कविता : एक पेसा

प्राय: कविताको विषयमा नकारात्मक टिप्पणी सुनिन्छ । कविताको बजार घट्दै गएको छ भने आख्यानको बजार अकासिँदो छ । अझ टेलिभिजन र चलचित्रमा देखिने कवि पात्रले हृदयमा घोचिरहन्छ । के त्यसो भए कविताको औचित्य समाप्त भयो त ? त्यस्तो पटक्कै होइन । वास्तवमा कविताको समय भरखर आउँदै छ । युयुत्सु आरडी शर्माले एक अन्तर्वार्तामा आख्यानको समय समाप्त हुन लागेको बताएका छन् । उनको तर्क थियो, अहिलेको फेसबुक पुस्ता लामो आख्यान पढ्न रुचि राख्दैन । यसको विकल्पस्वरूप कविताको आकर्षण बढ्दै छ । तर, आख्यान जति सरल ढंगले पढ्न सकिन्छ त्यति नै सरल तरिकाले कविता पढ्न सकिँदैन । कविताको आस्वादनका लागि कविता बुझ्ने क्षमता हुनु जरुरी हुन्छ ।
कवितालाई कमजोर अवस्थामा पुर्‍याउन अरू कसैको हात छैन । कविकै हात छ । आफूले जे लेखे पनि कविता हुन्छ भन्दै थुप्रै कविहरू सक्रिय छन् । दिनमै एक दर्जन कविता लेख्छन्  र हतारिएर सुनाउँछन् । यस्तै किसिमका कविलाई हेरेर कवितासम्बन्धी धारणा बनाउनुचाहिँ उपबुज्रुक बन्नु हो । ‘आफ्नो आङमा भैंसी नदेख्ने अरूको आङमा जुम्रा’ खोज्दै हिँड्नेहरूले कवितालाई बदनाम गरिरहेका छन् । कि त राम्रो कविता लेख्न प्रयास गर्नुपर्‍यो कि त कविता लेख्न छाड्नुपर्‍यो । मेरो कविता सकियो भन्दै कैयौँ कविले कविता लेख्न छाडेका पनि छन् । यसलाई स्वागत गर्नुपर्छ । त्यसो त राम्रो कविता लेख्न नसकेका थुप्रै भूतपूर्व कविहरू राम्रा आख्यानकार भएका छन् । तिनीहरूको नाम भनिरहनै परेन । कविताबाट लेखन प्रारम्भ गरेर असफल भएपछि आख्यानतिर लागेका थुप्रै छन् । कैयौँ वरिष्ठ पत्रकारहरू पनि छन् ।
कविताको शक्ति अथाह छ । कवि मनु मञ्जिलसँग एउटा कुरामा म सहमत छु । सकियो भनेको कविता कथा, निबन्ध र उपन्यासमा पनि गएर बसेको छ । मजबुत भाषामा लेखिएको उपन्यासलाई कवितात्मक भाषामा लेखिएको भनेर मन पराइन्छ । त्यसको चर्चा हुन्छ । यसको अर्थ कविता कहिल्यै मर्दैन भन्ने हो । बस् एउटै कुराको अभाव छ । राम्रो र प्रतिबद्ध कविको । मलाई एउटा कुरामा अति हाँसो लाग्छ । एक–दुईवटा कविता लेख्नेहरू पनि यहाँ महान् कवि भइटोपल्छन् । चर्चा गर्न पनि उनीहरू नै अगाडि हुन्छन् । कविता गोष्ठीमा उनीहरू नै कविता सुनाइरहेका हुन्छन् । अनि कसरी उठ्छ कविताको स्तर ? यहाँ गोपालप्रसाद रिमाल, भूपी शेरचन र वैरागी काइँलालाई सम्झनु अनिवार्य छ । उनीहरूले थोरै लेखे तर स्तरीय लेखे । के उनीहरूले थोरै लेख्नका लागि साधना नै गरेनन् ? अवश्य साधना गरेकै थिए होलान् । नत्र त्यति राम्रा कविता जन्मन सक्ने थिएनन् । एउटा राम्रो कविता लेख्न कैयौँ कविता च्यात्नुपर्ने हुन्छ । अहिलेको समस्या साधनाको हो । साधना भएन भने राम्रो कविता जन्मन सक्दैन ।
राम्रो कविता पढ्दा होस् या सुन्दा म भावुक हुन्छु । पास, धुमिलदेखि ल्याङ्स्टेन ह्युजेज र पाब्लो नेरुदासम्मका कविता पढ्दा म भावुक भएको छु । संग्रहबाहेक पनि पत्रपत्रिकामा छापिएका राम्रा कविताहरूको संकलन नै छ मसँग । विमल निभा, पूर्णविराम, मिनबहादुर विष्ट, श्यामल, विक्रम सुब्बा, गोविन्द वर्तमान, श्रवण मुकारुङ, हरि अधिकारी, विप्लव ढकालका कविताले मलाई आकर्षित गर्छ । समकालीन साथीहरूमा विनोदविक्रम केसी, स्वप्नील स्मृति, पदम गौतम, अभय श्रेष्ठका कविता पढ्दा मलाई पनि त्यस्तै कविता लेख्न मन लाग्छ । नेपाल भाषामा लेख्ने कविहरू पूर्ण वैद्य, सुरेशकिरण, नर्मदेश्वरका कविता पनि त्यत्तिकै उत्कृष्ट छन् । तर, कविता बुझ्ने पाठकको संख्या कम छ । कविताको बारेमा व्याख्या गर्ने जनशक्तिको पनि कमी छ । कविताको डाक्टरको रूपमा मैले अमोघ काफ्ले, अभय श्रेष्ठ र विनोदविक्रम केसीलाई लिएको छु । मेरो पहिलो कवितासंग्रह ‘वर्जित अवशेष’ निकाल्दा अमोघले धेरैपल्ट हेरिदिएको छ ।
