सम्माननीय प्रधानमन्त्रीलाई खुलापत्र

सम्माननीय प्रधानमन्त्रीज्यू † मलाई आशा छ तपाईंलाई आराम होला । मलाई अहिले बिल्कुलै आराम छैन । मेरो देश बिरामी भएकाले मलाई खपिनसक्नु पीडा भएको छ । संविधानसभा विघटन गरी सर्वशक्तिमान् बन्नुभएको तपाईंलाई आराम भए मलाई थोरै भए पनि छटपटी कम हुने आशा लिएको छु ।
एनेकपा (माओवादी)ले सत्ता आरोहणको भर्‍याङका रूपमा चर्काएको जातीयताको नाराले माओवादीलाई सत्ताको बागडोर सम्हाल्ने ठाउँसम्म त पुर्‍यायो तर देशलाई भने अन्धकारमय, असफल र जातीय द्वन्द्वको अनन्तकालसम्म लम्बिने दुष्चक्रमा फसाएको दृष्टान्त छरपस्ट भइसकेको छ । जातीय नारा उराल्नेहरूको राजनीतिक आडमा भविष्यमा निश्चित समूह, गुट र राजनीतिक दलका व्यक्तिहरू राष्ट्रिय राजनीतिको केन्द्रमा समेत पुग्लान् तर मुलुक भने भावनात्मक र आस्थाका हिसाबले चिराचिरा मात्र पर्ने छैन आफ्नो अस्तित्व रक्षाका लागि विदेशीको शरणमा जाने परिस्थितिसमेत सिर्जना भइसकेको छ । त्यसबेला मुलुक ‘प्रभु’को शरणमा गइसकेको हुनेछ । प्रभुका उपासकहरूको अभीष्ट पूरा भइसकेको हुनेछ । तपाईंले आगामी ७ मंसिरमा पुन: गराउने सोच बनाउनुभएको संविधानसभाको चुनावमा जातीयताको रणनीतिबाट माओवादीको पोल्टामा प्रचण्ड बहुमतका साथ प्राप्त गर्ने सोच बनाउनुभएको देखियो । आमनेपालीलाई थाङ्नामा सुताउने तपाईंको रणनीति गज्जबको लाग्यो ।
प्रधानमन्त्रीज्यू † अहिले राजनीतिक दलका शीषर नेताहरूले आफ्ना अन्य नेताहरूमाथि पकड गुमाउँदै गएका छन् । विभिन्न जातजाति र सम्प्रदायको आन्दोलनले मुलुक भयक्रान्त भएको छ । साम्प्रदायिकताको स्वरूप धारण गरिसकेको यस सोचाइले रक्तबीजको रूप धारण गर्न अब धेरै दिन बाँकी छैन । यस्तो अवस्थामा राजनीतिकर्मीहरू आज चरम सत्ता लिप्सा र अकर्मण्यताको पर्याय बनेको जस्तो मलाई लागिरहेको छ । तपाईं अकर्मण्य भए/नभएको त मलाई पत्तो छैन तर राज्य अकर्मण्य व्यक्तिहरूको पेवा भएको छ । आज तपाईंलाई लगाम लगाउने संसद्को अनुपस्थितिमा तपाईंले कस्तो अमनचैन महसुस गर्दै हुनुहुन्छ भन्ने मैले सहजै अनुमान लगाउन सक्छु । तपाईंलाई सर्वसत्तावादी भनेर मानिसहरूले दोष लगाउलान्/नलगाउलान् त्यो त मलाई थाहा छैन तर आमनेपाली भने यतिबेला निरीह र शक्तिविहीन बन्दै छन् । आज मधेस पाक्दै छ, पहाड जल्दै छ, हिमाल पग्लँदै छ । जातीयताको जघन्य प्रतिशोधले मुलुक भयक्रान्त छ । कानुनी राज्यको खुलेआम धज्जी उडाइँदै छ । आममानिस आवाजविहीन भएका छन् । ‘जसको शक्ति उसको भक्ति’को नारा