डाँका गिरोहका नाइके पक्राउ

बाग्लुङ, २४ जेठ । दुर्गम गाउँमा पेसेवर डाँकाको समूहले लुटपाट मच्चाएपछि दुर्गम ग्वालीचौरमा जनजीवन आतंकित भएको छ ।
ग्वालीचौरमा पेसवर डाँका र चोरी गर्ने समूहले जनजीवन आतंकित पारेको बाग्लुङ प्रहरीले स्विकारेको छ । १५ वैशाखमा ग्वालीचौर–८ का गणेश घिमिरेको घरमा गरगहना र नगदसहित सात लाख ५० हजार रुपियाँ बराबरको धनमाल चोरी गर्ने समूहका नाइके समातिएपछि गाउँमा पेसवर डाँकाको समूह रहेको खुलासा भएको हो ।
लुटपाटमा संलग्न ग्वालीचौर–७ का सन्तोष राकशकोटी पक्राउ परेका छन् । उनी समूहको नाइके भएको प्रहरीले बताएको छ । अनुसन्धानमा राकशकोटीसँगै पाँचजनाको पेसेवर डाँका चोरी गर्ने समूह भेटिएको इन्स्पेक्टर शैलेन्द्र
खड्काले बताए ।
पीडित घिमिरेले दिएको उजुरीका आधारमा राकशकोटीलाई पक्राउ गरिएको हो । लुटपाटमा संलग्न अरू चारजना फरार छन् । ‘योजना बनाएर नै लुटेका हौँ,’ राकशकोटीले भने, ‘राति २ बजे पूजाको काम छ भनेर ढोका खोल्न लगाएर घरभित्र छिरेपछि पेस्तोल र खुकुरी देखाएर लुटेका हौँ ।’ उनले बाबु, जीवन पाइजा, सनु र किसान मिलेर सुनका गहना र नगद लुटेको बताए ।
इन्स्पेक्टर बद्री श्रेष्ठको नेतृत्वमा रहेको अनुसन्धान टोलीले राकशकोटीलाई नियन्त्रणमा लिएको हो । उनले बयानमा भनेका छन्, ‘भागमा ४९ हजार नगद लिएँ र साथीहरू गरगहना लिएर बुटवल गए ।’
प्रहरीले राकशकोटीलाई हातहतियार र डाँका चोरीका छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । अदालतले थप अनुसन्धानका लागि राकशकोटीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । चोरीको घटनासँगै गाउँघरमा समेत पेसेवर डाँका समूह फेला परेपछि डिएसपी कृष्णप्रसाद सिवाकोटीले भने, ‘गाउँमा पनि विशेष अभियान सञ्चालन गरेर अपराध गतिविधिलाई नियन्त्रण गर्ने योजना बनाएका छौँ ।’

प्रतिक्रिया