संविधानसभा विघटनबाट जनजाति महासंघ स्तब्ध

काठमाडौं, १५ जेठ । नेपाल आदिवासी जनजाति महासंघले षडयन्त्रमूलक ढंगले संविधानसभा विघटन भएको भन्दै दुःख व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष राजकुमार लेखीले आज विज्ञप्ती जारी गरी संविधानसभा विघटनबाट आफूहरु स्तब्ध भएको उल्लेख गरेका छन् । संविधानसभा विघटनले मुलुकलाई वर्षौपछि धकेलेको महासंघको टिप्पणी छ ।
‘नेपाली जनताले अधिकार र न्याय प्राप्तिका लागि अरु संघर्ष गर्नुपर्ने बेला भएको छ,’ महासंघले भनेको छ, ‘यसका निम्ति संविधानसभाका निर्णायक दलहरु नै जिम्मेवार छन् ।’
संविधानसभा विघटन हुनुमा नैतिक रुपमा सबै सभासदहरु दोषी रहेको भन्दै महासंघले प्रमुख राजनीतिक दलको नेतृत्वहरुले नै सभासदहरुलाई पनि लाचार र रबर स्टयाम्प मात्र बनाएको आरोप लगाएको छ ।
हालसम्मका उपलब्धीलाई संस्थागत गर्ने सुनौलो अवसर गुमेको भन्दै महासंघले जेठ–१४ गते नेपाली जनताका लागि कालो दिन भएको टिप्पणी गरेको छ ।
संविधानसभा विघटनपछि नयाँ निर्वाचनमा जानुको विकल्प नभएको भन्दै महासंघले मुलुकमा कुनै निर्णय गर्दा सर्वपक्षीय सहमति गर्न माग समेत गरेको छ ।

प्रतिक्रिया