चरितार्थ भएको छ । जनताको सूचना पाउने हकको सम्मान हुन छाडिसकेको स्पष्ट देखिसकिएको छ । प्रेस जगत्प्रतिको सम्मानका खातिर तपाईंको खोक्रो ओठेभक्ति रत्नपार्कमा औषधि बेच्न कराउने व्यक्तिको भन्दा पृथक देखिनँ मैले । आफ्नै पार्टीका नेताबीच हुने जुँगाको लडाइँलाई आफूसापेक्ष बनाउन देशलाई दाउमा लगाउने प्रपञ्च हुँदै छ । ठूला पार्टीहरूको अदूरदर्शिताका साथै तपाईंको पार्टीको सत्तामा जसरी पनि टिकिराख्ने प्रवृत्तिका कारण मुलुक भयाबह द्वन्द्वमा फस्दै गएको प्रतीत हँदै छ । विगतमा जसले जहाँ जे मागे पनि सम्झौता गर्न पछि नपर्ने सरकारी अदूरदर्शिताका कारण सबै तह र तप्काहरू आज सल्बलाएका छन् ।
अब हुने भनिएको चुनावको परिणमले मुलुक झन् खण्डित हुने भय मलाई लागेको छ । मुलुक २२/२४ से अवस्थामा नपुग्ने कुनै आधार मैले देखेको छैन । हुतु र तुत्सीको जातीय चक्रब्युहमा फसेको अफ्रिकन मुलुक रुवान्डामा सन् १९९४ मा आठ लाखभन्दा बढी सर्वसाधारण मारिएको घटना हामीले अब आफ्नै घर आँगनमा देख्ने सौभाग्य जुराई दिनुभएकामा हामी सर्वसाधारण मानिस तपाईंप्रति कृतार्थ हुनै पर्छ ।
तपाईंलाई थाहै होला, आज मुलुकमा सौहाद्र्रपूर्वक बसेका विभिन्न जातजातिको जातीय सद्भाव खल्बलिएको छ । त्यसलाई भत्काइएको छ । अब लाग्दै छ बाहुन, क्षेत्री, दलित, जनजाति, आदिवासी, दशनामी, पहाडे, मधिसे, भोटे, चेपाङ, राउटे सबै एक आपसका शत्रु हुन्, जसले जहाँ पाए पनि अर्को पक्षलाई सिध्याउने खेलको भयाभय दुष्चक्रमा मुलुक फस्दै छ । गणतन्त्रलाई संस्थागत गर्ने प्रमुख दायित्व भएको यस संक्रमणकालीन समयमा जे नहुनुपर्ने थियो सोही भइदियो । विघटित संविधानसभामा जनताबाट जितेकाको विचारलाई चुनावका नाममा गुन्डागर्दीबाट आएकाहरूको बुटले कुल्चियो । संविधानसभाले गर्ने निर्णय चार–पाँचजानाले बन्द कोठामा गरेर संविधानसभाभन्दा आफू ठूलो भएको प्रमाणित गर्ने कसरत गरियो र जनप्रतिनिधिहरूको सर्वोच्च थलोलाई बन्दी बनाइयो । अन्तत्वगत्वा बन्धक बनाइएको संविधानसभालाई तुहाउने काम भयो ।
हेर्नुहोस् न, सरकार चलाउनेले नै सत्ता कब्जाको सपना देखेको यो मेरा लागि नौलो घटना हो । तपाईं राजनीतिक दलसँग एकाथरी सम्झौता गर्दै हिँड्नुहुन्छ, अर्कातिर आफ्नै श्रीमतीलाई त्यसको विरोध गर्न लगाउनुहुन्छ र आफ्नै निर्णयको खिल्ली उडाउनुहुन्छ । मुलुक हार्दा आफू जित्ने आकांक्षा पालेर बसेकाहरूलाई तपाईंको यो हर्कतले मलजल पुर्‍याएन त ? अब त देख्न र सुन्न बाँकी नै के पो रह्यो र यो मुलुकमा ?
