मत-विमत

भोटो

सौर्य अनलाइन २०६९ जेठ २० गते १:४२ मा प्रकाशित

विरल संयोगले बर–पीपल चौतारीमा ती दुईको भेट भयो– फिस्टे किसान र घुमक्कड बाबाको । दिन ढल्नढल्न लागेको साँझको बेला, पश्चिम डाँडापारि लुक्न लागेको घामका थकित, मलिन किरणहरूको आभा डाँडाउतातिर आकाशमा झुन्डिएको थियो । किसान बाबु–बाजेका पालादेखिका मुखियाको खेत जोतेर घर फर्कंदै थियो, घुमक्कड बाबा आफ्नो घुमघामको नित्य क्रममा त्यहाँ आइलागेको थियो । दुवैले अँजुली थापेर ढुंगे धाराको सङ्लो पानी घटघट पिए, र खरिएका आँतलाई शीतल हावाले त्राण दिन चौतारीको सियाँलमा बसे ।
‘हँ † त्यो त साह्रै पुरानो भएछ नि,’ तीक्ष्ण दृष्टिले अवलोकन गरेर किसानको भोटो देखाउँदै घुमक्कड बाबाले भन्यो ।
‘हो, भयो, ‘किसानले सहज ढंगले जवाफ दियो । अनि पराइ घुमक्कडलबे छापामार शैलीमा झम्टा मारेर खोस्ला कि भनेझैँ गरी उसले आफ्नो भोटो अँठ्यायो ।
‘त्यो फुकाऊ र मिल्काऊ, ‘घुमक्कडले व्यंग्य मुद्रामा मसुमुसु हाँस्दै भन्यो । अनि झोलाबाट नयाँ कमिज झिकेर देखायो, ‘यी:, मसँग यो छ ।’
किसानको अनुहारमा हठात् दुईथरी भावना प्रकट भए— एउटा डरको भावना र अर्को प्रलोभनको भावना ।
‘नाइँ, ‘उतर्सिएको स्वरमा उसले भन्यो, ‘म यो फाल्दिनँ । तैपनि…’ यसो भन्दै उसले दाहिने हातले थोत्रो भोटो अँठ्यायो र नयाँ कमिज लिने मनसुवाले देब्रे हात लम्कायो ।
घुमक्कडले दिगमिग भरिएका आँखाले किसानको भोटो हेर्‍यो र जोडले नाक अँठ्यायो । ‘बाबु, भन त तिमीलाई त्यो गन्हाउँदैन ?’
‘धत्, कुरा पनि † यो मलाई काँ गन्हाउँछ ?’
‘तर भाइ, मलाई त त्यो ह्वास्सै गन्हायो ।’
किसानको भोटो छन पनि हरिबिजोककै थियो । फाटेर चिराचिरा परेको, मयलका माम्री जमेको, जुम्राका ढाडी बाहिरै रगरग हिँडिरहेका देखिने । उसो त भोटो पनि आजको कहाँ हो र, उहिल्यै जिजु–बाजेका पालाको जस्तो थियो ।
‘हो, ‘सही थाप्दै किसानले भन्यो, ‘यो खसोखास जिजुबाजेका पालाको हो । यसले मेरा जिजुको आङ ढाक्यो, अनि बाजेको आङ ढाक्यो, अनि त्यसपछि मेरा बाको, अनि अहिले मेरो, अनि मपछि….’