नेपाली साहित्यमा फुलटाइमर कविको आवश्यकता छ । थोरै लेख, राम्रो लेख भन्ने कुरा राम्रो हो । तर, यो सतप्रतिशत सही छैन । गोपालप्रसाद रिमाल, भूपी शेरचन र वैरागी काइँलाले थोरै लेखे भन्दैमा त्यही पथमा हिँड्नुपर्छ भन्ने छैन । उनीहरू पो सफल भए । थोरै लेख्ने सबै सफल हुन्छन् भन्ने छैन । योचाहिँ पक्कै हो कि कविता सहज र सजिलै लेखिने विधा होइन । कविता चाहे थोरै लेख या बढी कडा साधना चाहिन्छ । अन्तर्राष्ट्रिय कविताको अवस्था हेर्दा एउटै कविले पचासौँ संग्रह पनि प्रकाशित गरेका छन् । यहाँचाहिँ केही राम्रा कविता लेख्यो भने अब पुग्छ भनेर बस्ने चलन छ । यो ठीक भएन । प्रतिबद्ध कविले एक–दुईवटा होइन, निकै संख्यामा राम्रो कविता लेख्नुपर्छ ।
कवितामा डुबेर सधैँ कविताको बारेमा सोच्ने कवि को छ त ? श्रवण मुकारुङ कुनै समय भन्थे– म फुलटाइमर कवि हुँ । उनी कत्तिको फुलटाइमर कवि हुन् उनै जान्दा हुन् । मेरो विचारमा त्यस्तो फुलटाइमर कवि नै छैनन् नेपालमा । फुलटाइमर हुन् भने पूर्णविरामचाहिँ हुन सक्छन् । कवितामा पूर्णकालीन रूपमा नलाग्नेले आफूलाई कवि भनेको पटक्कै सुहाउँदैन । यसरी कविताको स्तर माथि उठ्दैन । श्रवण मुकारुङले आफूलाई कवितामै समर्पित गरेका छन् । यस अर्थमा भने उनी फुलटाइमर हुन सक्छन् । नोबेल पुरस्कार विजेता कवि पाब्लो नेरुदाले कविता एक पेसा हो भन्ने कुरा बताएका छन् । वास्तवमा कविले कवितालाई पेसा बनाउन सक्नुपर्छ । अनि मात्र कविताको स्तर उठ्न सक्छ । कविता राम्रो हुनु र नबिक्नु अलग कुरा हुन् । बिक्नका लागि बजारमा प्रवेश गर्ने अनिवार्य कला जान्नुपर्छ । विज्ञानपनको नयाँ शैली हुनुपर्छ । असल साहित्यलाई विज्ञापनको जरुरत पर्दैन । बस् एउटा कर्मीले आफ्नो कर्मलाई सुन्दर बनाउन खोजेजस्तै कविले कवितालाई सुन्दर बनाउन खोज्नुपर्छ । कविताको बजार आफैँ विस्तार हुन्छ । बजार ठूलो कुरा होइन । त्योभन्दा ठूलो कविताको आयु हो । कविताको आयु निकै शताब्दी लामो हुन्छ । आख्यानजस्तो कविता चाँडै मर्ने विधा होइन । कविताको प्रभाव दीर्घकालीन हुन्छ ।
कविता लेखनको बारेमा चर्चा गर्दा विचारको कुरा आउँछ । कविता राजनीतिक हुन्छ कि हुँदैन ? कविता माओवादी हुन्छ कि हुँदैन ? वास्तवमा विचार नभएको कोही मानिस हुँदैन । त्यस्तै विचार नै नभएको कविता हुँदैन । हरेक कवितामा कुनै न कुनै विचार हुन्छ । कस्तो विचार छ भन्ने कुरा मात्रै महत्त्वपूर्ण हो । मेरो विचार मरिसक्यो भन्नेसँग मेरो पूर्ण असहमति छ । विचार मर्‍यो भन्नु पनि एउटा विचार हो । राजनीतिबाट कुनै पनि मानिस अलग हुन सक्दैन । देशमा मात्र होइन, परिवारमा पनि राजनीति हुन्छ । त्यसकारण हरेक कविता राजनीतिसँग सम्बन्धित हुन्छन् । केवल अरूको कविताको राजनीति मन नपरेर राजनीतिक कविता भनेर पन्छाउने गरिन्छ । त्यसरी कवितालाई राजनीतिक भनेर पन्छाउनेले पनि कविता लेख्दा राजनीति नै लेखेको हुन्छ । के प्रेम कविता राजनीतिबाट अलग हुन्छ ?

प्रतिक्रिया