आज प्रतीक्षित १४ जेठ

नेपाली जनताले अत्यन्त व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको १४ जेठ आइपुगेको छ । आजै नेपाली राजनीतिको अति पेचिलो र जटिल कालखण्ड पनि समाप्त हुने ठानिएको छ । संविधानसभाको कार्यकाल आजै सकिने भएपछि राष्ट्र र जनताले मध्यरातसम्म भए पनि संविधानसभाले गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान घोषणा गर्ने विश्वास लिएका छन् । संविधानसभाको कार्यकाल समाप्त हुनुअगावै संविधान घोषणा गर्नैपर्ने बाध्यताका सामु शीर्ष नेतृत्वले आफ्ना सबैखाले अडानमा लचकता ल्याएर भए पनि आज संविधान घोषणा गर्नैपर्छ । सर्वोच्च अदालतको अन्तरिम आदेश, जनताको भावना र संविधानसभाको आजै सकिने कार्यकालका कारणले पनि संविधान जारी गर्नैपर्ने बाध्यकारी अवस्थामा शीर्ष नेतृत्व रहेको छ । यसर्थ, आज मध्यरातसम्ममा नेपाली जनताले गणतन्त्रात्मक नेपालको पहिलो लोकतान्त्रिक संविधान प्राप्त गर्नेछन् भन्ने विश्वास गर्न सकिन्छ ।
वर्तमान संकटपूर्ण राजनीतिक अवस्थालाई सहज अवतरण गराउने एकमात्र विकल्प आज संविधान घोषणा गर्नु नै हो । जस्तो रूपमा भए पनि संविधान घोषणा गरिएमा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकाको निर्णय शिरोधार्य गरेको ठहर्छ भने यही संविधानसभालाई संसद्मा रूपान्तरण हुने बाटो पनि खुल्छ, जसले गर्दा जारी गरिएको संविधानलाई व्यवस्थापिका संसद्ले पूर्णता प्रदान गर्दै परिमार्जन गर्न सक्छ । यस्तो सहज र उपयुक्त बाटो छाडेर दलका नेताहरू अन्यत्र भाँडिने शंका अहिलेलाई भने गर्न सकिँदैन । किनभने, नेपाली जनताको भाग्य विधाता बनेर संविधानसभामा रहेपछि आजको ऐतिहासिक काम शीर्ष नेतृत्वले सम्पन्न गर्नैपर्छ । यो जनताको विश्वास हो, राष्ट्रको आवश्यकता हो । नेपालको भविष्य सुनिश्चित गर्ने गरी आज घोषणा हुने संविधानको स्वागत गर्न राष्ट्राध्यक्षदेखि सर्वसाधारण जनता पनि प्रतीक्षारत छन् । यो इतिहास निर्माण गर्ने समय हो । यसको महत्त्व र गरिमालाई आत्मसात् गर्दै शीर्ष नेतृत्वले विवेकपूर्ण तरिकाले कार्य सम्पादन गर्नैपर्छ । दूरगामी महत्त्व राख्ने ऐतिहासिक समयलाई मनन गर्दै आज संविधानसभाले गर्ने निर्णयले नै अग्रगामी नेपालको अपेक्षित चित्र प्रस्तुत गर्नेछ । आजै जारी गरिने संविधानले नेपाल र नेपालीको भविष्य निर्धारण गर्दै अगाडिको मार्ग प्रशस्त गर्नेछ । तसर्थ, नेपाल राष्ट्रका लागि आजको दिन ऐतिहासिक महत्त्वको बनाउन संविधानसभाले अथक प्रयास गर्नुपर्नेछ, जुन प्रयासले यथास्थितिवादी, उग्रवामपन्थी र अहंकारी वितण्डावादीलाई रोक्दै नेपाली राजनीतिलाई सहज मार्गमा डोर्‍याउनेछ । यो शीर्ष नेतृत्वका लागि अवसर र चुनौतीको समय हो । गम्भीर भएर निर्णय गरौँ ।
अहिले विभिन्नखाले कुरा बाहिर आइरहेका छन् । एउटा सानो र स्वार्थी समूह संविधान घोषणा नहोस् भन्ने पक्षमा रहेको देखिन्छ । दलहरूका बीचमा पनि आ–आफ्ना अडान र विमतिहरू रहेको यथार्थ हो । संविधान लेखन प्रक्रियामा संघीय राज्यका नामांकन र सीमांकनले निकै पीडा अनुभूत गराइरहेको छ । जातीयता र अखण्ड राज्यको माग गर्ने लहर पनि चलेकै छ । विभिन्नखाले बाधा अड्चन पनि आइलागेका छन् । तथापि ती सबै समस्यालाई थोरबहुत सम्बोधन गर्दै आज संविधान घोषणा गर्नैपर्ने बाध्यता संविधानसभासामु खडा भएको छ । कतिपय व्यक्ति र समूह संविधान घोषणा नभएको अवस्थाको स्थिति कल्पना गर्दै प्राप्त उपलब्धि गुम्नेतर्फ औँल्याइरहेका छन् । राष्ट्राध्यक्षदेखि लिएर सर्वसाधारण जनताको एउटा तप्का आजका दिनमा संविधान आएन भने नेपालले थेग्न नसक्ने उल्कापात हुने कल्पना गरेर डराइरहेका छन् । यो कल्पना साँच्चै कहालीलाग्दो छ । यस्ता कल्पना र सोचहरूलाई असफल पार्दै शीर्ष नेतृत्वले संविधान दिनेमा राष्ट्र विश्वस्त छ, किनकि संविधान जारी नगर्ने गम्भीर र ऐतिहासिक गल्ती सिंगो संविधानसभाले गर्न सक्दैन । मिलेका विषयहरूलाई लिपिबद्ध गरी अन्य कार्य रूपान्तरित संसद्को जिम्मा लगाएर भए पनि अन्तरिम संविधानको भावनाअनुरूप आज गणतन्त्रात्मक नेपालको लोकतान्त्रिक संविधान घोषणा हुनैपर्छ । अहिलेलाई नेपाल र नेपालीको मूल अपेक्षा यही नै हो । यो अपेक्षा आज मध्यरातसम्ममा पूरा हुनैपर्छ । र, नयाँ संविधान जारी भएको खबरसँगै दीपावली गर्न तयार जनताको इच्छा आज पूरा गर्नैपर्छ ।

प्रतिक्रिया