ध्यान र अमृतमय जीवन

‘ध्यान’ शब्द बनेको छ अढाई अक्षरबाट, ‘प्रभू’ र ‘प्रेम’ शब्द दुई अक्षरबाट बनेका छन् । जसको चेतना रहँदैन, दिमागमा तर्क र वितर्क हुँदैन, त्यहाँ कुतर्क पनि रहँदैन, जो कुनै प्रकारका सौदा गर्न सक्तैन, त्यसलाई ध्यानावस्थित भनिन्छ । ध्यानको मतलब हो–सादा प्रतिकूल परिस्थितिबाट विच्छेद हुनु । हामी चाहेर/नचाहेर टेन्सनमा रहन्छौँ । सारा हिसाबकिताब दिमागमा चलिरहन्छ । कसैले तिमीलाई भनिरहेको छैन– यस्तो सोच, नसोच भनेर । तर, यो अटोमेटिक क्रिया हो । यो क्रिया हाम्रो जीवनका साथ रहन्छ । व्यक्तिले सांसारिक रूपमा यो सबै गर्नुपर्छ । ध्यानलाई अंग्रेजीमा भनिन्छ– थटलेस माइन्ड । जब दिमागमा कुनै विचार हुँदैन, त्यसैलाई ध्यान भनिन्छ अर्थात् आफैँमा पूर्णरूपले निमग्न हुनु । यो त आफैँमा एउटा उच्च प्रक्रिया हो ।
मानसिक तर्क– वितर्क, चिन्तन र विचारको माध्यमबाट नै व्यक्ति रोगी हुन्छ, अशक्त हुन्छ र मृत्यु प्राप्त गर्दछ । यसलाई हामीले जति समयसम्म कट गर्न सक्यौँ, त्यो नै ध्यान हो । ध्यानका सम्बन्धमा उपनिषद्मा बडो सुन्दर व्याख्या गरिएको छ । व्याख्याको अर्थ हो– एक दिन र एक रातमा चौबीस घन्टा हुन्छ । यो चौबीस घन्टामा व्यक्ति नित्य तीन घन्टा ध्यानमा लगाओस् । यहाँ तीन घन्टाको मतलब हो हाम्रो आयु । किनभने, व्यक्ति जब सक्रिय रहन्छ, त्यतिबेला ऊ चिन्तित रहन्छ, जसले ऊसलाई मृत्युतिर अग्रसर गराउँछ । तर, कोही मान्छे ध्यानमा सक्रिय नै हुँदैन भनेजति घन्टा ध्यानमा लगायो आफ्नो जीवनमा त्यति नै घन्टा आयु जोडिँदै जान्छ । यदि हामी नित्य तीन घन्टा ध्यानमा लगाऔँ, हामी नित्य आफ्नो आयुमा केही पनि थप्दै जान्छौँ । यसको अर्थ यो होइन कि मृत्यु नै हुँदैन । ध्यानको माध्यमबाट मृत्युलाई पनि पर सार्न सक्छौँ ।
जब नचिकेता यमसँग प्रश्न गर्छन्– ‘म तपाईंबाट विमुख कसरी हुन सक्तछु ? यम उत्तर दिँदै भन्छन्–‘हामी कुण्डलिनीको माध्यमबाट अमृततत्त्व प्राप्त गर्दछौँ । अमृत पैदा गर्नका लागि कुनै तरिका छैन । जति क्षणसम्म हामी ध्यान लगाउँछौँ, त्यति नै क्षण अमृत वर्षा भई नै रहन्छ । त्यही अमृतले नै स्वयं मृत्युलाई पछाडि हटाउँदै लैजान्छ ।’
नचिकेताले सोधे– ‘म कतिबेर ध्यान लगाऊँ जसको माध्यमबाट म अमृत्यु प्राप्त गर्न सकूँ ?’ ‘हामी जीवनमा चौबीस मिनेटसम्म ध्यान लगाएर पूर्ण एक वर्ष आयु बढाउन सक्तछौँ ।’ यो ध्यानको प्रक्रिया हो – चौबीस मिनेटसम्म ध्यान । प्रारम्भिक चरणमा एक महिनामा पूरा हुन्छ, । मध्यम चरणमा ६ महिना आयु बढाउन सकिन्छ, पूर्ण चरणमा एक वर्षको आयु वृद्धि हुन्छ । यसलाई उपयोग गर, जुन प्रत्येक साधकका लागि जरुरी छ, जसबाट हामी ध्यानावस्थामा बाँच्न सकौँ ।
अनुवाद–शिव ढकाल
(निखिलमन्त्र विज्ञान पत्रिकाबाट)  

प्रतिक्रिया