विश्वको एक मानक कृति

सौर्य दैनिकका लागि दीपक सापकोटाबाट एउटा सर्वश्रेष्ठ पुस्तकबारे लेख्ने अनुरोध आएपछि मैले अल्वेयर कामुको ‘द आउटसाइडर’ को चुनाव किन गरेँ ? हुन त मैले दीपकजीलाई भनिसकेको थिएँ– कुनै एउटा सर्वश्रेष्ठ पुस्तक हुँदैन, सर्वश्रेष्ठमध्ये एक हुन सक्छ, त्यो पनि आफैँले पढेको । उहाँले सहमति दिनुभयो विश्वसाहित्यका कुनै एक चर्चित र सर्वश्रेष्ठ पुस्तकबारे लेख्ने । अनि, पहिले ‘द आउटसाइडर’ लेख्ने अठोट गरेँ ।
यो पुस्तक सदाकालका लागि मेरो प्रिय पुस्तकमध्ये एक हो । यो फ्रान्सेली साहित्यको सर्वोच्च पुस्तकमध्ये एक त हुँदै हो, यसको प्रभाव विश्व–साहित्यमा पनि परेको छ । त्यसभन्दा पनि अलग कुनै बखत काठमाडौंको बौद्धिक/साहित्यिक वृत्तमा खुब पढिएको र चर्चित भएको पुस्तक हो यो, आजका प्रत्येक लेखकले यो पढ्नुपर्ने पुस्तक हो भन्ने लाग्छ ।
‘द आउटसाइडर’ एक मध्यम वर्गीय युवक म्यारेसोलको कथा हो, जो एउटा क्लर्क हो, अल्जेरियाको कुनै ठाउँमा ऊ एउटा फ्ल्याटमा बस्छ, खाना पकाउँछ, प्रेम गर्छ र अफिस जान्छ । उसकी आमा एउटा वृद्धाश्रममा बस्छिन् । ऊ आमालाई भेट्न कहिले जान्छ, कहिले जाँदैन । आमालाई थालनीमा मन नपरे पनि पछि वृद्धाश्रमको बसाइ बानी पर्दछ ।
म्यारेसोल एउटा अर्को वा तटस्थतापूर्वक जीवन बाँच्ने सामान्य माध्यमवर्गीय पात्र हो । एक दुई घटना/दुर्घटनाका कारण उसको जीवनले ठूलो मोड लिन्छ । त्यसै भिडको असर उसमाथि नराम्ररी पर्दछ । मनोविज्ञान, चिन्तन, नायकको समग्र जीवन नै खलबलिन्छ । ऊ तटस्थ रहन खोज्दा–खोज्दै पनि तटस्थ रहन पाउँदैन ।
त्यसैक्रममा उसको हातबाट एक व्यक्तिको हत्या हुन्छ । उसलाई हत्यारा साबित गरेर फाँसीको सजाय दिइन्छ । फाँसी पर्खेर जेलमा बस्दा ऊ अनेक घटनाको स्मरण गर्दछ । पादरी उसलाई आध्यात्मिक रूपमा शान्त बनाउँदा सोध्छ, ‘पुत्र तिमीले यी भित्ताहरूमा केही अदृश्य कुराले रूपाकार ग्रहण गरिरहेको देख्यौ ?’ ऊ भन्छ, ‘अहँ, मैले केही देखिनँ बरु प्रेमिकाको आकार हेर्न खोजेँ, नदेखेपछि त्यो पनि छाडिदिएँ ।’ उसलाई पादरीका भक्तिभावका कुरा व्यर्थका र थकित पार्ने खालका लाग्दछन् । पादरी यो ‘नास्तिक’ लाई बुझाउन र अर्तीउपदेश दिन खोज्छ । तर, ऊ पादरीलाई झपारेर पठाइदिन्छ । ऊ एक शून्यताबीच मृत्यु पर्खेर बस्छ ।
कल्पना गर्छ, उसलाई फाँसी दिँदा धेरै मानिस चारैतिर रहून् र उसको मृत्युका बेला धेरै चर्को स्वरका साथ उसको मृत्युउत्सव मनाऊन् । उपन्यासको अन्त्य यही कल्पनाका साथ हुन्छ : अल वाज द्याट रिमेन्ड वाज टु होप द्याट अन द्याट डे अफ माई एक्जेक्युसन देयर सुड बी अ ह्युज क्राउड अफ स्पेक्टेटर्स एन्ड द्याट दे सुड ग्रिट मी विथ हाडल्स अफ एक्जेक्युसन ।’ आफ्नो एक्लोपन किन हुन्छ भनेर नायकले अन्तिम सोचेका शब्द यिनै हुन् अनि ‘द आउटसाइडर’ उपन्यासका अन्तिम शब्द पनि यिनै हुन् ।
