‘सतही र अखबारी लेखन हाबी भयो’

‘कम तर राम्रा’ लेख्ने साहित्यकार अविनाश श्रेष्ठ यतिबेला गरिमा साहित्यिक मासिकको प्रधान सम्पादक छन् । श्रेष्ठसँग सम्पादनकर्म र लेखनकर्मको विषयमा गरिएको लामो वार्ताको सम्पादित अंश :

हिजोआज के लेख्दै हुनुहुन्छ ?
खै, के लेख्नु र † गरिमा साहित्यिक मासिकका लागि सम्पादकीय लेख्दै छु, बस् यति मात्रै । अरू केही पनि लेखिरहेको छैन ।
भनेपछि यतिबेला ‘साहित्यकार अविनाश श्रेष्ठ’होइन ‘सम्पादक अविनाश श्रेष्ठ’ मात्रै ?
हो, यतिबेला मेरा सबै समय सम्पादन कर्ममा लगाइरहेको छु । कुनै पनि काम गरेपछि त्यसमै सबै समर्पित भएर लाग्ने बानी छ मेरो । अहिले गरिमालाई कसरी राम्रो बनाउने भन्नेबाहेक अरूतिर उतिसारो ध्यान नै दिएको छैन ।
अनि सधैँ सम्पादक भइरहँदा तपाईंलाई साहित्यकार ‘अविनाश श्रेष्ठ’को माया लाग्दैन ?
म गरिमाको सम्पादक निश्चित उद्देश्यका लागि आएको हुँ, त्यो पूरा भएपछि म लेखनतिर फर्किन्छु । गरिमामा आउनुअघि दुईवटा नाटक लेखेको थिएँ, त्यसलाई पुनर्लेखन गर्नुछ । अरू
धेरै लेख्नुछ ।
सम्पादक हुँदा बढी उपलब्धिमूलक भइरहेको छ कि, लेखक हुँदा बढी भएको थियो ?
सम्पादन एउटा प्राविधिक काम मात्रै हो तर आफ्नो लेखन भनेको सिर्जनशील काम हो । प्राविधिक काम मेरो स्थानमा जो सुकै आए पनि गर्न सक्छ तर मैले जे लेख्छु त्यो त अरू कसैले लेख्न सक्दैन । उपलब्धिको हिसाबले लेखक हुँदा नै फाइदा छ मेरा लागि ।
सम्पादक र लेखक – कुन सजिलो ?
सम्पादक हुन धेरै सजिलो हुन्छ । सम्पादक हुँदा त अरूको सिर्जना ल्याएर गोडमेल गर्न मात्रै हो । लेखकले ल्याएको सिर्जनालाई गोडमेल गर्ने, निश्चित एउटा ‘फरम्याट’मा ढाल्ने काम मात्रै हो तर सिर्जनात्मक काम त एकदमै कठिन काम हो ।
‘किन नछापेको’ भनेर गुनासो गर्ने, ‘छापी दिनै पर्छ’ भनेर खबरदारी गर्नेहरू कत्तिको आउँछन् ?
राम्रो लेख्नेको स्वत: छापिन्छ, केही भन्नै परेन । कमजोर लेख्नेहरूको गुनासोको अर्थ हुन्छ र ? कमजोर लेख्नेहरूले आफूलाई सुधार गर्नुपर्छ, गुनासो गरेर केही हुँदैन ।
कहिलेकाहीँ पाखुरा सुर्केर आउनेहरू पनि हुन्छन् होला नि ?
मूर्खहरू हरेक क्षेत्रमा हुन्छन् । राजनीति, व्यापारमा सबै क्षेत्रमा, साहित्यमा हुनु पनि स्वाभाविकै हो । तर, तपाईंले भनेजस्तो गरी पाखुरै सुर्केरचाहिँ आजसम्म कोही आएको छैन ।
साहित्यिक पत्रिकाको दु:ख के हो ?
