राजनीतिक अन्योलबीच बजेट

पछाडीको ढोकाबाट नआओस
डा.प्रकाशशरण महत
पूर्व मन्त्री
वर्तमान सरकारले राजनीतिक दलहरूसँगको सहमतिविना बजेट ल्याउनै सक्दैन । माओवादी अहिले सहमति भन्दै गर्ने तर आफू अनुकूलको बजेट ल्याउन लागिपरेको छ । सहमति, सरसल्लाहविना बजेट ल्याउनुहँुदैन भनेर नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपालगायत प्रमुख राजनीतिक दलहरूले पनि पहिलेदेखि नै भनिरहेका छन् । सर्वप्रथम बाबुरामले सरकार छाड्नुपर्छ, अनि मात्रै राष्ट्रिय सहमतिको सरकार गठन गरेर दलहरूबीचको सहमतिमा बजेट निर्माण गर्ने काम गरिनुपर्छ । सबै राजनीतिक दलका तर्फबाट हामीले राष्ट्रपतिलाई पनि यसबारेमा जानकारी गराइसकेका छौँ । आशा गरौँ, वर्तमान सरकारले पनि सहमतिको बाटो छाडेर पछाडिको ढोकाबाट बजेट ल्याउने काम गर्नेछैन ।
अवरोध गर्नु हुँदैन

हरि रोका
अर्थशास्त्री
बजेट निर्माण गर्ने अन्तिम समय आइसकेको छ । त्यसैले सरकारले यो समयमा बजेटको तयारी गर्नैपर्ने हुन्छ । अहिले विशेषगरी अर्थशास्त्रीहरूले बजेटका बारेमा दुईथरि प्रतिक्रिया आइरहेका छन् । एकथरि अर्थशास्त्रीहरूले राजनीतिक दलहरूले सहमति गरेर बजेट ल्याउनुपर्छ भनिरहेका छन् भने अर्काथरिले अर्धवार्षिक बजेट ल्याउनुपर्छ भनिरहेका छन् । बजेटको ठूलो हिस्सा पुराना योजनालाई निरन्तरता दिनुपर्ने हुन्छ । सरकारले चाहेर पनि धेरै नयाँ कुरा बजेटमा समावेश गर्न सक्ने अवस्था रहँदैन । त्यसैले बजेटका बारेमा कसैले पनि कुनै शंका, उपशंका गरेर बाधा, अवरोध पुर्‍याउने काम गर्नुहँुदैन । र, जसरी पनि सहमति गरेर पूर्णबजेट ल्याउनुपर्छ ।

प्रतिक्रिया