यसबाट बुझ्न सकिन्छ नायक एल्कोपनको समस्याबाट निकै ग्रस्त छ । ऊ त्यससित जुझिरहेको छ । । एल्कोपन मात्र होइन, शून्यता र अझ सबभन्दा बढी अब्सर्ड अर्थात् विसंगतिको दुनियाँमा नायक बाँचिरहेको छ । सम्भवत: अर्थ लाग्यो भने त अरू पनि आउलान् तर लेखकले सजग रूपमा ‘फिलोसोफी अझ अब्सर्ड’का साथ जन्मेको दुनियाँको पहिलो स्पष्ट, विसंगत नाटक नै यही हो । प्रशिद्ध विद्वान् सिग्रेल कन्नोलीले ‘द आउटसाइडर’ को भूमिकामा लेखेका छन् एक ठाउँमा : ‘स्पर्जसित कामुका बारेमा सोधियो के तपाईंका मित्र कामु पनि अस्तित्ववादी हुन् ?’ उनको उत्तर थियो, ‘होइनन् ।’
कामु अलिक किर्केगार्डबाट प्रभावित देखिन्छन्, ‘द आउटसाइडर’ मा आध्यात्मिकताको जुन प्रश्न उठेको छ, त्यसबाट थाहा हुन्छ । सिरिल कोभिली भन्दछन्, ‘द फिलोसोफी अफ कामु इज अ फिलोसोफी अफ द अब्सर्ड, एन्ड फर हिम द अब्सर्ड स्पिङ्गस फ्रम द रिलेसन अफ म्यान टु द वल्र्ड ।’ कामुको दृष्टिमा मानिसको जगत्सितको सम्बन्धबाट विसंगतिको जन्म हुन्छ । ‘द आउटसाइडर’ यसै चिन्तनको औपन्यासिक प्रस्तुति हो । यो उपन्यास बोझिलो छैन, कलात्मक रम्यता यसमा पर्याप्त र उच्चकोटिको छ । जाने बोन्जामिन ‘द आउटसाइडरबारे भन्दछन्, ‘मैले ज्यादै कम यस्तो पुस्तक पढेको छु, जसले यति सानो ठाउँ ओगटेर यति धेरै भनेको छ ।’
संसारमा आफ्नै समाजमा न्यास्रिएको मानिसको चित्रण गरेको छ यसले । यसै उपन्यासमा उनले समाजको नाउँमा व्यर्थ सम्पत्तिप्रति पनि आक्रोश प्रकट गरेका छन् । अन्तिम अंशतिर भनिन्छ, ‘तिमीलाई फ्रान्सेली जनताको नाउँमा मिलोटिनमा हालिन्छ । नायक प्रश्न गर्छ, ‘फ्रान्सेली जनता भनेको को ?’ यहीँ कामुको अब्सर्ड चिन्तन देखा पर्दछ । यस उपन्यासले सान्त्वना वा सन्देशको साटो खल्बल्याउने र घोच्ने काम गर्दछ । मानवीय करुणा र व्यक्तिको परिस्थितिको एक अमर दस्तावेज हो, ‘आउटसाइडर ।’ यही मानवतावाद कामुको ठोस सकारात्मक पक्ष हो जुन अन्य नीतिपरक रचनाकारभन्दा पृथक छ । यसमा मानवीय द्वन्द्वको चित्रण एकदम सहज प्रकारले गरिएको छ । उपन्यासको पहिलो वाक्य हेरौँ, ‘मदर डाइड टुडे, अर मे बी यस्र्टडे आइ कान्ट बि स्योर ।’ हो यो अनस्योरिट, ऊहापोह, दोधार र द्वन्द्व उपन्यासभरि व्याप्त छ नायकको जीवनमा । आमाको मृत्यु र शोक कार्यक्रमदेखि थालिएको उपन्यास परिस्थितिवश, नायकलाई फसाउँदै, दाषी ठहर्‍याउँदै, उसको आफ्नै मृत्यु–दण्डको पर्खाइमा टुंगिन्छ ।
‘द आउटसाइटर’ हरेक दृष्टिले समकालीन चेतना र परिस्थितिहरूको एक सशक्त उपन्यास हो, जुन आधुनिक विश्व–साहित्यको एक ठोस र गहकिलो उपलब्धि बनेको छ । ‘द आउटसाइडर’ दुनियाँमा सदाकाल धेरै पढिने उपन्यास हो । अस्तित्ववादी विसंगतिवादको थालनी गर्ने उपन्यासमध्ये एक सर्वश्रेष्ठ उपन्यास हो । यो एक मानक कृति हो, जसले विश्व– विश्व साहित्यलाई नै प्रभावित तुल्याएको छ ।
कामुका अन्य उपन्यास ‘द प्लेग’ र ‘द फल’ पनि चर्चित उपन्यास हुन् । तर ‘द आउटसाइडर’ लाई धेरै कारणले उनको महत्त्वपूर्ण र प्रतिनिधि उपन्यास मानिएको छ । विसंगति–बोधको तीव्रता यसमा थालनीदेखि अन्त्यसम्म देख्न सकिन्छ । यसले के पनि साबित गरेको छ भने, ठूलो आकारले मात्र उपन्यास ठूलो बन्दैन । त्यस्तो भएको भए ‘द आउटसाइडर’ ले यति ठूलो कृति हुने गौरव पाउँदैनथ्यो । सन् १९४२ तिरको उपन्यास आज पनि आफ्नो प्रासंगिकतामा अलिकति पनि ओइलाएको छैन । यस्तै कृतिहरू कालजयी हुन्छन् भन्ने तथ्य पनि यस उपन्यासले प्रमाणित गरेको छ ।

प्रतिक्रिया