बिरालोलाई दूध कुर्ने जिम्मा !

महानगरमा घामको उज्यालो हराएका बेवारिसे कोठाहरू नाम मात्रको पुरातात्त्विक अस्तित्वमा थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घरभित्र छिर्नेबित्तिकै मलाई त्यस्तो कुनै एउटा महागरिबको झुपडीमा छिरेको अनुभव भयो । महाकविका शब्दहरूको भर्‍याङ चढेर शिखरमा पुगेकाहरू सायदै त्यहाँ जाँदा हुन् । उनको शक्तिशाली छविलाई नजिकबाट बुझ्न यस घरमा आउने मानिसको मनमा हाम्रो राष्ट्रिय समाजप्रति एक प्रकारको ग्लानि उत्पन्न हुन्छ । महाकविले जीवनका महत्त्वपूर्ण वर्षहरू बिताएका यो चारतल्ले घरमा म प्रवेश गर्छु । तेस्रो तल्ला उक्लिएपछि दाहिने कुनामा एउटी म्याक्सी लगाएकी महिला बेपर्वाह पल्टिरहेकी छे, साना नानीहरू भर्‍याङबाट पिसाब फेरिरहेका छन् । घर पसेपछि गन्हाएर आगन्तुकले नाक थुन्नैपर्ने हुन्छ । त्यही तल्लाको बाँकी एउटा ध्वाँसो पोतिएको कोठामा पनि डबल बिछ्यौना छन् । र, दाहिनेपट्टिको ओछ्यानमा अर्की अधबैंसे लमतन्न पल्टेकी छे, उसका कुर्ता सुरुवाल सम्हालिएका छैनन् र तिनका चेपबाट उसका अंगहरू देखिएका छन् । यसपटकको लोकेसनमा महाकवि देवकोटाको यही जीर्ण घरको चियोचर्चाे, जहाँ महाकवि देवकोटा अध्ययन प्रतिष्ठानको कार्यालय पनि राखिएको छ ।
त्यस अमूल्य र नेपाली साहित्यको ऐतिहासिक ठाउँ ध्वस्त हुँदै गएको देखेर मन चिसो भयो । लाग्छ, यहाँ नेपालको विराट सिर्जनशील प्रतिभाको एउटा इतिहासको अवसान हुँदै छ । त्यहाँ देख्न पाइन्छ, कुनै पनि झुग्गी झुपडीमा समेत विरलै देखिने दृश्य । कुनै बिहान काखीमुनि हात लुकाएर कोठाको निस्तब्धता चिर्दै पढेको ‘पागल’को सिम्फोनीजस्तो अनुभूति अहिले सम्झिरहेको छु । यो देश रुसका लेनिन र स्टालिन, चीनका माओ आदिको प्रभावले पनि चल्यो । थोरो, न्युटन र आइन्स्टाइनहरूले हाँके संसारलाई । नेपोलियन, हिट्लर, बाल्जकको शक्तिमा विश्वको पांग्रा गुड्यो । ‘नेपाल’ एकीकरण भौतिक रूपमा पृथ्वीनारायणले गरे, भानुभक्तले ‘नेपाली रामायण’ र महाकवि देवकोटाले नेपाली झ्याउरे ‘मुनामदन’ दिएर भावनात्मक एकीकरण गरेका थिए । हो, यो घरमा उनै महाकविलाई सम्झेर म द्रवीभूत छु । नेपाललाई किंवदन्तीमा पाइने विचित्रको राँके भूतले चलाएको रहेछ ।
घरअगाडिकै गाह्रोमा झुन्डिएको बोर्डमा लेखिएको छ–‘महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र– कविकुञ्ज ।’ देवकोटाका सन्तान छेवैको सानदार घरमा बस्छन् । यस घरलाई भने भाडामा लगाइएको छ । घरको एउटा कोठालाई ‘देवकोटा पुस्तकालय’ नाम दिइएको छ । यस अनुसन्धान केन्द्रको कार्यालय पनि यही कोठामा छ । अरू ८ कोठामा काठमाण्डू बाहिरबाट आएका आठै परिवार भाडामा बस्छन् ।
अन्य देशमा साहित्यकारले छोडेर गएका भौतिक सम्पत्तिलाई राष्ट्रिय सांस्कृतिक सम्पदाको रूपमा विकास गरिएका दृष्टान्तहरू धेरै छन् । बेलायत जानेहरू सेक्सपियरको घर हेरी फर्कन्छन्, रुस जानेहरू टल्स्टोय र पुस्किनको । हामी गौरवशाली भनी राष्ट्रगानमा गाइएका नेपालीहरूका महाकविको घर भने कहालीलाग्दो वर्तमान बाँचिरहेको छ । थुइक्क कृतघ्न राज्य †
ििि
