‘लभ इज लाइफ’ सुरु

काठमाडौं : नब्बे प्रतिशत छायांकन सकिएर रोकिएको चलचित्र लभ इज लाइफको छायांकन बिहीबारदेखि फेरि सुरु भएको छ । एक सातादेखि अवरुद्ध रहेको चलचित्रको छायांकन पैसा अभाव वा कलाकारका कारण रोकिएको होइन । निर्माता श्रीकान्त शर्माका पिता टंकप्रसाद गौतमको निधन भएपछि केही दिनलाई छायांकन रोकिए पनि बिहीबारदेखि फेरि सुरु गरिएको कार्यकारी निर्माता शंकर अधिकारी घायलले बताए । मायालाई हरेक दृष्टिकोणबाट फरकफरक किसिमले व्याख्या गर्न सकिन्छ भन्ने विषयवस्तु बोकेको यो चलचित्र आरपी शर्माले निर्देशन गरिरहेका छन् । आयुष रिजाल, मोनिका दाहाल, सुरवीर पण्डित, मोहन श्रेष्ठका साथमा नवनायिका स्मृति थपलियाको अभिनय रहेको चलचित्रमा जनक गुरुङको द्वन्द्व तथा राज सुवेदीको छायांकन छ । (सौस)

प्रतिक्रिया