‘त्यो त साह्रै पुरानो भएछ, भाइ ।’
‘अँ त नि, भयो ।’
‘त्यसैले त म भन्दै छु, त्यो फुकाऊ र मिल्काऊ । अनि यो…’ घुमक्कडले नयाँ, सुकिलो र सुन्दर कमिजमाथि उठायो । हावाका चञ्चल तरंगहरूको तालमा कमिज बडो रहरलाग्दो गरी फिर्फिर हल्लियो ।
फेरि पनि एक हातले भोटो अँठ्याएर अर्को हात लम्काउँदै किसानले भन्यो, ‘नाइँ, नाइँ, यो मेरा पुर्खाले मलाई छाडी गएको चिनो हो । मायाँको चिनो, श्रद्धाको चिनो, सम्झनाको शृंखलामा उनिएर आएको अनमोल चिनो ।’
‘तुत्, त्यो फुकाऊ र मिल्काऊ, ‘अलि कठोर स्वरमा घुमक्कडले वचन दोहोर्‍यायो । अनि किल्किलेसम्म हुलुक्क आइसकेको बमनको फोहरा रोक्न बल गरेझैँ गरी उसले झन् जोडले नाक अँठ्यायो ।
‘नाइँ, नाइँ † मैले पुर्खाको बिँडो थाम्नु छ,’ भोटोबाट रजनीगन्धाको बास्ना सुँघेझैँ गरी किसानले भन्यो । ‘यो मेरो आस्थाको चिनो हो । यो मेरो आशाको त्यान्द्रो हो । यो मेरो धर्मको निशानी हो । यो मेरो कर्मको फल, मेरो संस्कारको मुहान, यो.., यो…मेरो…’
‘यो सब झुठ हो, यो सब भ्रम हो,’ स्वर उचालेर घुमक्कडले कटाक्ष गर्‍यो । ‘सुन् बाबु, यो सब तेरो चार पुस्ते मूर्खता हो ।’
‘मान्छे त जब्बरजस्तो पो छ बा †’ छक्क पर्दै किसान मलिनो स्वरमा झन्डै आफैँले मात्र सुन्ने गरी फत्फतायो । अनि स्वरमा अभिमानको थोरै पाइन भरेर उसले थान थाप्ने शैलीमा भन्यो, ‘खूब बाठो भ’र कुरा गरिस् नि । भन्त, आँखिर तँ को होस् ?’
‘म एक साधारण मानिस हुँ । जगत्को उल्टो रीत हेर्दै चराचर जगत्मा घुमिरहने अविरल यात्री ।’
‘हा, हा † तँ त खूब जान्ने हुन खोज्दो रछ’स् नि ।’
‘म धेरै कुरा जान्दिनँ, भाइ । तैपनि एउटा कुरा भने मलाई यकिन थाहा छ ।’
‘के ?’
‘त्यो जडाउरी भोटो तेरो भ्रमको जडाउरी पन्तुरो हो ।’ यति भनेर ऊ चट्याङ सरी गज्र्यो, ‘मूर्ख † फुका’र फाल् त्यो तेरो खिया लागेको मूर्खता ।’
सुस्तसुुस्त चलिरहेको हावामा सुकिलो, मुलायम, चमकदार कमिज फिर्फिर्–फिर्फिर् हल्लियो । किसानले एक हातले भोटो अँठ्याएको अँठ्यायै अर्को हात लम्कायो । उसको एउटा हात त्रासले कामिरहेको थियो, अर्को हात लोभले व्याकुल भएको थियो ।
‘जा, सनक्क नुहा । अनि त्यो फाल् र यो लगा ।’
किसान कर्तव्यपरायण चेलोझैँ तल धारामा खुत्रुक्क ओल्र्यो । उसले छेवैको चिल्लो ढुंगो सनक्क पखाल्यो र बडो मायालु आमाले कलिलो सन्तानलाई ममतामयी भावले जतनले राखेझैँ भोटो थपक्क त्यहाँ राख्यो । भोटोमा एक टकले हेर्दै उसले जिउ हत्तपत्त भिजायो र मानौँ कतै अपल पो भइहाल्ला कि भन्ने भयले उसले भोटो बिजुलीको चालमा फेरि लगाइहाल्यो ।
‘पैले त्यो फाल् अनि यो पाउलास्, ‘नाक चेप्य्राउँदै घुमक्कडले उही अडान दोहोर्‍यायो ।