शिक्षण संस्थानहरूमा पुग्दा महाकवि देवकोटा यस देशमा अझै सुपरहिट छन् जस्तो लाग्छ (तर होइन, उनीभन्दा सुपर–डुपरहिट प्रचण्ड, बाबुराम, गच्छदार र शरत्सिंह भण्डारी नै छन् †) तर, उनैको कर्मथलो जीर्ण ? कतिसम्म भने, त्यहाँ कविकुञ्जका झ्यालका खापाहरू जाडो छल्न आगो बालिएका छन् । बाह्र आना जग्गामा कम्पाउन्डसहितको घर महाकविकी अविवाहित छोरी मीराको नाममा छ । देवकोटा मैतिदेवीको यस घरमा जन्मिएका थिएनन्, धोबीधाराको घरमा जन्मिएका थिए । अंशवण्डामा पाएको चार हजार पाँच सय रुपियाँमा दुई रोपनी जग्गा रहेको घर देवकोटाले किनेका थिए, १९९० तिर । घर किन्दा पैसा अपुग भएर महाकविले आठ सय रुपियाँ कर्जा पनि लिएका थिए ।
राणा शासनदेखिका इतिहासका कालखण्डमा आँसु बगाउने देवकोटा–निवासको अन्त:स्करणले रेखाङ्कन गरेको काठमान्डूको खाका धुमिल हुन लागेको प्रतीत हुन्छ । हाम्रो इतिहासमा यस्तै छ । नेपालको सभ्यताको इतिहासका कतिपय महत्त्वपूर्ण कुराहरू असभ्य शासन प्रणाली र गैरजिम्मेवार पारिवारिक संस्कारको अन्धगर्तमा लुकेका छन् ।
आफ्नो जीवनका अन्तिम १४ वर्ष महाकविले यसै घरमा बिताए । यस घरको दुर्दशाले ‘महाकवि’को पदवीलाई जिस्क्याइरहेको देखिन्छ । घरको संरक्षणमा प्रत्येक याम फेरिइरहने सरकारहरूको कहिल्यै आँखा परेन । महाकविले आफ्नो जीवनका केही गम्भीर र कालजयी किताबहरू इँट र माटोले निर्मित यसै घरमा रचना गरेका थिए । यो घरको अवलोकन गर्ने हो भने महाकविको साहित्य ‘सम्पन्न’ होइन, ‘अतिविपन्न’ रूपमा चित्रित हुन्छ । के यस घरले अर्को भुइँचालो धान्न सक्ला ?
०१५ सालमा देवकोटा कोलकाताबाट शल्यक्रिया गरेर फर्के । त्यसबेला उनी माथिल्लो तलामा उक्लिन सकेनन् र भुइँतलाकै छिँडीमा बस्न थाले । अनुसन्धान केन्द्रको नाममा छुट्याइएको कोठामा महाकविले लेखेका किताबहरू दुइटा फलामे आलमारीमा राखिएका छन् । त्यहीँ छ, देवकोटाले लेखपढ गर्ने गरेको टेबुल । उनका कृति र सामानहरूलाई हेलाँ गरिएको छ । किन भनेर सोधियो भने (एक समयका संस्कृतिमन्त्री डा. मोदनाथ प्रश्रित वा डा. मीनेन्द्र रिजाललाई सोधूँ कि, अहिलेका प्रधानमन्त्रीलाई सोधूँ, बराबर एकेडेमीको कुर्सीमा विराजमान हुने बैरागी काइँलालाई सोधूँ कि राजनीतिक धमिराले खोक्रो पारेको त्रिविविका उपकुलपतिलाई सोधूँ), उत्तर आउने छ, ‘बजेटै छैन ।’ वास्तवमा हाम्रा नीतिनिर्माताहरूमा यस्ता धरोहर बचाउने चेतनै छैन, विवेक नास्ति । जुन देशमा ‘ग्रीन डलर’ हात पार्ने आशामा पोखरा जान तयार पारिएको हवाइजहाज सोलुतिर उडाइन्छ, त्यो देशमा हुने यही हो ।
ििि
जीर्ण घरका पछाडिका बार्दलीमा नानीहरूको मुतको टाटा भएको थोत्रा सिरक र थाङ्ना सुकाइएका छन् । आगन्तुकलाई स्वागत गर्न प्रयास गर्ने भर्‍याङले अब ठाउँ छाड्लान् कि झैँ ढल्किएका छन् । सस्ता कोठा खोज्दै हिँड्ने दु:खी जीवहरूको भीड छ घरमा । देशका सबैभन्दा ख्यातिप्राप्त साहित्यकार, जसका छोरा पद्मप्रसाद देवकोटा त्रिविविमा अंग्रेजीका प्राध्यापक छन् र स्वयं पनि बाबुका नाममा गर्व गर्छन्, उनले पनि आफ्नो सबैभन्दा ऊर्जाशील समय गुजारेको घर हो यो । अहिले घरको छाना खस्ने अवस्थामा छ । महाकविका कृति घोकेर विद्यालय र विश्वविद्यालय पास गरेका स्वनामधन्य नेता, संरक्षणविद्हरू मौनव्रत धारण गरिरहेका छन् । मानाँै, यसको संरक्षण गरिनुहुन्न । मुलुकले मानौँ, दूध कुर्न बिरालोलाई जिम्मा दिएको छ ।
