दैनिक पाँच लाख लिटर दूध अभाव

काठमाडौं, १९ जेठ । दैनिक पाँच लाख लिटर दूध अभाव हुने गरेको छ । बजार अभावमा किसानले उत्पादन गरेको दूध सबै बजारसम्म आउन नसक्दा यस्तो अवस्था देखिएको हो ।
देशभरका किसानले उत्पादन गर्ने  दूध व्यापारिक प्रयोजनमा १५ प्रतिशत मात्र आउने गरेको छ । बाँकी ८५ प्रतिशत दूध बजार अभावमा किसानले नै प्रयोग गर्ने गरेका छन् । नेपालमा करिब १५ लाख मेट्रिक टन दूध उत्पादन हुने गरेको कृषि विकास मन्त्रालयको तथ्याङ््क छ । यो व्यवसायबाट करिब १५ अर्ब ५० करोड रुपियाँ सहरबाट ग्रामीण क्षेत्रमा पुग्ने गरेको मन्त्रालयले जनाएको छ ।
देशभर एक हजार सात सय ४८ दुग्ध उत्पादक सहकारी गठन भई दूध उत्पादन गरिरहेको केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष बाबुराम अधिकारी बताउँछन् । संघमा सात सय १६ प्रारम्भिक सहकारी संस्था आबद्ध छन् । संघका अनुसार दैनिक चार लाख लिटरभन्दा बढी दूध सहकारीले उत्पादन गर्ने गरेको छ ।
‘बजारीकरण हुने दूधमध्ये ८५ प्रतिशत सहकारी संस्थाले गर्दै आएको छ’ उपाध्यक्ष अधिकारीले भने, धेरै किसानले सहकारिताको माध्ययमबाट दूध वितरण गर्दै आएका छन् । दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक दुई लाख ३५ हजार लिटर र निजी उद्योगले चार लाख ७५ हजार लिटर दूध विभिन्न सहकारीबाट खरिद गर्दै आएको जानकारी अधिकारीले दिए । नेपाल पशुपालनमा आधारित देश भए पनि दुग्ध समस्या दिनानुदिन बढिरहेको छ । सोही कारण ठूलो रकम विदेश पलायन भैरहेका उनी बताउँछन् ।
दुग्ध उत्पादन तथा प्रशोधन क्षेत्रमा करिब तीन हजारले प्रत्यक्ष रोजगारी पाएका छन् भने तीन लाखभन्दा बढी कृषक परिवार लाभान्वित भएको संघले जनाएको छ । ‘हाल दैनिक एक लाख ७० हजार लिटरजति दूध आयात भएको छ ’ दुग्ध विकास संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहले भने,‘ दूध उत्पादन कम हुने भएकाले आयात पनि घटेको हो ।’ संस्थानबाटै वार्षिक सात सय टन धुलो (पाउडर) दूध बनाइने र आवश्यक परेका बेलामा प्रयोग गर्ने गरेको पनि
उनले बताए ।
पशुपालन ग्रामीण क्षेत्रमा रहने हुनाले यातायातको समस्या, उचित बजारीकरण नपाउनु, परम्परागत रुपमा पशुपालन गर्नु र किसानले उत्पादन गरेको दूधको उचित बजार नपाउनाले पनि दुधमा समस्या देखिएको  हो । सरकार पक्ष र दुग्ध उत्पादन सहकारीबीच हातेमालो गरी अघि बढ्न सके दुग्ध उत्पादनमा नेपाल परनिर्भर बन्न नपर्ने संघको ठहर छ ।
विश्व खाद्य संगठनको मापदण्डअनुसार एक वयस्क मानिसलाई प्रतिदिन दुई सय ५० ग्राम दूध सेवन गर्नु पर्ने हुन्छ  तर नेपालमा प्रति व्यक्ति दैनिक १४५ ग्राम मात्र दूध उपलब्ध रहेको तथ्याङ्कले देखाउँछ  जुन आवश्यता पूरा गर्न दैनिक २५ लाख लिटर दूधको आवश्यकता हुन्छ ।
संस्थानले ४० प्रतिशत दूध प्रशोधन गर्छ भने निजी क्षेत्रले ६० प्रतिशत दूध प्रशोधन गर्दै आइरहेको छ । उत्पादित दूधमध्ये सबैभन्दा बढी ७० प्रतिशत भैंसीको रहेको छ । त्यस्तै गाईको दूध ३० प्रतिशत रहेको सरकारी तथ्याङ्क छ ।
संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठनले सन् २००१ जुन १ तारिखलाई विश्व दूध दिवस मनाउने घोषणा गरेअनुरुप हरेक वर्षको जुन १ तारिखमा विश्वभर अन्तर्राष्ट्रिय दुग्ध दिवस मनाउने गरेको छ । विश्व खाद्य सङ््गठनको आह्वानमा त्यसका सदस्य राष्ट्रले यो दिवस मनाउने गर्छ ।
नेपालमा पहिलो पटक यो दिवस गत वर्षदेखि मनाउन सुरु गरिएको हो । गत वर्ष केन्द्रीय दुग्ध सहकारी संघले औपचारिकरुपमा कार्यक्रम गरी मनाउन सुरु गरेको थियो ।
सात सय लिटर दूध वितरण
दुग्ध दिवसको अवसरमा पशुपति वृद्धाश्रमका वृद्धवृद्धालाई दूध तथा फलफूल वितरण गरिएको छ ।
पशुसेवा निर्देशनालय, दुग्ध विकास संस्थान र नेपाल डेरी एसोसिएसनको आयोजनामा तीन सय वृद्धवृद्धालाई सात लिटर दूधका साथै फलफूल वितरण गरिएको हो ।
पशु सेवा निर्देशनालयका निर्देशक डा. केशव प्रेमीले किसान र दुग्ध व्यवसायी संयुक्त रूपमा मिलेर दूध उत्पादनमा वृद्धि गर्न सकिने धारणा राखेका थिए ।

प्रतिक्रिया