‘लेख्दा–लेख्दै रुन्छु’

तपाईं त ‘होल टाइमर’ लेखक † हिजोआज के लेख्दै हुनुहुन्छ ?
हो, म अहिले ‘होल टाइमर’ लेखक नै हुँ । हिजोआजचाहिँ म सुवर्णशमशेरका बारेमा एउटा पुस्तक लेख्दै छु । उहाँको समग्र जीवन बुझ्न सहयोग गर्नेछ यस पुस्तकले ।
जिन्दगीमा कति लेखिसक्नुभयो, अब बाँकी कति छ ?
जति लेख्नुपर्ने, त्यसको एक छेउ पनि लेखेको छैन । लेख्न बाँकी त कति छ कति ? साहित्य भनेको समुद्र हो । समुद्रबाट जति पानी निकाले पनि खाली हुँदैन । समुद्रबाट जति पानी झिक्यो, त्यो मात्रै आफ्नो हो, बाँकी त समुद्रको नै हो ।
अहिले पुस्तकको बजार बढेको छ, अब तपाईंजस्ता साहित्यकारको सुखको दिन आएको हो ?
सुखको दिन आइहालेको त भन्न सकिँदैन । तर, लेखिरहे पनि अब राम्रो नै हुन्छ । राम्रा पुस्तक राम्रै बिक्री भइरहेका छन् ।
तपाईंको त सुखको दिन आइसक्यो होइन र ?
एउटा लेखकको हैसियतमा सुखी नै छु म । अहिले पूर्णकालीन लेखनमा छु । पुस्तक लेखिरहेको छु, त्यहाँबाट पैसा आइरहेको छ । पत्रपत्रिकाहरूमा लेख्छु, त्यहाँबाट पनि अलि–अलि पैसा आउँछ । एउटा सामान्य अधिकृतको जागिरजति आइरहेको छ, त्यति भए मलाई पुगिहाल्छ ।
तपाईंले जसरी नाम र दाम दुवै कमाउन के गर्नुपर्छ, टिप्स दिनुहोस् न ?
पाठकहरूलाई चित्त बुझ्नेगरी लेख्न सक्नुपर्छ । पाठकहरूको चित्त बुझ्यो भने पुस्तक बिक्री हुन्छ । पुस्तक बिक्री भएपछि नाम र दाम दुवै हुने नै भयो नि । पाठकको रुचिलाई ध्यान दियो भने कृति राम्रो हुन्छ ।
तपाईंले लखेर सबैभन्दा बढी कसलाई फाइदा भएको छ, आमपाठक, नेपाली साहित्य वा तपाईंलाई ?
सबैभन्दा बढी त मलाई नै फाइदा भएको छ । मैले नलेखेको भए कृष्णाधरावासी भनेर कसैले चिन्दैनथे । मैले लेखेपछि यो लेखक हो भन्ने चिनिएँ । चिनिनु पहिलो फाइदा भयो । मेरो पुस्तक किनेर पढिदिनुहुन्छ, त्यसबाट पनि मलाई फाइदै हुन्छ । दोस्रो फाइदा पाठकलाई हुन्छ । तेस्रो नेपाली साहित्यलाई ।
कृष्ण धरावासी ‘लीला लेखन’को अनुयायी कि उत्तराधिकारी ?
लीला लेखन कसैको व्यक्तिगत सम्पत्ति होइन । विचार सिद्धान्त र दर्शनको कोही पनि उत्तराधिकारी हुँदैन । मलाई ‘लीला लेखन’को सिद्धान्त, विचार मन पर्‍यो । मैले त्यहीअनुसार लेखेँ । म यसको अनुयायी नै भएँ नि ।
तपाईंले ‘लीला लेखन’ समृद्ध बनाउनुभएको हो कि तपाईंलाई लीला लेखनले समृद्ध बनाएको हो ?
त्यति ठूलो दर्शनलाई मैले कसरी समृद्ध बनाउन सक्छु र ? लीला लेखनबाट मलाई नै फाइदा भयो नि ।
लेखन र यौन कुन प्रक्रियामा बढी उत्तेजित र आनन्दित लाग्छ तपाईंलाई ?
यौन प्राकृतिक प्रक्रिया हो । यो प्रक्रियामा आउने उत्तेजना र आनन्द भिन्नैखालको हुन्छ । लेखनचाहिँ मानसिक प्रक्रिया हो । यी दुवै प्रक्रियामा हुने उत्तेजना र आनन्द बेग्ला–बेग्लै हुन्छ । यसमा कम र त्यसमा बढी भन्ने हुँदैन ।
लेखनमा तपाईं विवेक बढी प्रयोग गर्नुहुन्छ  कि आवेग ?
मेरो लेखनमा विवेक र आवेग दुवैको प्रयोग उत्तिकै हुन्छ । म लेख्दा–लेख्दै रुन्छु । पाठकले पनि पढेर रोएँ भन्छन् । यो आवेगको कुरा भयो । लेख्नुअघि के विषयमा लेख्ने, कसरी लेख्ने ? त्यसको प्रभाव कस्तो हुन्छ ? आदिका बारेमा सोचेर लेख्नुपर्छ । यस प्रक्रियामा विवेकको प्रयोग हुन्छ ।
हृदयको लेखन र दिमागको लेखन –तपाईंलाई कुन राम्रो लाग्छ ?
