‘माओवादीले सरकारको नेतृत्व गर्न सक्दैन’

उपेन्द्र यादव बृहत् मधेसी मोर्चाका संयोजक र मधेसी जनअधिकर फोरम नेपालका अध्यक्ष हुन् । यो मोर्चाले विभिन्न राजनीतिक दलमा रहेका मधेसवादी सभासद्लाई समेटेर सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजीनामा दिएर सहमतिको नयाँ सरकार निर्माण हुनुपर्ने धारणा उनको छ । संविधान संशोधन गरी दलहरूबीच उच्चस्तरीय सहमति भए मात्र चुनाव हुन सक्ने र अहिलेको स्थितिमा चुनाव हुनै नसक्ने ठोकुवा यादवले गरेका छन् । यही सेरोफेरोमा सौर्यका प्रतिनिधि भुवन शर्माले गरेको कुराकानी :

तपाईंहरूले सरकारको विरोधमा आन्दोलन किन सुरु गर्नुभएको हो ?
अहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हटाइएन भने मुलुकले निकास पाउँदैन । त्यसकारण बाबुराम भट्टराईलाई हटाउनका लागि हामीले संघर्ष सुरु गरेका छौँ । भट्टराईले देश र जनतालाई झुक्याएर अन्योल र अनिश्चिततार्फ मुलुकलाई धकेल्ने काम गर्नुभएको छ । संविधानसभाबाट न संविधान बन्यो न संविधानसभा नै रह्यो । उहाँले असंवैधानिक निर्णय गर्नुभयो । यसरी मुलुकलाई अनिश्चितातिर लैजानुमा भट्टराई नेतृत्वको सरकार र उनका सहयात्री दलहरू जिम्मेवार छन् । अर्को कुरा भट्टराई अहिले कार्यकारी प्रधानमन्त्री होइनन् । उनी कार्यकारी अधिकार नभएका कामचलाउ प्रधानमन्त्री मात्र हुन् । अहिलेको संवदेनशील घडीमा राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । त्यसैले भट्टराईले प्रधानमन्त्री पद छाड्नुपर्छ ।
भट्टराईलाई हटाउने आन्दोलनमा तपाईंहरू कांग्रेस र एमालेसँग पनि मिल्नुहुन्छ होइन ?
कांग्रेस, एमाले र हामी आ–आफ्नो बाटामा छौँ । उनीहरूसँग हाम्रो मोर्चाबन्दी भएको छैन । आन्दोलनमा जाँदा मिल्नेसँग मिलेर जाने हो तर अहिले देशमा भएको दुर्घटनाको जिम्मेवारी कांग्रेस र एमालेले पनि लिनुपर्छ । माओवादी, कांग्रेस र एमाले तीनवटा पार्टी मिलेर संविधान नबनाउने र संविधानसभा असफल बनाउने खेलमा लागेका हुन् । किनभने, यी तीनवटै पार्टीलाई संघीयता र समावेशीकरण चाहिएको थिएन । त्यसकारण संविधानसभा असफल बनाउन र संविधान नआउनुमा कांग्रेस, एमालेको पनि उत्तिकै भूमिका छ ।
तर, सरकारविरोधी मोर्चामा तपार्इंहरू अहिले कांग्रेस र एमालेसँग एकै ठाउँमा आउनुभयो नि ?
यो मुद्दामा उनीहरू र हामी मिलेका मात्र हौँ । अरू मुद्दामा हामी र उनीहरू फरक फरक छाँै । संविधान बन्न नसक्नुमा हामीले कांग्रेस र एमालेलाई पनि दोषी देखेका छौँ । संविधान बन्न नसक्नुमा सबैभन्दा ठूलो पार्टी भएकाले माओवादी बढी दोषी छ ।
भट्टराईलाई प्रधानमन्त्रीबाट हटाउन आन्दोलनबाहेक अरू उपाय छैनन् ?
भट्टराईले राजीनमा गरे त सिद्धिहाल्यो नि । यदि उनी हटेनन् भने अरू बाटा पनि छन् । नेपाली जनताले उनलाई सडकबाट हटाइहाल्छन् । भट्टराईलाई हटाएर त्यसको विकल्प खोज्ने काम सुरु भइसकेको छ ।
भट्टराई प्रधानमन्त्रीबाट हट्नुभयो भने को प्रधानमन्त्री बन्छ त ?
भट्टराई प्रधानमन्त्रीबाट हटिसकेपछि त्यो कुर्सी खाली रहँदैन । एउटा नेपाली नागरिक त्यो पदमा रहन्छ । त्यो सहमतिको कुरा हो । पार्टीहरूको सहमतिको आधारमा नेतृत्व चयन गर्ने कुरा आउँछ । यसका लागि दलहरूबीच फेरि छलफल होला । अहिले यो विषयमा हामी नजाऔँ । सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच छलफल भई एउटा सहमति हुन्छ । कसले नेतृत्व गर्नेभन्दा पनि अब मुलुकलाई कसरी निकास दिने भन्ने कुरा महत्त्वपूर्ण हो । राष्ट्रिय सरकारले मात्र मुलुकलाई निकास दिन सक्छ । नेतृत्वको विषयमा दलहरूबीच छलफल भई सहमतिमा टुंगिन्छ । प्रधानमन्त्री को हुने महत्त्वपूर्ण कुरा होइन ।