दु:ख अनिगिन्ती छन् । खै कहाँबाट सुरु
गरौँ ? गनी साध्य छैन, लेखीसाध्य छैन मैले यस्तो प्रकारको दु:खमा बुद्धत्व प्राप्त गरिसकेको छु । दु:ख पाएर पनि मुक्ति पाइसकँे बुद्धत्व प्राप्त गरिसकँे, अब त्यो दु:खतिर नजाऊँ ।
सुखचाहिँ ?
पत्रिका प्रकाशन भइसकेपछि मान्छेहरूले आहा ! कति राम्रो पत्रिका निस्किएछ भन्छन् । त्यही हो सुख ।
तपाईंको टेबलमा बढी कुन विधाका रचनाहरू आइपुग्छ ?
गजल । गजलको त सुनामी नै आइरहेको छ । बाढी आए पनि त हुन्थ्यो सुनामी आइरहेको छ । यसले नेपाली साहित्यलाई कहाँ लगेर के गर्ने हो ? भन्न सकिन्न । हुन त गजल असाध्यै राम्रो विधा हो । तर, यति धेरै आउँदा राम्रो कविता लेख्न मान्छेलाई असर त गरिरहेको छैन ? चिन्ता लागिरहन्छ । त्यसपछि कविता आउँछन् । दैनिक १०/१५ वटा कविताहरू आइरहेका हुन्छन् । तेस्रोमा कथा हो । अहिले जो पनि कथा लेख्न थालेका छन् । अनि यात्रा संस्मरण आउँछन् ।
आइदिए हुन्थ्यो भन्ने लागेको तर नआएको विधाचाहिँ कुन हो ?
खोजमूलक र अनुसन्धानमूलक रचनाहरू असाध्यै कम आउँछ ।
साहित्यिक पत्रिकाको सम्पादन कर्ममा लामो समयदेखि हुनुहुन्छ, पहिलेका र अहिलेका लेखकहरूमा के फरक छ ?
धेरै फरक छ । जतिबेला म एकेडेमीमा सम्पादक थिएँ, त्यतिबेला एकसे एक नेपाली लेखकहरू ज्युँदा थिए । विजय मल्ल, धच गोतामे, गोविन्द गोठालेजस्ता लेखेकहरू हुनुहुन्थ्यो । उहाँहरूलाई मैले अनुरोध गरेपछि लेखेर दिनुहुन्थ्यो । रचना एकदमै परिस्कृत हुन्थ्यो । अहिलेका लेखकहरूको रचना हेर्दा कमजोर हुँदै गएको हो कि जस्तो लाग्छ । अहिले सतही र अखबारी लेखन हाबी भएको छ । अरूको अध्ययन गर्ने ‘हुती’ कम हुँदै गएको हो कि भन्ने लाग्छ । मनमा जे लाग्यो त्यही रत्न भइहाल्यो भनेर दगुर्दै छपाउन आउँछन् । अहिले ठूला लेखक र आउँदै गरेका भर्खरका फुच्चे लेखकलाई छपाउनमै हतार हुन्छ । अहिलेको सबैभन्दा ठूलो समस्या हो ।
लेखकलाई ‘लेखक’ बनाउनुमा एउटा सम्पादकको हिस्सेदारी र भूमिका कति हुन्छ ?
लेखकमा सहनशीलता हुनुपर्छ । यदि लेखकमा सहनशीलता भए एउटा सम्पादकले लेखकको प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्छ । तर, सम्पादकले खाली बोध गराउने मात्रै हो । भनिन्छ, वनको काँडालाई तिखारिरहनु पर्दैन, एउटा लेखकमा प्रतिभा छ भने त्यसलाई भनिरहनु पर्दैन । सम्पादकले खाली ‘तेरो यस्तो प्रतिभा छ, यसरी लेख्दा राम्रो हुन सक्छ’ भनेर सल्लाह दिने मात्रै हो । राम्रो सम्पादकले एउटा लेखकका सबल र दुर्बल पाटाहरू खुट्याएर सुझाब दिन्छ र दिनुपर्छ । कुनै सम्पादकचाहिँ जे लेखेर दिए पनि ‘गजक्क’ भएर बस्ने कुनै प्रतिक्रिया नदिने पनि हुन्छन् । तर, त्यस्तो सम्पादक असल सम्पादक हुन सक्दैन ।
लेखकहरू आफ्नो सिर्जनाको पारिश्रमिक लिन आउँछन्, पारिश्रमिक लिन आउने लेखकका अनुहार पढ्दा तिनका अनुहारमा कत्तिको अभाव देख्नुहुन्छ ?
