३८ वर्षपछि एमालेमा वर्गीय गीत

काठमाडौ, २३ जेठ ।

‘वर्गीय समाजमा वर्गीय प्रेम मात्रै चोखो हुन्छ,
नेपाली भाषा बोल्नेलाई नेपाली भाषा बोल्नेले नै ठग्छ,
तामाङ भाषा बोल्नेलाई तामाङ भाषा बोल्नेले नै ठग्छ,
एउटै भाषा बोल्ने भनी गरिने प्रेम व्यवहारमा झुठो हुन्छ,’

३८ वर्षअघि तत्कालीन मालेको संगठन विस्तारमा गाइने गरिएको यो गीत मंगलबार एमाले कार्यकर्ता भेलामा पनि गुन्जियो । संघीयतामा एकल जातीय पहिचानको विषयमा आदिवासी जनजाति नेताहरूले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाइरहेका बेला उनै पुराना ‘जनगायक’ माधव प्रधान राष्ट्रिय सभागृहमा गीत गाउन पुगेका थिए । प्रधानले कम्युनिस्ट पार्टी निर्माणका लागि आफू सक्रिय हुँदा ३८ वर्षअघि गाएको यो गीत वर्गीय जागरणका लागि गाउनुपर्ने बेला आएको बताए ।
शुक्रबार खुलामञ्चमा हुने दलहरूको संयुक्त आमसभाको तयारीस्वरुप एमालेका जनवर्गीय संगठनको मोर्चाले मंगलबार कार्यकर्ता भेलाको आयोजना गरेको थियो । एकल जातीय पहिचानको पक्षमा पार्टी नेतृत्व नउभिएको भन्दै असन्तुष्ट रहेका पार्टीका उपाध्यक्ष अशोक राई र पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ कार्यक्रममा अनुपस्थित थिए । कार्यक्रममा उपस्थित अन्य शीर्ष र दोस्रो तहका जनजाति र मधेसी नेताले भने प्रधानलाई सो गीतमा साथ दिएका थिए ।
पार्टी छाड्ने चर्चा चलेकी पोलिटब्युरो सदस्य थममाया थापा कार्यक्रमको सभापति थिइन् भने जनजाति र मधेसी पृष्ठभूमिका श्रीमाया थकाली, कृष्णगोपाल श्रेष्ठ, रघुवीर महासेठको पनि उपस्थिति थियो । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले देश बहुभाषिक, बहुधार्मिक तथा बहुजातीय रहेजस्तै एमाले त्यस्तै सबै जाति, भाषा र धर्मको बहुपहिचानका पक्षमा रहेको बताएका थिए ।
‘एमाले सबै भाषा, जाति, धर्म तथा सम्प्रदायको साझा पहिचान चाहन्छ, त्यो नेपालको पहिचान हो,’  अध्यक्ष खनालले भने, ‘केही कमजोरी भएका होलान्, यहीँ बसेर त्यसलाई सच्याआँ र पार्टीलाई एकढिक्का बनाएर अघि बढौँं ।’
संघीयताबारे समयमै निर्णय नगरेर कमजोरी भए पनि राष्ट्रिय एकता र राष्ट्रिय पहिचानका लागि पार्टीले लिएको अडान सही भएको वरिष्ठ नेता नेपालले बताए । ‘६२ साल साउनमा भएको केन्द्रीय कमिटी बैठकले एमालेले संघीय लोकतान्त्रिक गाणतन्त्रमा जाने निर्णय गरेको हो, कसैले हामीलाई संघीयताविरोधी भन्दैमा पत्याउनुपर्दैन,’ उनले भने, ‘पहिचानको आधार जातीय मात्रै होइन, अरु पाँच आधारबारे पनि पार्टीले निर्णय गरेको थियो, पार्टीकै निर्णयका आधारमा अघि बढौँं, अर्काे पार्टीलाई हस्ताक्षर नबुझाऔँ, पार्टीमा बसेर निर्णय गरौँ ।’
उनले संघीयताको आधारका विषयमा पहिल्यै निर्णय भए पनि प्रदेशको संख्या र सिमानाका विषयमा समयमै निर्णय नगरेर कमजोरी भएको स्वीकार गर्दै पार्टीले त्यो सच्याउने बताए ।
नेता केपी शर्मा ओलीले असन्तुष्ट जनजाति नेताप्रति लक्ष्य गर्दै एमालेजस्तो समावेशी र लोकतान्त्रिक अरू पार्टी देखाउन चुनौती दिए । ‘आठाँैं महाधिवेशनबाट निर्वाचित नेतृत्व हेर्नुस्, कति समावेशी छ, कसैलाई टीका लगाएर ल्याइएको होइन, यहाँ मञ्चमा बसेका कुनै पनि नेता टीका लगाएर ल्याइएका छैनन्,’ नेता ओलीले भने, ‘अध्यक्षले टीका लगाइदिए केन्द्रीय सदस्य र पदाधिकारी हुने, टीका पुछिदिए रिटायर्ड हुने परिपाटी भएका पार्टीले चलाएका भ्रममा नपर्नुस् ।’

