सत्ता त्याग्न असदलाई क्लिन्टनको चेतावनी

दमास्कस : सिरियामा सय जनाको मृत्यु हुनेगरी बुधबार हिंसा भड्किएपछि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले तत्काल सत्ता त्याग्न राष्ट्रपति बासर अल असदलाई चेतावनी दिएकी छन् । सिरियाली सेनाको कारबाहीमा करिब सय सर्वसाधारणको मृत्यु भएको सार्वजनिक भएपछि विदेशमन्त्री क्लिन्टनले यस्तो चेतावनी दिएकी हुन् ।
हामा सहरमा भएको हिंसामा मारिनेमध्ये २० बालबालिका र २० महिला रहेको समाचारमा जनाइएको छ । सिरियाली सैनिकले बस्तीलाई चारैतिरबाट घेरा हाली उनीहरूको हत्या गरेको अधिकारवादीको आरोप छ ।
हिंसापछि बुधबारै अमेरिकी विदेशमन्त्री क्लिन्टनले तत्काल सत्ता त्याग्न सिरियाली राष्ट्रपतिलाई चेतावनी दिँदै भनिन्, ‘सत्तामा बसेर नागरिक हत्या गर्ने अनुमति संसारमा कसैले पाएको छैन, सिरियामा मानवहत्याको क्रमले सीमा नाघेकाले राष्ट्रपति असद तत्काल सत्ताबाट हट्नै पर्छ ।’
सिरियाका प्रतिपक्षीले पनि हत्याको चर्को आलोचना गरेका छन् । सिरियाली प्रतिपक्षी परिषद्का प्रवक्ता मोहम्मद सरमिनीले भने आन्दोलन नभएको ठाउँमा पुगेर सरकारी सैनिकले निहत्था नागरिकको हत्या गरेको आरोप लगाएका छन् । तर, सिरियाको प्रतिरक्षा मन्त्रालयले भने सरकारले बदनाम गर्ने उद्देश्यले आतंकवादीले नागरिकको हत्या गरेको आरोप लगाएको छ । हत्यामा सरकारी सेनाको संलग्नता नरहेको उसले प्रस्ट पारेको छ । गत साता सिरियाको हौला क्षेत्रमा सरकारी सैनिकको कारबाहीमा सयभन्दा बढी नागरिकको मृत्यु भएको थियो ।
सिरियामा १४ महिनादेखि राष्ट्रपति असदको राजीनामा माग गर्दै आन्दोलन जारी छ । आन्दोलन लम्बिँदै जाँदा यसले हिंसात्मक रूप लिएपछि राष्ट्रसंघले शान्ति प्रस्तावसहित करिब तीन सय पर्यवेक्षक सिरिया पठाइसकेको छ । तैपनि, हिंसाका घटना रोकिएका छैनन् । राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानले अघि सारेको शान्ति प्रस्तावअन्तर्गत अप्रिल १२ मा युद्धविराम घोषणा गरिए पनि यसको कार्यान्वयन हुन सकेको छैन । युद्धविराम घोषणापछि करिब दुई हजार तीन सयको ज्यान गइसकेको बताइन्छ ।
अरब जगत् र पश्चिमा राष्ट्रले सिरियामा जारी हिंसा नियन्त्रणका लागि त्यहाँ सत्ता परिवर्तन हुनुपर्ने माग गर्दै आएका छन् । तर, राष्ट्रपति असदले सत्ता त्याग गर्न अस्वीकार गर्दै आएका छन् । उनले सिरियाभित्र विदेशीले हिंसा मच्चाएको आरोप लगाउँदै आएका छन् । (एएफपी)

प्रतिक्रिया