बन्द हड्ताल त्यागौँ

नेपाल अहिले आन्दोलनमय बनेको छ । सबै क्षेत्र, धर्म, जात, जनजाति र समूह बन्द, हडताल चक्काजाम साथै नारा–जुलुसमा सक्रिय बनेको देखिन्छ । आफ्नो माग पूरा गराउन वा आवाज सुनाउन गरिएका यस्ता आन्दोलन सम्बन्धित पक्षका लागि ठिकै होलान् । तर, यसले राष्ट्रको सम्पूर्ण आर्थिक, शैक्षिक, सामाजिक, मानव संसाधन र स्वास्थ्यका क्षेत्रमा समेत अकल्पनीय घाटा पुर्‍याइरहेको छ । राष्ट्रव्यापी
बन्द हडतालले मुलुकको आर्थिक अवस्था चौपट बनाउने त छँदैछ विश्वसामु नेपालप्रति नकारात्मक सन्देश सम्प्रेषण पनि गरेको छ । लोकतान्त्रिक पद्धतिमा आन्दोलन गर्न पाइँदैन भन्ने हुँदैन । तर, अर्काको मर्ममाथि प्रहार गर्ने कार्यशैली बन्द गरिनुपर्छ । अहिले संस्कृतिकै रूपमा विकसित हुँदै गएको बन्द हडतालले सर्वसाधारणमा आक्रोश र कटुता पैदा गराएको छ । संघर्षको उच्चतम स्वरूपलाई जतिसुकै बेला, जोसुकैले प्रयोग गर्दा स्वास्थ्य र शैक्षिक क्षेत्र अहिले बढी प्रभावित भएको देखिन्छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आन्दोलनको प्रभाव पर्नु र शैक्षिक संस्थाहरू आन्दोलनकै कारणले बन्द हुनुजस्ता अत्यन्त खेदजनक कार्यले नेपाली समाज संवेदनहीन बन्दै गएको पुष्टि गर्छ । तसर्थ बन्द, हडताल, चक्काजाम र जुलुसको कार्यक्रम गर्दा संवेदनशील संस्थाहरूलाई निर्वाध रूपमा सुचारु हुने वातावरण निर्माण गरिदिनुपर्छ । आफ्ना अधिकार खोज्नेहरूले राष्ट्रको भविष्य अन्धकार बनाउँदै अर्काको अधिकार हनन गर्ने कार्य गर्न हुँदैन । यसतर्फ सम्बन्धित पक्षले ठण्डा दिमागले सोच्न जरुरी छ ।
कठिन अवस्थाहरूमा रहेका बिरामीलाई सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाहरूमा अहिले प्राथमिक उपचारमा प्रयोग हुने औषधि र सामग्रीको अभाव हुन थालेका समाचार बाहिर आइरहेका छन् । कतिपय अस्पताल साधारण औषधि र स्लाइनसमेत नभएपछि बन्द गर्नुपरेको खबरले धेरैलाई मर्माहत बनाएको छ । आन्दोलन घोषणा गर्नेहरूले मानवीय संवेदनाको अत्यन्त गम्भीर पाटो नै बिर्सी दिएपछि यस्तो अवस्था सिर्जना भएको हो । लामो गृहयुद्ध र जातीय विद्रोह व्यहोरिरहेका मुलुकमा पनि शिक्षा र स्वास्थ्य संस्थाहरूलाई सुचारु हुन दिएका छन् । तर, नेपालमा भने शिक्षा र स्वास्थ्य क्षेत्रप्रति आन्दोलनकारीहरू अत्यन्त गैरजिम्मेवार बनेको आभास हुन्छ । एम्बुलेन्स, कूटनीतिक नियोग, रेडक्रस, संयुक्त राष्ट्रसंघ, पत्रकार र मानवअधिकारकर्मीको गाडीसमेत चल्न नदिने आन्दोलनको गति हेर्दा संवेदनहीन जमानतको अमर्यादित गतिविधिजस्तो देखिन्छ । जुनसुकै आन्दोलन स्थापित मूल्य र मान्यताअन्तर्गत सञ्चालन हुनुपर्छ । अन्यथा त्यो आन्दोलन नभई अराजक जमातको वितण्डा सावित हुनेछ । तसर्थ, आन्दोलन गर्ने नाममा बन्द हडतालजस्ता आन्दोलनका अन्तिम अस्त्र प्रयोग नगरौँ । गरे पनि शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रलाई निर्वाध सञ्चालनको वातावरण निर्माण गरौँ ।
बन्द हडतालका कारण सम्पूर्ण शैक्षिक संस्थाहरूको पठनपाठन अवरुद्ध भएको छ । यसले लाखौँ विद्यार्थीको भविष्य अन्धकार बनाउने सम्भावना बढाएको छ । यो राष्ट्रका लागि दूरगामी प्रभाव पार्ने, अपूरणीय क्षति पुर्‍याउने र बेरोजगार जमात तयार गर्नेतर्फको अघोषित लक्ष हो, जसले नेपालको भविष्य अन्धकार बन्दै छ भन्ने सन्देश फैलाउँछ । विभिन्नखाले बन्द हडतालकै कारण पठनपाठनमा बाधा पुग्दा हजारौँ विद्यार्थी विदेश पलायन हुँदैछन् । शिक्षित जनशक्ति र ठूलो धनराशि बिदेसिन बाध्य हुँदा नेपालको मानव संसाधनको गतिलो क्षेत्र गतिहीन बन्न पुग्दैछ । हामी आफ्ना विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका छौँ, जसले घाटाबाहेक कसैलाई नाफा हुँदैन । तसर्थ, आन्दोलनको कार्यक्रम घोषणा गर्दा बडो मर्मज्ञ भएर सोचौँ र शिक्षा, स्वास्थ्य, सञ्चार, कुटनीतिजस्ता क्षेत्रलाई प्रभाव पार्ने काम नगरौँ । भरसक आफ्ना आन्दोलनहरूमा मुलुकलाई नै अकल्पनीय घाटा पुर्‍याउने बन्द र हडतालजस्ता कार्यक्रमहरू समावेश नगरौँ, जसले मुलुकलाई नै दूरगामी रूपमा नकारात्मक प्रभाव पार्छ त्यस्ता कार्यक्रम किन गर्ने ? सोचौँ र आजैदेखि बन्द हडताल नगर्ने प्रण गरौँ ।

प्रतिक्रिया