‘बोल्ड छुइनँ’

सहकर्मी कलकारसँग विवादमा मुछिएर विरलै चर्चामा आउने गबलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई लाग्छ, ‘आइटम नम्बर’ गर्न सुहाउने खालको ‘बोल्ड’ व्यक्तित्व छैन उनको । तैपनि ‘आइटम नम्बर’ गर्न पाए हुन्थ्योजस्तो उनलाई लाग्छ । ‘कसैले राम्रो तरिकाले प्रस्ताव गरे ‘आइटम नम्बर’ गर्न मलाई कुनै आपत्ति छैन,’ यसो भन्छिन् उनी । तर, अहिलेसम्म ‘आइटम नम्बर’ को प्रस्ताव नआएको उनी बताउँछिन् । ‘यदि गीत राम्रो छ र मलाई राम्रो तरिकाले प्रस्तुत गरिन्छ भने केको आपत्ति ?’ ‘आइटम नम्बर’ मा काम गर्न कुनै समस्या नभएको उनी बताउँछिन् । अक्षय कुमारको जोडी भएर काम गरेको फिल्म ‘रोडी राठोर’ को प्रमोसन कार्यक्रममा सोनाक्षीले यस्तो बताएकी हुन् । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् ।
‘शुक्रबार रिलिज हुन लागेको फिल्म ‘रोडी राठोर’ मा ‘छम्मक छल्लो चली चाबेली’ बोलको गीतमा तपाईंले कम्मर मर्काएको चाहिँ के हो ? के यो आइटम नम्बर होइन ?’ संवाददाताबाट यस्तो प्रश्न तेर्सिएपछि उनले सो नृत्य ‘आइटम नम्बर’ नभएको दाबी गरिन् । ‘यो आइटम गीत होइन । विवाहमा गइने गीतमा मैले नाचेकी मात्र हुँ,’ उनले भनिन् । सलमान खानसँग ‘दबंग’ फिल्ममा अभिनय गरेर बलिउडमा भाग्य परीक्षण गर्न आएकी सोनाक्षीले पहिलो फिल्मबाटै सफलता पाएकी थिइन् । तर, फिल्मी क्षेत्रमा उनको आगामी दिन कत्तिको सफल हुनेछ भन्ने कुरा उनको नयाँ फिल्म कत्तिको लोकप्रिय हुन्छ भन्ने कुराले धेरै हदसम्म निर्धारण गर्ने धेरैको अनुमान छ । (एजेन्सी)

प्रतिक्रिया