‘बुख्याँचालाई सम्मानित देवता बनाइयो’

कवि मनु मञ्जिल यो पुस्ताका शक्तिशाली कवि हुन् । कम तर राम्रा कविता लेख्ने कविमध्येमा पर्छन् उनी । सुनसरी इटहरीमा बसेर साहित्य सिर्जनामा लागेका दुई कवितासंग्रह ‘आँधीको आवेग’ (०६२), ‘ल्याम्प–पोस्टबाट खसेको जून’ (०६८)  प्रकाशित छन् ।

कविता हृदयले लेखिन्छ कि, दिमागले ?
हृदयले, तर कविता लेखनको समय दिमागले सुषुप्त रहिदिएर सहयोग गर्छ ।
कविताको बजार र पाठक घट्दो छ, होइन ?
मानिसको माझ कविताको निम्ति सधैँ ठाउँ छ । तर, हामीमाझ कविता नै पो धेरै कम छ । वर्षमा एक–दुईवटा कविता बजारमा आउँछ । यो त हाम्रा महाकविले भनेजस्तो ‘आइसल्यान्डको सर्प’ जस्तो भएको छ ।
कविहरूको संख्याचाहिँ बढिरहेका छन् तर राम्रो कविताको संख्याचाहिँ बढेको छैन भनिन्छ नि ?
कवि नै त अहिले नेपालमा चार लाख होलान् । तर, इतिहासभरिबाट खोज्दै आउँदा पनि सयवटा राम्रो कविता फेला पर्दैनन् । खडेरी छ ।
‘झुर’ कवि र कविताहरूले बजार पिटिरहेको देख्दा कत्तिको झोँक चल्छ ?
‘झुर’ कवि अन्यत्र पनि छन् । तर, हाम्रामा तीमध्ये केही भाग्यमानी ठहरिए । कुनै कुनै बुख्याँचा त सम्मानित देवता नै बनाइएका छन् । किन हाम्रामा त्यस्तो भो होला जस्तो अप्ठेरो लागिरहन्छ ।
कवितै लेखेर बाँच्न सकिन्छ ?
कविता प्रतिष्ठाको यात्रा हो । यौटा महान् कलासित खेलेर बाँच्ता जीवन हमेशा सुन्दर देखिन्छ । कला नभएको मानिसको सपना र मोहको मृत्यु एकदमै चाँडो हुन्छ । कविता र कलाको अर्थ त्यहाँ छ ।
कविता लेखेर अहिलेसम्म कति कमाउनुभयो ?
म यौटा साधारण मानिसलाई कति कति मानिसले चिन्छन् । त्यो कविताको कमाइ हो । एकाध पुरस्काबाट एकाध लाख रुपियाँ पनि नआएको होइन तर त्यो उल्लेख नगर्दा राम्रो लाग्छ ।
कविता लेखेरै बाँच्ने दिन कसको कारणले  नआएको ?
संसारको उदाहरण लिऊँ न । अमेरीकी महाकवि वाल्ट ह्विटम्यान अखबार बेच्थे । इलियट बैंकका ‘टेलर’ थिए । रबर्ट फ्रस्ट किसान थिए । हाम्रा महाकविकै जिन्दगी हेर्नुस् न । औषधि खान पैसा भएन कवितामा पैसा छैन । कविता गद्यजस्तो सधैँ लेखिरहन असम्भव छ । बाँच्नका निम्ति अरू काम गर्दा भइहाल्यो नि ।
कम लेखेर बढी चर्चा पाउनेहरूमध्येका भाग्यमानी मनु मञ्जिल पनि हो, भन्नेहरू पनि छन् नि ?
हो, त्यो त । गद्य र कविता गरेर मुस्किलले अढाई सय पृष्ठ लेखेको हुँला । मलाई पनि लाग्छ यति चर्चा हुनै नपर्ने हो मेरो । केही लेखिएछ कि जस्तो पनि लाग्छ । अहम् मात्रै हो मेरो जस्तो पनि लाग्छ । भाषा वा शैलीमा आविष्कारले पनि त्यस्तो काम गर्छ भनिन्छ । कुन्नि के चिज छ रचनामा । चर्चा त छ ।
तपाईंलाई असाध्यै मनपर्ने कविता (जुन कविता मैले लेख्न पाएको भए … भन्ने लागिरहन्छ) ?
इलियटको ‘द वेस्ट ल्यान्ड’ पढ्दा मलाई त्यस्तो अनुभूति भयो । रिमालको ‘आमाको सपना’ मोहन कोइरालाको ‘सारंगी’ र वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण…’ पढ्दा पनि
त्यस्तो लाग्यो । ती रचनाहरूमा ठूलो काव्यिक शिल्प छ ।