‘बाबा † म त्यो यसैमाथि लगाउन पाउँm, ‘लुब्ध हात पसारेको पसार्‍यै किसानले करुण भाकामा पुकारा गर्‍यो ।
नयाँ कमिज हावामा तुन्द्रुंग झुन्डेको छ । हावाका सुस्त तरंगहरूसँगै त्यो बडो मनमुग्धकारी तालले सुस्तसुस्त नाचिरहेछ । त्रसित किसान हात उता बढाउने आँट गर्न सक्दैन । तिर्खालु भए ठाउँमा धाई–धाईकन खोलो आफैँ आउने होइन ।
‘न, न, म यसैमाथि खप्ट्या’र लाउँछु, बाबा † मेरो शेखपछि मेरा छोराले यो लाओस् भन्ने मेरो कत्रो धोको छ †’
‘तँ मूर्ख होस् । सिनोमा सुगन्ध हुन्छ भन्ठान्ने तँ जबरस्वाँठ….।’
घुमक्कड बाबाका आँखामा हठात् आगोजस्तो केही चिज दन्दनी बल्न थाल्यो । उसले झम्टेर आफ्नो परमप्रिय भोटो धूजाधूजा पो पार्ला कि भन्ने भयले भित्रभित्रै काम्दै किसानले आफ्ना गँगटे हातले भोटो बेस्मारी अँठ्यायो । हुन पनि उसको भोटो उसको संस्कारबाट हम्मेसी नछुट्टिने अमूल्य जिनिस थियो । भोटो उसको जिन्दगीको मूल रूपजस्तो थियो र ऊ थियो केवल भोटोको लाचार छायाजस्तो । बिहामा उसले गतिलै दौरा–सुरुवाल लगाएको हो । तर, जग्गेमा बस्दाखेरि पनि उसको सुकिलो दौराभित्र मयल माम्री परेको त्यो भोटो उसको छालामा किर्नोसरी टाँसिएकै थियो । ऊ दशैँपिच्छे औकातअनुसारका एक जोर नयाँ लुगा हाल्थ्यो । तर, नयाँ लुगामुनि त्यो भोटो एकरत्ति डेग नचलीकन टाँसिएको टाँसियै रहिरह्यो । मिच्दा, निचोर्दा, झट्कार्दा फाट्ला कि भनेर उसले त्यो भोटो कहिल्यै धोएन । सिँगौरामा झुन्ड्याउँदा कतै हराइ पो हाल्ला कि भनेर उसले सुत्दाखेरि पनि त्यो भोटो कहिल्यै फुकाएन । त्यत्रो प्रेमले, त्यत्रो हिफाजतले, त्यत्रो मोहले त्यसरी जोगाइराखेको भोटो फुकाएर अहिले उसले कसरी मिल्काउनु †
‘नाइँ, नाइँ,’ जिद्दी गर्दै उसले भन्यो, ‘यो पुर्खाको बिँडो थाम्ने नासो हो । गए बरु ज्यानै जाला, म यो फाल्दिनँ ।’
‘उसोभए मूर्ख, तँ नयाँ कमिज नलाउने भइस्, हैन त ?’
‘बाबा, म लाउँछु, यसैमाथि खप्ट्या’र लाउँछु ।’ किसानले एक हातले भोटो अँठ्याएको अँठ्यायै अर्को हात अघि बढाएर कमिज छुनछुन खोज्यो ।
‘महादेवले सोधेछन्– ए सुँगुर † तँ स्वर्ग जान्छस् ?’ प्रचण्ड घृणाले अनुहार विकृत पार्दै घुमक्कडले एउटा प्रचलित किस्सा सुनायो । ‘सुँगुरको पालो भनेछ– जान्नँ प्रभु † मलाई यो नर्कै प्यारो छ । बुझिस्, गोबर ? तँ त्यही सुँगुर होस् ।’ यति भनेर घुमक्कड बाबाले किसानलाई गर्धने लगाएर चित् ख्वायो अनि पछि फर्किंदै नफर्किईकन आँधीको चालमा उसले आफ्नो बाटो ततायो ।
पाहाझैँ भुइँमा पछारिएको किसान हेरेको हेर्‍यै भयो ।
