‘विकासका लागि स्रोतसाधन पर्याप्त छ’


पर्यटकीय सहरका रूपमा रहेको पोखरामा पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको आकर्षण बढ्दै गएको छ । लगानीको सम्भावना खोजी गर्दै विभिन्न वित्तीय क्षेत्रले आफ्नो पहुच विस्तार गर्न थालेपछि अर्को उत्साह थपिएको छ । यसै सन्दर्भलाई लिएर सिटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीसांग पोखरा सहकर्मी अनिल अधिकारीले गरेको कुराकानी :

बैंकको आर्थिक अवस्था कस्तो छ ?
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको अनुमति लिएर ०६४ साल कात्तिक २ गतेदेखि बैंकिङ कारोबार सञ्चालन गरेको यस सिटी डेभलप्मेन्ट बैंक पाँच वर्षदेखि अत्याधुनिक बैंकिङ प्रणलीद्वारा ग्राहकमुखी सेवा प्रदान गरिरहेको छ । यस क्षेत्रको आर्थिक विकासका महत्त्वपूर्ण योगदान गर्न सफल यस बैंकको फागुन मसान्त ०६८ सम्म २२ करोड चुक्ता पुँजी एक अर्ब ९४ करोड, निक्षेप संकलन तथा एक अर्ब ६५ करोड रुपियाँ कर्जा रहेको छ । यस हिसाबले भन्दा सिटी बैंकको कारोबार उत्कृष्ट बन्दै गएको छ । हामीसँग विश्वासिला ग्राहक हुनु हाम्रो सफलता हो ।
बैंकिङ प्रतिस्पर्धालाई कसरी लिनुहुन्छ ?
पोखरा आफँैमा नेपालको आर्थिक विकासका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको महत्त्वपूर्ण स्थान हो । धेरै बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसाय विस्तारमा यस ठाउँलाई निकै महत्त्व पनि दिँदै आएका छन् । पोखरामै प्रधान कार्यालय भएका तथा अन्य बैंक तथा वित्तीय संस्थाका शाखाको यस क्षेत्रमा बाक्लै उपस्थिति छ तथा कारोबार पनि उत्साहकजनक देखिन्छ । निक्षेप संकलन तथा ऋण लगानीको अनुपातमा पनि यो क्षेत्र सक्षम नै देखिन्छ अर्थात् यस क्षेत्रका बैंक तथा वित्तीय संस्थामा भएको कर्जा मागलाई यही क्षेत्रको निक्षेप संकलनले धान्न सक्ने तथा निक्षेप संकलन भएको रकम यहीँं लगानी गर्न सक्षम देखिन्छ ।
अन्य क्षेत्रमा मुख्य कार्यालय रहेका बैंकको पनि आकर्षण केन्द्र बनिरहेको छ नि ?
यो भनाइलाई हामी पनि पूर्ण समर्थन गर्दछौँ । पर्यटन व्यवसायको प्रचुर सम्भावना भएको तथा सो क्षेत्रको विकास तुलनात्मक रूपमा अन्य क्षेत्रको दाँजोमा राम्रो भएको, विप्रेषण राम्रो भएको, पश्चिमाञ्चल क्षेत्रकै मुख्य व्यापारिक केन्द्र भएको, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारजस्ता अत्यावश्यक कुरामा तुलनात्मक रूपमा राम्रो विकास भएको र यस क्षेत्रका जनतामा रहेको उच्च उद्यमशीलताको जोस र जाँगरजस्ता कुराले यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थालाई आकर्षण गर्न प्रमुख भूमिका खेलेको हो जस्तो लाग्छ ।
लगानी कुन क्षेत्रमा बढी छ ?
वास्तवमा बैंक तथा वित्तीय संस्थाको स्थापनाको उद्देश्य राष्ट्रको आर्थिक विकासका लागि आवश्यक पुँजी निर्माण तथा परिचालनमा सहयोग गर्ने र निरन्तरताका लागि उचित प्रतिफल प्राप्त गर्ने हो । तसर्थ लगानीको दृष्टिकोणले समग्र राष्ट्रकै विकासका लागि आवश्यक क्षेत्र जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, उत्पादनमूलक तथा रोजगारमूलक क्षेत्र नै प्राथमिकताका क्षेत्र हुन् तर ती क्षेत्रमा लगानी गर्नका लागि आवश्यक अन्य पूर्वाधारको अभावमा बैंक तथा वित्तीय संस्था घर जग्गा, हायर पर्चेज, ओभरड्राºटजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न बाध्य रहेको कुरा कटु यथार्थ हो ।
