शाहरूख अब फुटबलमा

मुम्बई : केही समयपहिले समाप्त भएको इन्डियन प्रिमियर लिग क्रिकेट सिजन–५ मा आफ्नो टोली कोलकाता नाइट राइडर्सले उपाधि जितेपछि अत्यन्त उत्साहित भएका बलिउड अभिनेता शाहरूख खानले अब फुटबलमा पनि लगानी गर्ने भएका छन् । समाचारअनुसार ‘किङ खान’ पनि भनेर चिनिने शाहरूखले भारतको सबैभन्दा ठूलो लिग प्रतियोगिता ‘इन्डियन लिग’ (आई–लिग) कै एक आकर्षक क्लबका रूपमा रहेको डेम्पो स्पोर्टिङ क्लब (डिएससी) को पचास प्रतिशत सेयर किन्ने निर्णय गरिसकेका छन् । यो क्लब गोवामा स्थापित छ ।
यद्यपि यससम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छैन तर डेम्पोका पदाधिकारीले यस सम्बन्धमा कुराकानी भइरहेको भने पुष्टि गरेका छन् । भारतका सबैभन्दा पुराना फुटबल क्लबमध्ये एक रहेको डेम्पो स्पोर्टिङमा शाहरूखको करिब तीस करोड रुपियाँको साझेदारी रहनेछ । चर्चा के पनि छ भने उक्त क्लबको स्वामित्व किन्ने दौडमा शाहरूख खान मात्र होइन, एकजना प्रसिद्ध भारतीय क्रिकेटर पनि केही औद्योगिक घरानासित मिलेर यो दौडमा लागिपरेका छन् । ती भारतीय क्रिकेटर फुटबलका निकै ठूला प्रशंसक हुन् । डेम्पो क्लबका मालिक श्रीनिवास डेम्पोले भने, ‘अहिलेसम्म केही पनि निर्णय भइसकेको छैन । मैले धेरैपटक शाहरूखलाई भेटिसकेको छु । हामीबीचको कुराकानी निकै सकारात्मक छ ।’
उनले डेम्पो क्लबले पचास प्रतिशत सेयर बेच्न सक्ने पनि बताए तर त्यो सेयर किन्नेले क्लबको हालकै नाम अर्थात् डेम्पो स्पोर्टिङ क्लब नै राख्नुपर्नेछ । शाहरूख खान भने ‘रेड चिल्लिज’ को नामबाटै फुटबल क्लबमा लगानी गर्ने योजना बनाइरहेका छन् । उनको कम्पनी रेड चिल्लिजले आइपिएलमा कोलकाता नाइट राइडर्सको नामबाट प्रेmन्चाइज किनेको छ । पछिल्ला केही वर्षदेखि भारतीय फुटबलमा आफ्नो वर्चस्व बनाइसकेको डेम्पो क्लब अहिले आई–लिग च्याम्पियन हो । डेम्पोको खास चासो क्लबलाई लोकप्रिय बनाउन शाहरूख खानको नाम प्रयोग गर्नेमा रहेको छ । डेम्पोले केही समयअघि मात्र डेनमार्कको शीर्ष फुटबल क्लब एवं एकेडेमी ‘एफसी मिड्जील्यान्ड’ मा १२० लाख युरो खर्चेर ३४ प्रतिशत सेयर किनेको थियो । सन् २००७–००८ मा आई–लिग सुरु भएयता पहिलो वर्षसमेत डेम्पोले तीनपटक यसको उपाधि जितिसकेको छ । यस अतिरिक्त डेम्पोले दुईपटक राष्ट्रिय फुटबल लिग पनि जितिसकेको छ । (पिटिआई)

प्रतिक्रिया