पछि, धेरैपछि त्यस भोटोधारी किसानको छिमेकी मुखियासँग भयंकर भिडन्त पर्‍यो । किसानको लगौँटी जत्रो बारीका फोक्टाको साँध मुखियाको अजंगको बारीसँग जोडिएको थियो । मुखियाले उसका फोक्टाका साँधको एक बित्ताजति माटो मिचेछ । अनि पर्‍यो तिनको घोरघमासान लगड्याम । मुखिया भीमसेनसरि ठूलो र बलियो थियो । ऊ पर्‍यो जिउको फिस्टे र बलको निम्छरो । भीमसेनले फिस्टेलाई जुरुक्क उचाल्यो र घ्याच्च थचार्‍यो अनि उसले उसको डँडेल्नोमा लोहोराजस्ता मुड्की बेस्सरी बजार्‍यो । अनि नंग्रा र दाँतले झम्टेर र चिथोरेर उसले उसको भोटो धूजाधूजा पार्‍यो । हारेर हिलामा मिल्किएको फिस्टे किसान पीडाले तड्पिँदै उठ्यो । दुखाइ मत्थर भएपछि आतंकित मुद्रामा हेर्दा त ऊ के देख्छ ? मेरी आमा † उसका आँखाको नानीसरी प्यारो चिज अब केही बाँकी छैन । डोरीमा टाँगेका धजाझैँ भोटाका त्यान्द्रा उसको जिउबाट झुन्डिएका छन्– अगाडि पनि, पछाडि पनि, ओल्टोमा पनि, कोल्टोमा पनि धजैधजा तुन्द्रुंग छन् ।
उही बर–पीपल चौतारीमा बसेर टनाटन आँसु भरिएका विक्षिप्त दृष्टिले उसले भोटो हेर्‍यो– हे भगवान् † आज भोटो सर्वनाश भो । र, उसको सत् र संस्कार, कर्तव्य र धर्म सबै त्यसैसँग नाश भए † यसो हेर्छ, टाल्ने–तुन्ने ठाउँ कतै बाँकी छैन । धूजाधूजा भएका धजा रगतपच्छे भएका छन् । फिस्टेका चारवटा सन्तान भोक र बिस्याहारले मरेका थिए । आखिर बाबुको मन न हो, सन्तान मर्दा ऊ बलिन्द्र धारा आँसु बगाउँदै डाँको छाडेर रोएको थियो । तर, ती चारैवटा सन्तान मर्दाखेरिको पीडा र वेदना चित्तमा एकमुष्ट कुँडुलो परेर उर्लिंदा जति ताप र औडाहा हुन्छ, उसलाई अहिले त्योभन्दा कता हो कता धेरै ताप र औडाहा भयो । सत्यानाश भो † सब सकियो † पुर्खाको बिँडो थाम्ने अनमोलको भोटो अब इतिश्री भो †
उसले दुई हातले भोटो सामुन्ने उचालेर थिल्थिलो भएका नजरले ट्वाँ परेर हेर्‍यो । मानौँ त्यो एउटा ऐना हो र ऊ त्यस ऐनामा आफ्नो आत्माको सत् डगेको नालायकस्वरूप हेरिरहेछ । हेर्दाहेर्दै भोटो उसका थर्थर कामिरहेका हातबाट भुइँमा खस्यो । अनि उसका शोकाकूल आँखाबाट आँसुका थोपा जडाउरी भोटामा तप्प–तप्प खसे ।
निकैबेर चेतशून्य, लाटो र निस्तेज भएर एकटकले भोटातिर टोलाएपछि ऊ मरेको मुख लाएर एकदमै सुस्त चालले उठ्यो । अनि भोटाको अन्तिम दर्शन गर्दै उसले लामो, बेचैनी र हैरानीयुक्त सुस्केरा हाल्यो । र, नांगो, रगतपच्छे आङ लिएर घुमक्कड बाबाका झीरजस्ता वचन सम्झिँदै ऊ नयाँ लुगा खोज्न अविदित बाटोतिर लाग्यो– पहिले सुस्तसुस्त, अनि क्रमश: छिटो, छिटो, छिटो, एकदम छिटो ।

(विवेक सिर्जनशील प्रकाशनबाट ‘कुन्साङ काकाका कथा’ शीर्षकमा प्रकाशोन्मुख संकलनबाट)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय