छैन । तर, वार्सामा भएको युरोपा लिगको लेभिया वार्सा र स्पार्टाक मस्कोबीचको खेल सम्झनेहरु रुस र पोल्यान्डबीचको खेल सहजै सञ्चालन हुने सम्भावना नै कम रहेको बताउँछन् । दर्शकको असभ्य व्यवहारका कारण  खाली रंगशालामा खेल खेलाउन पर्ने अवस्था समेत रहेको सो खेलमा मस्को विजयी भएको थियो । २००७ मा पोल्यान्ड र रुसको राष्ट्रिय टोलीबीच भएको खेलमा भने २–२ गोलको बराबरी भएको थियो ।
चेक गणतन्त्रसँंगको खेल हेर्न पोल्यान्ड पुगेका रुसी दर्शकको उपद्रोका कारण युइएफएले चेतावनीसमेत दिइसकेको छ । रंगशालामा तैनाथ सुरक्षाकर्मीले कुनै अप्रिय घटना हुन दिएनन् भने पनि टिकट काउन्टरमा नै तनाबको वातावरण उत्पन्न हुन सक्ने लख काटिएको  छ ।
मंगलबार नै हुने अर्को खेलमा चेक गणतन्त्रलाई जित्नैपर्ने दबाब छ । सन् १९९६ को उपविजेता चेक पहिलो खेलमा विजयी हुने अनुमान धेरैले गरे पनि रुससँग फराकिलो अन्तरका हारका कारण बाँकी रहेका दुवैे खेलमा जित्नैपर्ने  छ । यदि यसो भएन र पाँच या चार अंकका साथ समूह चरणको अन्त्य हुन गयो भने पनि गोल अन्तरका कारण उक्त टोली बाहिरिने निश्चितजस्तै छ ।
पहिलो खेलमा धेरै गोल खाए पनि स्वाभाविक रुपमा गोलरक्षक पिटर चेक नै चेक टोलीका सबैभन्दा प्रभावकारी खेलाडीका रुपमा रहने छन् ।

प्रतिक्रिया