यो घर कुनै ‘भूत–बंगला’ प्रतीत हुन्छ । यस घरमा फुटपाथमा पसल थाप्ने, बालुवा चाल्ने र साइकल डोर्‍याएर तरकारी बेच्ने परिवारहरू बहालमा बस्छन् । तिनैमध्येकी एक हुन् बिना गुरुङ, जो अरूको घरमा भाँडा माझ्छिन् । झ्याल ढोकाहरू मक्किएका छन्, जुनैबेला ढल्लान् जस्तो । शौचालय र पानीको धारा बिग्रिएपछि जताततै दुर्गन्धित छ । ‘सबैले महत्त्वपूर्ण भन्ने यो घरमा बस्दा हामीलाई खुसी लाग्छ,’ बिना गुरुङ भन्छिन्, ‘तर, यस्तो कुरालाई किन सबैले बेवास्ता गरेका होलान्, सम्झँदा भने दिक्क लाग्छ ।’ बिनालाई दिक्क लागे पनि राज्यलाई दिक्क लाग्दैन भने के गर्न सकिन्छ ? आखिर यो राज्य बिना गुरुङ र उनीजस्ताले चाहेर बनेको होइन †
घरमा भेटिएका डेरावाल माम्मीहरू किंवा झुम्रे महिलाहरूलाई मैले देवकोटाका सन्तान ठानेको थिएँ । र, तिनले किन आफ्नै बाबुबाजेको नाक काटेका होलान्, किन स्याहारसम्म पनि नगरेका होलान् भनेर म सुरुमा खिन्न भएको थिएँ । उनीहरूसँग अनुरोध गरेर देवकोटाको निजी कोठा, त्यहाँ भएको खाट, टेबल, कुर्सी, दराज, पुस्तकको चाङ, निजी सामान र लुगाफाटा हेर्ने मन थियो । दोस्रो/तेस्रो तलामा पनि डेरावाल † ‘देवकोटा’को कार्यालयको दैलोमा गोठालो बसेको छ ताल्चा । सिरानतला दर्शकबिनाको जीर्ण सभाहलजस्तो देखिन्थ्यो । ‘तपाईंहरूजस्तै अरू पनि थुप्रो मान्छे यो घर हेर्न आउँछन्, ठूलो कोठा, भर्‍याङको फोटो खिचेर लैजान्छन्,’ बिना भन्छिन् ।
वर्षैपिच्छे कोठाभाडा बढ्ने गरी महिनाको १६ सय तिर्नुपर्छ बिनाले । अनि भुइँचालो आयो भने गाह्रो गल्र्याम्मै ढल्छ नि ? बिनाको उत्तर पनि सजिलै छ, ‘ढलोस्, मरियो भने गरिब नाथेको दु:खै भाग्छ ।’
अनि किन यहाँ बसिरहेको त ?
‘जहाँ गए नि यस्तै हो भाडा । कोठा ठूलो छ तर उडुसको चाहिँ खुब बिगबिगी छ ।’
सँगै डा. पद्म देवकोटा (महाकवि लक्ष्मीप्रसाद देवकोटाका माइला छोरा) को बंगला भव्यतापूर्वक उभिएको छ । बाबुको घरचाहिँ बूढी र रोगी कुखुराको पोथीजस्तो थोत्रो (आखिर मीराको जो नाममा छ) † जे होस्, महाकविको घर यसरी भाडामा लाएर उनका सन्तानले आफ्नै अपमान गरिरहेका छन् । महाकविका कान्छा छोरा दीपक देवकोटाचाहिँ नेपालको ‘आफ्नो’ सिरिखुरी बेचेर न्जुजिल्यान्ड पुगेका रहेछन् । आखिर ‘महाकवि’ परिवारको त होइन नि, मुलुकको हो †
महाकविको लेखाइजस्तै जीवन पनि कुनै सूत्र र वादमा बाँधिएन र उनको घर पनि जीवनजस्तै भयो, खण्डहर । घरलाई संग्रहालय बनाउनुपर्ने सरकारले हो तर राज्यले महाकविलाई बेवास्तैचाहिँ गरेको होइन । महाकविको मृत्युपछि उनको टाउकोको २२ हजार रुपियाँ ऋण तत्कालीन सरकारले तिरिदिएको थियो । पसल–पसलमा महाकविको नाममा खाता थियो, त्यो तिरिदिएर सरकारले महाकवि परिवारलाई गुण लगाएको छ । तर, के त्यस परिवारले आफ्नो महान् पिताको धरोहरको ख्याल गर्नु आवश्यक छैन ?