फेरि माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ ?
अब त्यो सम्भव छैन । फेरि माओवादीको नेतृत्वमा सरकार बन्न सक्दैन । भट्टराईले सबै सहमति तोडेका छन् । उनीमाथि अब कसैको विश्वास छैन । यो कुरा दलहरूबीच छलफल भई टुंग्याउने हो । अहिले नै यसको नेतृत्वमा सरकार बन्छ भनेर नभनौँ । माओवादीमाथि कसैको विश्वास रहेन । खासगरी भट्टराई एन्ड कम्पनीमाथि कसैको विश्वास रहेन । त्यसैले भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्न सक्दैन ।
बृहत् मधेसी मोर्चाकै केही नेताले तपाईं दुईजना कांग्रेस र एमालेसँग मिल्नुभयो भनेर पत्रकार सम्मेलन गरेर तपाईंहरूको आलोचना गरे नि ?
त्यो पत्रकार सम्मेलन प्रधानमन्त्री भट्टराईले आफ्नै प्रेस सल्लाहकारलाई गर्न लगाएका हुन् । सरकारको विरोध गर्नु भनेको कांग्रेस र एमालेसँग मिल्नु भन्ने होइन । यो सरकार हट्नुपर्छ भन्नेमा मात्र हामी कांग्रेस, एमालेसँग मिलेका हाँ ।
तर तपाईंहरूको आन्दोलन त त्यो मोर्चाको विरोधमा पनि त होला नि ?
हामीले सरकारको विरोधमा आन्दोलन गर्न लागेका हौँ । सरकारमा जो–जो रहेका छन् उनीहरू सबैविरुद्ध हाम्रो आन्दोलन हो । संविधान नबनाउने र संविधानसभालाई असफल बनाउने खेलमा मधेसी मोर्चामा रहेका मन्त्रीहरू पनि सरकारकै मतियार त हुन् नि ।
संविधानसभा, संसद् विघटन भइसके, अविश्वासको प्रस्ताव ल्याउन सकिने स्थिति छैन । सरकारलाई हटाउने उपाय आन्दोलन मात्रै होइन र ?
अरू संवैधानिक बाटा पनि छन् । यो कामचलाउ सरकार हो । कामचलाउ सरकार भएपछि अर्को सरकार बन्न सक्छ । राजनीतिक निर्णयबाट सरकार हट्छ र अर्कै सरकार बन्छ । अझै पनि सहमतिको सरकार बन्ने पूरै सम्भावना छ । अब मुलुकलाई निकास दिन सहमतिको सरकार बन्नुपर्छ ।
संविधान आउन नसक्नुमा तपाईं कसलाई दोषी देख्नुहुन्छ ? तपाईं पनि त हुनुहुन्छ होला नि ?
संविधान आउन नसक्नुमा सबैभन्दा ठूलो दल भएको हैसियत र सरकारको नेतृत्व गरेकाले माओवादी दोषी छ । त्यसपछि कांग्रेस र एमाले दोषी छ । सरकारमा रहेका मन्त्री र उनका मतियार पनि दोषी छन् । हामीले सडकदेखि सदनसम्म आन्तिम अवस्थासम्म संविधानका लागि लडेका हौँ ।
राज्य पुन: संरचनामा कुरा मिल्न नसकेर संविधान बन्न नसकेको हो ?
संघीयता, समावेशीकरण र मधेसका मुद्दालाई सम्बोधन गर्नुपर्छ भनेर नै उनीहरूले संविधान बनाउन नदिने खेल गरेका हुन् । हामीले संविधान, संघीयता र मधेसको मुद्दालाई सम्बोधन गर्न निरन्तर दबाब दिइरहेका थियौँ ।
अबको बाटो भनेको चुनाव नै होइन र ?
चुनाव एउटा महत्त्वपूर्ण लोकतान्त्रिक विधि हो तर यो मात्रै सबै समस्याको समाधान होइन । तर, अहिलेको वर्तमान संविधान र वर्तमान सरकार यथावत् रहँदासम्म ७ मंसिरमा चुनाव हुन सक्दैन । यो सम्भव छैन । यो संविधान संशोधन हुनुपर्छ र राजनीतिक दलहरूबीच उच्चस्तरीय सहमति हुनुपर्छ र अनि मात्र चुनाव हुन सम्भव छ । यो स्थितिमा चुनाव हुन सक्दैन ।
त्यसो भए राष्ट्रपतिको भूमिका अब के हुन्छ त ?
राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका हुन्छ अब । उहाँ संविधानको संरक्षक पनि हुनुहन्छ । अहिलेको संविधानले उहाँलाई संविधानको संरक्षण गर्ने जिम्मेवारी दिएको छ । मलाई विश्वास छ, उहाँले संविधानको संरक्षणका लागि काम गर्नुहुन्छ ।

प्रतिक्रिया