‘चुनाव घोषणा सत्ताकब्जाको अन्तिम प्रयास’

एमाले अध्यक्ष खनालले ‘चुनावी नाटक’मार्फत एमाओवादीले सत्ताकब्जाको सपना देखेको भन्दै त्यसमा तुषारापात हुने बताएका छन् । उनले चुनावी नाटकमार्फत दुई तिहाइको सपना देखेर एमाओवादीले संविधानसभाको हत्या गरेको आरोप लगाए । एमाओवादीले बन्दुकबाट प्राप्त गर्न नसकेको परिणाम कटवाल प्रकरण, माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला ‘जनविद्रोह’ र अन्तिममा संविधानसभाको हत्या गरेर प्राप्त गर्न खोजेको भन्दै उनले त्यसलाई पूरा हुन नदिने बताए ।
वरिष्ठ नेता नेपालले एमाओवादीको छाप लागेको संविधान बन्न नसक्ने भएपछि २ जेठमा भएको सहमतिविरुद्ध उसले जातीय दंगा फैलाएर संविधानसभा सिध्याउने षड्यन्त्र गरेको आरोप लगाए । ‘देशमा जातीय दंगा फैलाउने, जनजातिलाई राज्यको सपना देखाएर सभासद्हरूको हस्ताक्षर गर्ने र पार्टीहरूलाई फुटाउने अनि सरकारमा बसेर आफ्नो छाप लागेको संविधान बनाउने सपना देखेर एमाओवादीले संविधानसभाको हत्या गरेको हो,’ उनले भने ।
नेता ओलीले एमाओवादीले कुर्सीकै लागि १७ हजारको ज्यान लिएको, हजारौँंलाई टुहुरा बनाएको, अर्बाँैंको भौतिक संरचना ध्यस्त गरेको र अन्तिममा संविधानसभाको हत्या गरेको बताए । राजनीतिमार्फत सबै संरचना ध्वस्त पार्न नसकेपछि एमाओवादीले सामाजिक सद्भाव र एकता ध्वस्त पारेर भए पनि घुम्ने कुर्सी प्राप्त गर्न खोजेको आरोप उनले लगाए । ‘त्यही टलक्क परेको घुम्ने कुर्सीका लागि १७ हजारको ज्यान लिए, हजाराँैंलाई टुहुरा र विधवा बनाए, अर्बाैंको सम्पत्ति ध्वस्त पारे, अनि त्यसको नाम जनयुद्ध राखे,’ उनले भने, ‘त्यही जनयुद्धको प्रेत कहिले कटवाल काण्डमा मुर्छित भयो र कहिले संविधानसभाको हत्यामा बौरियो, राजनीतिबाट केही नलागेपछि समाजका संरचना र लुब्रिकेन्टस ध्वस्त गर्न र कुर्सी प्राप्त गर्न उनीहरू लागेका छन् ।’

प्रतिक्रिया