सारा, जोको, फेरर दोस्रो चरणमा


पेरिस, १७ जेठ । पहिलो चरणमा कुनै ‘गेम’ नगुमाई विश्व नम्बर–२ वरीयताकी महिला खेलाडी मारिया सारापोभा वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको दोस्रो चरण प्रवेश गरिन् ।
मंगलबार भएको पहिलो चरणको खेलमा पूर्वविश्व नम्बर–१ रसियाली सारापोभाले रोमानियाकी अलेक्जान्द्रा कादान्तुलाई ६–० र ६–० ले हराइन् । तीनपटक ‘ब्रेक प्वाइन्ट’ का लागि संघर्ष गरेकी सारापोभालाई खेल जित्न ४८ मिनेट मात्र समय लागेको थियो ।
हालसम्म प्रेmन्च ओपन जित्न नसकेकी उनले अन्य तीन ग्रान्डस्लाम अस्ट्रेलियन ओपन, विम्बल्डन र युएस ओपन भने जितिसकेकी छन् । यसै वर्ष मात्र अस्ट्रेलियन ओपनको फाइनलमा पुगे पनि उनले उपाधि जित्न भने सकिनन् ।
मंगलबार नै भएको अर्को खेलमा विजयी हँदै विम्बल्डनविजेता पेट्रा केभिटोभा पनि दोस्रो चरण पुगिन् । चेक गणतन्त्रकी केभिटोभाले जुनियर विम्बल्डनविजेता एसलैघ बार्टीलाई ६–१ र ६–२ ले हराइन् । पहिलो ‘गेम’ गुमाए पनि त्यसपछिका लगातार ६ गेम जितेर केभिटोभाले पहिलो सेट आफ्नो पक्षमा लिएकी थिइन् । १६ वर्षीया अस्ट्रेलियन बार्टीले दोस्रो सेट पनि सहजै गुमाउन पुगिन् । केभिटोभा गत वर्ष विम्बल्डन जितेर खेलजीवनको पहिलो ग्रान्डस्लाम जित्न सफल भएकी थिइन् । त्यसपछि लगत्तै डब्लुटिए च्याम्पियनसिप पनि जितेकी उनले यस वर्ष भने कुनै उपाधि जितेकी छैनन् । उनलाई यस प्रतियोगितामा चौथो वरीयता प्राप्त छ ।
वाइल्ड कार्डबाट यस प्रतियोगितामा खेल्न पाएकी बार्टी सहभागी खेलाडीमध्ये सबैभन्दा कान्छी हुन् । १६ वर्षकी उनीबाहेक यसपटक ७ खेलाडी
१९ वर्षमुनिका छन् ।
बार्टी मात्र होइन सबैभन्दा धेरै उमेरकी किमिको डाटेक्रुमले पनि पहिलो चरणमै पराजय व्यहोर्नुपर्‍यो । जापानिज किमिको सन् २०१० को संस्करणकी विजेता इटालियन फ्रान्सेस्का सिआभोनेसँग ६–३ र ६–१ ले पराजित हुनुपर्‍यो । अनास्टासिया पेभ्ल्युचेन्कोभा पनि मंगलबार पहिलो चरणमा विजयी भइन् । २२औं वरीयताप्राप्त पेभ्ल्युचेन्कोभाले ग्रेटा आर्नलाई सोझो सेटमा हराइन् । उनी ६–४ र ६–४ ले विजयी हुन् ।
यस्तै पुरुष स्पर्धामा शीर्ष वरीयताका नोभाक जोकोभिक दोस्रो चरणमा प्रवेश गरे । पछिल्ला तीन ग्रान्डस्लाम टेनिस लगातार हात पारेका सर्वियन स्टार जोकोभिकले इटालीका पोटिटो स्टारेसलाई सोझो सेटमा पराजित गरे । छैटांै वरीयताप्राप्त डेभिड फेरर पनि लुकास लेकोलाई सोझो सेटमा हराएर दोस्रो चरण पुगे । स्पेनिस फेरर
६–३, ६–४ र ६–१ ले विजयी भए । त्यस्तै साम क्वेर्रेलाई हराएर आठांै वरीयताका जान्को टिप्सारेभिक पनि दोस्रो चरणमा पुगेका छन् । क्वेर्रेविरुद्धको खेलमा टिप्सारेभिक २–६,
६–४, ७–६ र ६–३ ले विजयी भए ।
दोस्रो वरियताका डिफेन्डिङ च्याम्पियन राफेल नाडाल पनि मंगलबार दोस्रो चरणमा प्रवेश गरेका छन् । स्पेनिस खेलाडी नाडालले इटालियन सिमोन बोलेलीलाई ६–२, ६–२ र ६–१ ले सोझो तीन सेटमा हराएका हुन् ।

प्रतिक्रिया