राजस्वको गाडी व्यापारीले जलाए

चितवन, २५  जेठ । राजस्व अनुसन्धान विभागको टोलीले स्थानीय कपडापसलमा छापा मारेको विरोधमा व्यापारीले प्रदर्शन गर्दा नारायणगढ बुधबार तनावग्रस्त भएको छ । आक्रोशित व्यापारीले राजस्व अनुसन्धानको गाडीमा आगो लगाए भने व्यापारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो ।
लक्ष्मीनारायण वस्त्रालयमा राजस्व चुहावटबारे अनुसन्धान गर्न राजस्वको टोली बिहान ८ बजे पुगेको थियो । तर, विनाजानकारी आएको भन्दै टोलीलाई नियन्त्रणमा लिएर स्थानीय व्यापारीले नाराबाजी सुरु गरे । उनीहरूले राजस्व विभागका कर्मचारी चढेर आएको बा.१झ ९१३५ नम्बरको गाडी सडकमै तेस्र्याएर आगजनी गरेका हुन् ।
आगजनी रोक्न प्रयास गर्दा व्यवसायीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बीस राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । साथै, केही राउन्ड रबरका गोली पनि चलाएको प्रदर्शनकारीको दाबी छ ।
व्यवसायीले नारायणगढस्थित प्रहरी अस्थायी बिटमा समेत आगजनी गरेका छन् । प्रहरी र व्यवसायीबीच भएको झडपमा भरतपुर–३ की ३३ वर्षीय कमला महतो र भरतपुर–६ का ५९ वर्षीय रामशरण तिवारी घाइते भएका छन् । दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
राजस्व कार्यालय पुल्चोकबाट निर्देशक भरत सुवेदीको नेतृत्वमा नौ कर्मचारी अनुसन्धानमा गएका थिए । उनीहरूसँगै १५ सशस्त् प्रहरी पनि थिए । टोलीले अनुसन्धानका लागि भन्दै वस्त्रालयको कागजपत्र नियन्त्रणमा लिएर पसल सिल गरेको थियो । त्यसलगत्तै उद्योग वाणिज्य संघसँग कुनै समन्वय नगरी पसलमा छापा मारेको भन्दै पसल बन्द गरेर व्यापारी विरोधमा उत्रिए । तीव्र विरोधपछि टोली पसलमा लगाएको सिल तोड्न बाध्य भयो । व्यापारीको आन्दोलनका कारण बिहान साढे १० बजेदेखि पूर्व–पश्चिम राजमार्गमा रोकिएको यातायात दिउँसो दुई बजेपछि मात्रै खुलेको थियो ।
पसल सिल गरिएकामा उद्योग वाणिज्य संघ चितवनले विरोध जनाएको छ । संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले राजस्व अनुसन्धानको टोलीले अपराधीलाई गर्ने व्यवहार व्यापारीलाई गरेकाले यस्तो घटना भएको प्रतिक्रिया दिए ।
यता, आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख प्रेम उपाध्यायले राजस्व चुहावटबारे अनुसन्धान गर्न राजस्व विभागले सिधै छापा मार्न पाउने कानुनी व्यवस्था रहेको बताएका छन् । राजस्व चुहावट भएको शंका लागे आवश्यकताअनुसार करदातासँग बुझ्ने तथा सिल गर्ने अधिकार विभागलाई हुने उनको भनाइ छ । चितवनका सिडिओ हिमनाथ दवाडीले राजस्व विभागको कार्यक्षेत्रअन्तर्गत अनुसन्धानका लागि छापा मार्दा व्यवसायीले विरोध गरेको भन्दै आपत्ति जनाए । ‘विभागले जिल्ला प्रशासनलाई पनि जानकारी दिइरहनु आवश्यक छैन,’ उनले भने ।

प्रतिक्रिया