प्रधानमन्त्रीज्यू † नेपाल आमाका हजारौँ कर्मठ सन्ततिलाई वषौँसम्म फोस्रो आश्वासन दिएर कैदीजस्तै क्यान्टोनमेन्टमा थुनियो । मानौँ उनीहरू गाँजरको बाँसुरी हुन् । मन लागे बजायो, मन नलागे कोपर्‍यो । प्रचण्ड र तपाईंजस्ता खेलाडीलाई अहिले उनीहरूको आवश्यकता टरेको छ । वैद्य र बादललाई अझै उनीहरूको साथ चाहिएको छ, सत्ता कब्जा नगरुन्जेल । कांग्रेस, एमाले र मधेसीलाई जुधाउनु छ किनभने उनीहरू आफ्ना समर्थक होइनन् । यसरी मुलुकलाई बर्बादीको शृंखलातर्फ उन्मुख गराइयो । आज मुलुक खराब मानिसहरूको ‘साहसिक निर्णय गर्ने’, ‘च्याँखे थाप्ने’ र ‘दाउ लगाउने’ जुवाको खाल भएको छ । संविधानसभा भंग गर्ने तपाईंको आँटको मैले यहाँ प्रशंसा नगरी बस्न सक्दिनँ ।
तपार्इंलाई थाहै होला, मुलुकको अर्थतन्त्र विदेशमा भारी बाक्ने सर्वसाधारण नेपालीले धानी दिएका छन् । अब उनीहरूले अकर्मण्य सरकारलाई अझै लामो समयसम्म पाल्नुपर्ने बोझ थपिने कुरा प्रस्ट छ । कुकुर र प्रहरीलाई फरक नदेख्ने गृहमन्त्रीको भार अझै थपिएको छ । आफ्ना आसेपासे, चम्चे, भरौटे र हतियारलाई राज्यको ढुकुटी पोस्ने अनि ‘लुटको धन फुपूको श्राद्घ’ गराउन आमनेपाली दाजुभाइले अझ लामो समयसम्म आफ्नो गाँस काटेर कर तिरिराख्नुपर्ने अवस्था सिर्जना भएको छ । अब नेपाल आमाका ६ सय एकजना नयाँ ज्वाइँहरूलाई कम्तीमा चार वर्षका लागि फेरि पाउनेछ यो मुलुकले । नबन्ने संविधानको नयाँ नाटक मञ्चन गर्न अब फेरि नयाँ अनुहारहरू देखिनेछन् । यसरी मुलुक कलुसित मानसिकता बोकेका केही व्यक्तिहरूको चक्रब्युहमा फसेको भान भइरहेको छ मलाई । मुलुक क्षत–विक्षत भएको छ, कुरूप भएको छ, निरीह भएको छ । आज आमनेपालीको प्यारो देश खराब मानिसहरूको कोपभाजनमा परेको छ । यसलाई पूर्णरूपमा वर्वाद बनाइएको छ । कसैको पहिचानको नाममा अरूको पहिचानको खिल्ली उडाउने काम भइराखेको छ । सायद तपाईंलाई मेरो कुराले पट्यार लागिसक्यो होला अब धेरै नलेखूँ । बाहिर नेपाल बन्द खुलेको भए मेरा बालाई अस्पताल पुर्‍याउन, बारीको तरकारी टिप्न र बाबुहरूलाई स्कुल पठाउन मलाई पनि अबेर भइसक्यो । हवस् त अहिलेलाई यत्ति नै । बाँकी अर्को पत्रमा ।
(हालसम्म नटुक्रिएको मुलुकको एउटा सानो जिल्ला धादिङबाट)

प्रतिक्रिया