ििि
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका छ भाइ छोराहरूमध्ये साहिँला लक्ष्मीप्रसाद देवकोटाको जिन्दगीमा जन्मैदेखि कष्टहरूको प्रवेश भइरह्यो । बाँचुन्जेल उनका दुई अभिन्न साथी थिए– कविता र चुरोट । कतिसम्म भने, लेख्दालेख्दै उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काउँथे र त्यसैले सिँगान पुछ्थे । उसबेला डिल्लीबजारमा लप्टनको होटल थियो, जहाँ महाकवि खुब उधारो खान्थे । र, देवकोटाको नाममा अरूले पनि उधारो खान्थे ।
अहिले देवकोटाको घरमा उनैको नाममा स्थापित पुस्तकालयको हालत साह्रै खराब छ, उनैले राणाकालीन युगमा नेपालमा पुस्तकालय खोल्न खोज्दा झन्डै कैदी बन्नुुपर्‍यो । देशमा निजी क्षेत्रका देवकोटा पुस्तकालय पनि छन्, उनैले जग राखेको त्रिभुवन विश्वविद्यालय पनि छ, लक्ष्मीपूजामा देवकोटाको पनि पूजा हुन्छ तर तिनलाई देवकोटाको ज्यूँदो धरोहर भासिँदै छ, मासिँदै छ र फेरि कहिल्यै फेला नपर्ने गरी अलप गराइँदै छ भन्ने कुरा तिनले बुझेका छैनन् ।
कुनै बेला मानसिक आघातका सिकार भएका देवकोटालाई राँची लगियो । उनको उपचार गर्ने डाक्टर बर्क हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’ हो, सायद नभए उनले जीवन गुजारेको यो घर यति लथालिंग र टुहुरो हुनेथिएन ।
महापण्डित डा. राहुल सांकृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु ।’ यी महामानवको घरलाई संग्रहालय बनाए नेपाली साहित्यको ठूलो सम्मान हुने थियो, नेपालकै सम्मान हुने थियो, बनाउने र संरक्षण गर्नेकै सम्मान बढ्ने थियो । तर, यहाँ महाकविको शताब्दी वर्ष मनाउने नाममा राज्य बेतुकको खर्च गर्छ, राजनीतिक दलहरूको मिलेमतोमा मनमौजी पैसा भागवण्डा गर्छ । महाकविका छरिएका भावनाहरूको कतै खोजी हुँदैन । अहिले यस घरभित्र भेटिएका रक्सीका बोतल, मक्किएका झ्यालढोकाका काठ र चर्किएका भित्ताले हामीलाई गिज्याइरहेछन् । कवि श्यामलको भनाइमा महाकविको धरोहरको यस्तो अवस्था हुनु महाकविले मुलुकलाई गरेको योगदानप्रति राज्यले गरेको क्रूर ठट्टा हो, यसका लागि पाखण्डी शासकहरूलाई आगामी पुस्ताले क्षमा गर्नेछैन ।
भाडा तिरेरै भए पनि मजदुर र फुटपाथेहरू यस महान् प्रतिभाको घरमा बस्न पाएका छन् तर तिनलाई यसले के इज्जत मिल्छ ? तिनले यस घरको इज्जत गरे कि गरेनन् भनी हेर्नु जरुरी छैन । ती त स्वयं आन्तरिक शरणार्थीको नियति भोगिरहेका छन् । त्यसो त उनीहरूको ज्यान–सुरक्षा पनि कविकुञ्जले गर्न सक्दैन, भूकम्पको सामान्य झट्काले पनि घर ढल्न सक्छ । देवकोटाले भनेका छन्, ‘जरुर साथी म पागल, यस्तै छ मेरो हाल †’ उनको यस महान् कविताले उहिल्यै जे व्यंग्य गरेको थियो, अहिले पनि हामीलाई त्यही नै व्यंग्य गरिरहेको छ ।

प्रतिक्रिया