तपाईंलाई असाध्यै मनपर्ने कवि (जो हुन पाए हुन्थ्यो जस्तो लाग्छ) ?
वाल्ट ह्टिम्यान । तिनी सर्वाधिक महान् ‘लोफर’ कवि हुन् । तीनको जीवन प्रेरक छ ।
सुन्दर कविता र सुन्दर युवती –कुन रोज्नुहुन्छ ?
दुवै । दुवैमा हृदय हल्लाउने सामथ्र्य हुन्छ ।
कविता लेखन र यौन– कुन बढी उत्तेजक प्रक्रिया हो ?
कविता लेखनको उत्तेजना लामो समय रहन्छ । यौनिक आवेग तीव्र र क्षणिक हुन्छ । दुवैमा ध्यानको गुण रहन्छ । आफूलाई बिर्सन सकिन्छ ।
कविता लेखेर पाईंन र नपाईंन के हो ?
कविताले केही नदिई धेरै थोक दिएको आभास दिलाउँछ । कलाले दिने प्रमुख कुरो त्यही हो । बाटामा छुटेको प्रेम, हराएको बाल्यकाल, रहस्य, सपना लेखिएपछि ती प्राप्त गरेजस्तो आनन्द मिल्छ । मानिसहरूले प्रेम गर्छन् । परिचय बन्छ । अस्तित्वमा नवीन र सुन्दर कुरा आउँछ । यो प्राप्ति हो । तर, लेखिसकेपछि पनि प्रेम, रहस्य, सपना दूर रहन्छन् । विरोधाभास छ ।
तर्क सकियो भने मान्छेहरू कवि हुन्छन् भनिन्छ नि, तपाईंचाहिँ कवितामा कत्तिको कुतर्क गर्नुहुन्छ ?
तर्क सकियो भने मानिस कवि हुने होइन । तर्क आउनुअघिचाहिँ मानिस कवि हुने हो । जीवनको ठूलो दु:ख, ठूलो सुख आदिमा तर्कले काम गर्दैन । तर्क सधैँ विवादको औजार हो । सत्यमा तर्क छैन । गणितमा विवाद कम हुन्छ, राजनीतिमा ज्यादा । विज्ञान सत्यको अन्वेषण हो, कला सौन्दर्यको । राम्रो लागेपछि तपाईं थपक्क स्विकार्नु हुन्छ । तर्क त पछि आउँछ ।
उपन्यासले बजार हस्तक्षेप गरिरहेको छ, उपन्यास लेख्ने झोँक चलेको छैन ?
हाम्रामा उत्कृष्ट उपन्यास उति धेरै छैनन् । जतिसुकै हस्तक्षेपको कुरा गरे पनि यो साँचो हो । कम्तीमा पाँचपटक पढूँ लाग्ने पुस्तक मात्रै राम्रो पुस्तक हो । पहिलोपटक पढ्दा त समाचार पनि उत्तेजक हुन्छ नि । कति उपन्यास हामी दोहोर्‍याएर पढ्छौँ ? उपन्यासको जीवन त्यहाँ हुन्छ । धेरै उपन्यासको वर्णन म मेरा निम्ति कठोर कुरा मान्छु । राम्ररी लेखिएको उपन्यास भने म पढ्छु ।
उपन्यास लेख्ने झोँक ममा छैन । लेखियो भने त्यो संयोग होला । त्यो काम कथा खोज्नेहरूलाई नै छोडिदिऊँ । राम्रो हुन्छ ।
काठमाडौंबाहिर बस्नुको दु:ख के हो ?
तपाईं काठमाडौंबाहिर बसे पनि प्रकाशित हुन फिँजिन काठमाडौं आउनै पर्छ । हेर्नुस् न मैले लेखेको चिज आएर काठमाडौंमा प्रकाशित हुन्छ र देशभरि फिँजिन्छ । काठमाडौंमा बसेकालाई त्यो हैरानी छैन ।
अनि काठमाडौंबाहिर बस्नुको सुखचाहिँ ?
काठमाडौंबाहिर एकान्त छ । प्रकृति छ । अलिक ठूलो नेपाल पनि छ । लेख्नका निम्ति स्रोत छ । जीवनको नजिकनजिक हिँडिरहेको आभास हुन्छ । राम्रै छ ।
कहिलेकाहीँ यस्तो लाग्दैन, काठमाडांैमै बसेको भए मनु मञ्जिलको उचाइ अझ धेरैमाथि हुने थियो ?
मलाई त्यस्तो लाग्दैन । बेलाबेलामा काठमाडौं आउँदा जसरी मप्रति आदर, प्रेम र चासो काठमाडौंले देखाउँछ । त्यो असाधारण छ । काठमाडौंमा बसेको भए कतै म औसत भिडमा हराउँथे कि । काठमाडांैले मेरानिम्ति जे–जति गरेको छ त्यो काफी छ । म ऋणी छु यो सहरप्रति ।
प्रस्तुति : राजेश राई

प्रतिक्रिया