सहकारी बिमा अभियानमा


काठमाडौं, २६  जेठ । सहकारीले बिमा अभियानलाई तीव्रता दिन थालेका छन् । आफ्ना सदस्यको लगानी भने धेरैजसो सहकारीले बिमा गराइसकेका छन् । यसैबीच डिल्लीबजारस्थित शिक्षा सरोकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यको दुर्घटना बिमा गरेको छ ।
एलाइन्स इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा प्रतिसदस्य एक लाख रुपियाँ बराबरको बिमा गरिएको संस्थाले जनाएको छ । संस्थाले एक कार्यक्रम गरी प्रथम चरणमा ५३ जनालाई बिमा प्रमाणपत्र प्रदान गरेको हो ।
‘यो सुरुआत मात्र हो’ संस्थाका अध्यक्ष टिआर ढकालले भने, ‘अन्य सदस्यलाई पनि बिमा गराउँदै लैजाने छौं’,भावी दिनमा सदस्यलाई प्रोत्साहन दिने खालका विभिन्न कार्यक्रम ल्याइने ढकालले बताए । संस्थाको कार्यक्षेत्र नेपालभर रहेकाले मेचीदेखि महाकालीसम्मका शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्तिलाई सदस्यता बनाइने ढकालले बताए ।
स्थापनाको छोटो समयमै भए पनि संस्था उल्लेख्य प्रगति गर्न सफल भएको संस्थाका प्रबन्धक युवराज सिग्देलले बताए । संस्थामा चार सय ७३ सदस्य छन् । ६८ लाख सेयरपुँजी रहेको संस्थाले ५३ लाख निक्षेप संकलन गरेको सिग्देलले बताए । कास्की, मोरङ र तनहुँमा सदस्य बढी रहेकाले उनीहरुमा सहज र सरल तरिकाले सेवा दिने बाटो अवलम्बन गर्नेमा ढकालले जोड दिए ।
सदस्यलाई केन्द्रित गरी संस्थाले दुर्घटना बिमासहितको चार योजना ल्याएको समेत कार्यक्रममा जानकारी गराइएको थियो । ती योजनामा ४२ महिने निक्षेप योजना, शिक्षक, कर्मचारी, विद्यार्थी बिमा योजना  छन् । त्यस्तै शिक्षा सरोकार विशेष मुद्दती निक्षेप योजना र सहकारी सदस्य सुरक्षा योजना  छन् ।
शिक्षक, विद्यार्थी, अभिभावकलाई बचत गरी सीप आर्जनका लागि क्रियाशील रहन आर्थिक रुपले अभिप्रेरित गर्ने उद्देश्य संस्थाले लिएको छ । शिक्षा क्षेत्रमा सरोकार राख्ने सबै निकायको हित र पेसागत अभिवृद्धिका लागि सहकारिताको माध्यमबाट विभिन्न कार्यक्रम आयोजना गर्ने संस्थाको उद्देश्य रहेको जनाएको छ ।

प्रतिक्रिया