घर जग्गामा गरिएको लगानी उठ्ला ?
पोखरामा रहेका सबैको घर जग्गामा गरिएको लगानी यति नै छ भनेर भन्न सकिन्न किनकि बैंक तथा वित्तीय संस्थाले अन्य क्षेत्रमा भनेर गरेको लगानी ग्राहकले घर जग्गामा लगानी गरेका हुन पनि सक्छन् । तैपनि पोखरामा रहेका बैंक तथा वित्तीय संस्थाले समय समयमा प्रकाशन गर्ने आवधिक आर्थिक विवरणका आधारमा कुल कर्जा लगानीको २० प्रतिशतदेखि २५ प्रतिशतको बीचमा घर जग्गामा लगानी गरेको देखिन्छ । घर जग्गाको कारोबारमा आएको शिथिलताका कारण घर जग्गामा गरिएको लगानीको असुली प्रक्रियामा कठिनाइ उत्पन्न भई बैंक तथा वित्तीय संस्थाको कर्जामा जोखिमको मात्रा वृिद्ध भएको छ । यसका लागि मुख्य रूपमा त कर्जा लिने ऋणीलाई सहज वातावरण नै बन्नु पर्ने देखिन्छ, घर जग्गाको कारोबारमा केही गति आउने हो भने पनि वातावरण सहज हँुदै जान्थ्यो होला तर यो कुरा हामीले मात्र भनेर हुने कुरा पनि हैन, यसमा राष्ट्रको नीतिदेखि लिएर अन्य सरोकारवालाको एकीकृत प्रयास आवश्यक छ ।
पोखरा लगानीका हिसाबले कस्तो क्षेत्र हो ?
अगाडि नै पनि भनिसकियो पोखरा आर्थिक विकासका दृष्टिले निकै सम्भावना भएको क्षेत्र हो । पर्यटन, कृषि, ऊर्जा, व्यवसाय, उद्योगजस्ता क्षेत्रमा लगानीको प्रचुर सम्भावना छ । अर्को महत्त्वपूर्ण कुरा, पोखराका जनतामा भएको उद्यमशीलताको उच्च जोस र जाँगरजस्ता कुरा पनि लगानीका लागि उत्प्रेरक छ ।
अबको दिनमा कस्ता क्षेत्रमा लगानी गर्नु पर्ला ?
हुनत नेपालको भविष्य जहिले पनि राम्रै भनिएको हो । आखिर नेपाल यही हो र यसका सम्भावनाहरू सधैँ थिए तैपनि आशातीत प्रगति गर्न सकिएन कारण सबै नेपालीलाई थाहा छ देश हाक्नेको स्वार्थीपन तथा अकर्मण्यताले गर्दा स्रोत र साधनको प्रचुरता भए पनि जनता पछाडि पारिइएका छन् । अहिले संविधान बनेपछि तथा संघीयतामा गएपछि सबै समस्या समाधान हुन्छ । विकासको खोलो बग्छ जस्ता कुरा गरिएका छन् । अनि राष्ट्र संघीयतामा गए पनि आर्थिक तथा मौद्रिक नीति केन्द्रीय हुने हुनाले खासै भिन्नता नपर्ला । यहाँ संविधान र संघीयताको विरोध गरेको हैन, आर्थिक विकासका लागि जनताले खोजेको स्थायी राजनीतिक वातावरण अवश्य नै चाहिन्छ तर संविधान र संघीयताले आफं काम गर्ने हैनन् काम गर्ने हामीले हो । नयाँ संविधान र संघीयता पश्चात पनि हाम्रो चेतना र विवेक अहिलेकै रहने हो भने पोखराको मात्र हैन समग्र राष्ट्रकै भविष्य राम्रो देखिंदैन । सबै नेपाली एकजुट भएर लाग्ने, देश हाक्ने नेताको चेतना फिर्ने हो भने, संघीयतामा श्रोत र साधनको वैज्ञानिक वितरण हुन सक्ने हुनाले केही आशा गर्न सकिन्छ । त्यसो भयो भने पोखराका लगानीकर्ता तथा अन्य क्षेत्रका लगानीकर्ताहरूले मिलेर पुँजी, श्रोत, ज्ञान र प्रविधिको आवश्यकताअनुसार आदान प्रदान गरेर अगाडि बढ्न सकिन्छ ।

प्रतिक्रिया