अहिले त्यस्तो छैन । सिर्जनाको कमाइ खाने लेखकहरू हाम्रो पुस्तामा असाध्यै कम छन् । अघिल्लो पुस्ताका लेखकहरूका बारेमा यस्ता ‘किंवदन्ती’ सुनेको थिएँ, ‘लेखकहरू अभावै अभावमा बाँचेका छन् ।’ तर, अहिले कवि लेखकहरू बढी व्यावहारिक छन् । बाँच्नका लागि लेखन बाहेक अरु केही न केही व्यवसाय गरिरहेकै छन् । अहिलेकाले त यस्तो पारिश्रमिक अलि अगाडि गएर चिया खाएर सकिदिन्छन् । अहिलेका लेखकहरूको अनुहारमा कुनै अभाव देख्दिनँ बढो उज्योलो देखिन्छ ।
मूलत: यतिबेला नेपाली साहित्य दुई धारमा विभाजित छ, कुन धाराका लेख रचना बढी आइरहेका छन् ?
खोइ, बढी कुन धाराका आउँछन् ? यो त्यो भनेर छुट्याउने भन्दा पनि म राम्रो रचना छनोट गर्छु । धाराले होइन, स्तरले छुट्याएर छनोट हुन्छ । लाग्छ, सबै धाराका रचनाहरू उत्तिकै आइरहेका छन् र प्रकाशन पनि भइरहेको छ ।
(प्रसंग बदलौँ) तपाईं कवि हुनुहुन्छ, कविता तपाईं आवेगले लेख्नुहुन्छ कि विवेकले ?
हेर्नुहोस्, कविता विवेकले कम लेखिन्छ । विवेकको आधार त पक्कै चाहिन्छ तर कविताको मुख्य आधार मन नै हो । मनलाई म शिल्प भन्छु बुद्धिलाई कथ्य भन्छु । यी दुईवटाको सन्तुलित सम्मिश्रण त पक्कै हुनुपर्छ ।
यस्तो कवि जुन कवि म हुन पाएको हुन्थ्यो भन्ने लागिरहन्छ ?
त्यस्ता धेरै कवि हुनुहुन्छ, नाम लिएर
साध्यै छैन ।
यस्तो कविता जुन कविता मैले लेख्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ ?
त्यस्ता धेरै कविता छन् । गोपालप्रसाद रिमाल, भूपी शेरचनजस्ता कविहरूको कविता लोभलाग्दा छन् । यस्तै मेरा समकालीन साथीहरू श्यामल, विमल निभाका कविता धेरै राम्रा छन् । उहाँहरूको धेरै यस्तो कविता छ, जुन आहा † मैले लेख्न पाएको भए हुन्थ्यो जस्तो लागिरहन्छ ।
मान्छेहरू तर्क सकिएपछि कुर्तक गर्नलाई कविता लेख्छन् भनिन्छ नि ?
खै कसले भन्यो, यस्तो कुरा । कुतर्कको ठाउँ टाढाको कुरा हो, कवितामा तर्कको ठाउँ हँदैन । कविता स्वयम् सत्य हो । त्यहाँ तर्क र कुतर्कको स्थान नै हुँदैन । कुतर्क गर्न कविता लेख्छन् भन्ने को हो त्यो ? बरु उसको चाहिँ कुतर्क हो । उनलाई त ‘गोल्ड मेडल’ नै दिनु पर्ला ।
प्रस्तुति : राजेश राई

प्रतिक्रिया