लेखनमा हृदय सहभागी भएन भने जीवन नै आउँदैन । जीवनविनाको साहित्य राम्रो हुँदैन । राजनीति, विज्ञान, भूगोल आदिमा दिमागको प्रयोग हुन्छ । म साहित्यकार भएकाले हृदयको पक्षलाई बढी मन पराउँछु । फेरि हृदय मात्रै भयो भने ‘एकालाप’ मात्रै हुन्छ ।
‘कृष्ण धरावासी’ पुस्तकको संख्या बढाउनमा मात्रै आतुर छन् भनेर आलोचना
गर्नेहरू पनि छन् नि, उनीहरूका लागि तपाईंको सन्देश ?
उहाँहरूको कुरामा केही सत्यता पनि होला । मेरो पहिलो पुस्तक ०४८ सालमा छापियो । त्यसयता २० वटा पुस्तक छापिएका छन् मेरा । २० वर्षमा २१ वटा पुस्तक छापिए । सरदर वर्षमा एउटा पुस्तक लेखेछु । २० वर्षमा २१ वटा छापिँदा कम भन्नु भएन, उहाँहरूले भन्नुभएको ठीकै हो । मचाहिँ लेखिरहनेलाई मात्रै लेखक हो भन्छु । रहर लाग्दा र मुड चल्दा मात्रै लेख्ने पनि लेखकचाहिँ हो । तर, साँच्चै लेखक हुनलाई त्यति मात्रै लेखेर हुँदैन । निरन्तर लेखिरहनुपर्छ । त्यसो भएकाले मचाहिँ लेखिरहन्छु, लेखिरहेपछि पुस्तक बनिरहन्छ । अब जम्मै पुस्तक एउटैस्तरको हँदैन । महाकवि देवकोटाका त्यति धेरै पुस्तक थिए । तर, पाठकले आज सबै पुस्तक सम्झिँदैनन् । लेखकको काम लेखिरहने हो, लेखिरहँदा बनेका पुस्तक छापिरहनुपर्छ भन्ने मलाई लाग्छ ।
दु:ख बढी कसको–कृष्णप्रसाद भट्टराईको कि साहित्यकार कृष्ण धरावासीको ?
बढी दु:ख कृष्णप्रसाद भट्टराईको छ । गृहस्थी, गरिबी अनेकनका समस्या कृष्णप्रसाद भट्टराईका दु:ख हुन् । अब लेखक कृष्ण धरावासीको त दु:ख नै छैन । जति लेख्छु ती सबै छापिन्छन् । मान्छेहरूले पढेर प्रशंसा गर्छन् । पैसा पनि आउँछ । लेखक कृष्ण धरावासीलाई त दु:ख नै छैन नि ।
यतिबेला सबैले आ–आफ्नो तर्क प्रस्तुत गरिरहेका छन्, तपाईंलाई चाहिँ भन्दिम्जस्तो लागेको छैन ?
भन्न लागेको त कति छन् कति ? तर, एकापट्टिबाट बोलेँ भने एकथरीकाले भन्छन्, ‘यो बाहुन बोल्यो ।’ राम्रै बोलेँ भने पनि बाहुनको विचार हो भनिदिएपछि बोलेको केही अर्थ भएन । फेरि, अर्कापट्टिबाट बोलेँ भने, ‘यसले राजनीति गर्नेलाई बोल्यो’ भनेर बाहुनहरूले भनिदिन्छन् । म त ०३५ सालमै धरावासी भएँ । मलाई गाउँ, देशको सीमाले काम दिएन । ऊबेलादेखि पृथ्वीवासी भएँ । अहिले राई, लिम्बू, बाहुन भन्ने कुरामा म मिसिन सक्दिनँ । कुनै जात, थर, गोत्र भूगोल आदिसँग कुनै सरोकार छैन मलाई ।
समाजमा जुन समस्या देखिएको छ, भोलि साहित्यमा पनि आयो भने त समस्या होला है ?
हो, भोलि साहित्यमा पनि आउने खतरा छ । साहित्यमा अनेक पात्र र प्रवृत्तिहरू प्रस्तुत गर्नुपर्ने हुन्छ । ती पात्र कुनैलाई असल बनाएर प्रस्तुत गरिन्छन् त कुनै खराब । मैले कुनै लेखनमा बाहुन पात्रलाई चोर बनाएर प्रस्तुत गरँ भने ‘बाहुनलाई किन चोर बनाएको’ भनेर विरोध हुन सक्छ । ठीक त्यसरी नै जनजातिलाई प्रस्तुत गरे जनजातिद्वारा त्यसैगरी विरोध हुन सक्छ । पात्रको व्यवस्थापन गर्दा सबैलाई असल मात्रै बनाउन सकिँदैन कुनैलाई खराब पनि बनाउनुपर्छ । भोलि पात्रको नाम ‘ए, बी, सी, डी’ राख्ने दिन आउन सक्छ ।
यति धेरै लेखिसक्नुभयो, जिन्दगीमा लेखेर के हुँदोरहेछ ?
के हुन्छ ? यथार्थमा चाहिँ केही पनि हँुदैन । जागिर खाएर पनि केही हँदैन, लेखेर पनि केही हुँदैन । तर, व्यक्तिगत रूपमा भन्ने हो भने नाम, इज्जत भयो । साथीभाइ भए । अझै ठूलो परिभाषा गर्ने हो भने समाज, देश सबैलाई रमाइलै भयो, फाइदा नै भयो ।
प्रस्तुति : राजेश राई

प्रतिक्रिया