बैंक अभावमा आर्थिक असुरक्षा

बाजुरा, १९ जेठ ।   कोल्टी बजारमा बंैक नहुँदा आर्थिक असुरक्षा बढेको छ । २०५७ मा द्वन्द्वको कारण देखाउँदै सो क्षेत्रमा सेवा दिँदै आएको राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखालाई मार्तडीस्थित शाखामा गाभिएपछि अझसम्म पनि पुन:स्थापना हुन नसक्दा असुरक्षा बढेको हो ।
सशस्त्र जनयुद्ध सकिएको वर्षौं बितिसक्दासमेत हालसम्म शाखा पुन:स्थापनाका लागि कुनै पहल भएको छैन ।  सोही कारण कोल्टीमा व्यापार व्यवसाय गर्नसमेत आर्थिक असुरक्षाका कारण असहज भएको स्थानीय व्यापारी काशीराम थापाले बताए ।
हुम्ला, मुगु र बाजुराका ११ गाविसका जनताको प्रत्यक्ष सरोकार राख्ने र व्यापारिक दृष्टिकोणले मुख्य बजारका रूपमा मानिने सो क्षेत्रमा दैनिक २० लाख बढीको कारोबार हुने गर्छ । छिमेकी जिल्लाका जनताको मुख्य व्यापारिक नाकाका रूपमा सो बजारलाई लिने गरिएको छ । कोल्टी क्षेत्रमा गरिएको व्यापार व्यवसायबाट आएको रकम जम्मा गर्न वा पठाउनका लागि  सदरमुकाम मार्तडीको रावा बैंकको शाखा वा हवाइजहाजबाट सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता छ । सदरमुकाम आउन पोरखे लेकमा चोरीडकैती हुने र नेपालगन्ज र सुर्खेतमा जान आउन मात्रै २० हजार बढी रकम खर्च लाग्ने गर्छ ।  यसले गर्दा खर्च बढ्ने गरेको गुनासो व्यापारीको छ । कोल्टीमा रहेको नेपाल खाद्य संस्थानले चामल बिक्री गरी प्राप्त रकम जम्मा गर्नसमेत तराईका जिल्लामा हवाइजहाजबाट जानुपर्ने अवस्था  छ ।
रकम जम्मा गर्नका लागि मात्र हवाइजहाज चढ्नुपर्ने समस्या रहेको र महिनामा जति दिन कार्यालयमा चामल बिक्री गर्‍यो त्यति नै दिन कार्यालय छाडेर हिँड्नुपर्ने समस्या रहेको  कोल्टी डिपोका कर्मचारी बताउँछन् । एघार गाविसको पायक पर्ने ठाउँका रूपमा रहेको सो बजारमा बैंक नभएका कारण गाउँमा रहेका विभिन्न समूह, संस्थान, सहकारी, विद्यालयका शिक्षक र विभिन्न योजनाका उपभोक्ता समितिले लामो समय लगाएर सदरमुकाम आउनुपर्ने अवस्था छ । जिल्लामा सञ्चालन हुने विभिन्न योजनाका उपभोक्ता समितिका अध्यक्षले बोकेर ल्याएको रकम लुटेर उनीहरूलाई घाइते बनाई पठाइने गरेका घटना बाहिर आएका छन् । बाटो जङ्गल र लेकको बाटो छ । त्यसकारण बढी समस्या आएको  पोखे कोल्टीमा कपडा पसल सञ्चालन गरेका भरत विकले बताए । कोल्टीकै  भीमबहादुर कार्कीका अनुसार बैंकका लागि सबै दलका नेतासाग भनेको र हरेकतर्फबाट पहल गरिए पनि राज्यले वास्ता गरेको छैन । रावा बैंक बाजुरा शाखाका प्रबन्धक सिद्धराज जोशी भने यसबारेमा आफूहरूलाई कुनै जानकारी नभएको बताउँछन् ।

प्रतिक्रिया